पार्टी एकता पछि पनि सम्पूर्ण एकता लाई सांगठनिक आधार मा खिचेर ल्याउन माधव पक्ष असफल रह्यो । त्यतिबेला उसले गर्न
सक्थ्यो, तर त्यहाँ भित्र त्यस्तो प्रकार को संघर्ष पनि देखिएन । माधव नेपाल हरुले पहल गुमाएको आज होइन । उनीहरुले पार्टी एकता लाई
सांगठनिक आधारमा खिचेर ल्याउन नसक्दा नै पहल गुमाइसकेको थियो । त्यसपछि उक्त समूह दिन प्रतिदिन ओरालो लागेकोमात्र हो ।पहलकदमी गुमाइसकेपछि नेतृत्वमा त्यो खालको राजनीतिक सुझबुझ नै हुँदैन । किनभने सत्तामा बस्नेसँग धेरै राजनीतिक अस्त्र हुन्छ र उसले एकपछि अर्को गर्दै अस्त्र प्रयोग गर्छ । सत्ता बाहिर बस्नेसँग त्यति धेरै राजनीतिक अस्त्र हुँदैन । त्यसैले माधव नेपाल पक्ष एकपछि अर्को फन्दामा पर्दै गयो ।राष्ट्रपति, कार्यपालिका र न्यायपालिका यी तीनवटा संस्थाबीचको सम्बन्ध सत्तामा बस्नेलाई बाहेक अरुलाई थाहा हुँदैन । त्यसैले यी तीन संस्थाको समन्वयमा जुनजुन घटना भइरहेका छन्, यसले दिनप्रतिदिन मुलुकलाई दक्षिणपन्थी दिशातिर धकेल्दैछ । जसले गर्दा ओली इतर पक्षको राजनीतिक मैदान साँघुरो हुँदैछ ।
ओलीले प्रयोग गर्न खोजेको त्यो जस्केलो थुन्नु गम्भीर गल्ती
गत वर्ष वैशाख ८ गते प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए । उनले दल विभाजन प्रक्रियालाई कानुनी रुपमा सहज तुल्याउने गरी अध्यादेश ल्याएका थिए ।त्यो अध्यादेश ल्याउनु भनेको ओली आफै डराएर ‘ग्रेटफुल एक्जिट’ खोज्नु थियो । उनी जस्केलाको बाटो खोज्दै थिए । ओलीलाई त्यो बाटो जान दिइएको भए राजनीतिक घटनाक्रम यो तहसम्म बिग्रिन्नथ्यो । सायद नेकपा जीवित रहन पनि सक्थ्यो ।
सनकी शासकहरुलाई संस्थाबाटै ‘गुड गेस्टर’ देखाएर उसलाई सहज निकासको ठाउँ बनाइदिनुपर्छ । अमेरिकामै त्यस्तो देखिएको छ । ट्रम्पजस्तो मान्छेलाई उनीहरुले चुनावमार्फत त्यहाँको संस्थाले ध्वंस नगरीकन बिदा गरिदियो । संसद भवनमै आक्रमण भनेको त अमेरिकी लोकतान्त्रिक इतिहासकै अनुहारमा कालो पोतिएको दिन थियो । त्यस्तो हुँदा पनि उनीहरुले त्यस्तो शासकलाई सहज निकास दिए ।
कुनै पनि सनकी शासक जसले संस्थागत निकाय मान्दैन, जो आफ्नो लहडबाट चल्छ, त्यसलाई सहज निकास दिन सक्नुपर्छ । त्यसमा पनि माधव नेपाल पक्ष चुकेको देखिन्छ ।