कुश्मा : कोरोना संक्रमण नियन्त्रण का लागि जिल्ला प्रशासन कार्यालय पर्वत ले लागू गरेको निषेधाज्ञा थप एक हप्ता लम्बिएको छ।जिल्लाको कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार जेठ १५ गते सम्म निषेधाज्ञा थपिएको
जिल्ला अधिकारी देबी पाण्डे खत्रीले जानकारी दिइन् । राष्ट्रिय गौरवका आयोजना र सार्वजनिक विकास निर्माणका आयोजनाहरुको काम भने निषेधाज्ञामा नरोकिने भएको छ । अत्यावश्यक सेवा २४ सै घण्टा खुल्ला हुने भएपनि बजार पसल दिनको २ घण्टा मात्रै खुल्ला हुने भएको छ । बिहान ७ देखि ९ बजेसम्म पसलहरु खोल्न पाईने भएको छ । अत्यावश्यक सेवाका सरकारी कार्यालय बाहेक सबै बन्द गरिने भएको छ । बैँक तथा वित्तिय संस्था समेत निषेधाज्ञामा बन्द गरिएको छ । सर्वसाधारणलाई घरबाहिर नडुल्न, स्वास्थ्यका मापदण्ड पालना गर्न, भौतिक दुरी कायम गर्न प्रशासनले अनुरोध गरेको छ । पर्वतमा दिनदिनै कोरानो संक्रमण बढ्दो क्रममा छ ।
विद्यालय, सिनेमा, सार्वजनिक समारोह, विवाह, व्रतबन्ध, चौरासी पूजा सबै रोकिएको छ । मठमन्दिर, गुम्वा, मस्जिदमा हुने प्रार्थना, पूजापाठहरु निषेधाज्ञा अवधिमा बन्द रहेका छन् । जिल्लामा मध्यपहाडी लोकमार्ग, कालीगण्डकी लोकमार्ग र मोदी लेखनाथ विद्युत प्रसारण आयोनजाको निर्माण कार्य भइरहेको छ । यी मध्ये दुई वटा गौरबका आयोजनाका सडकहरुको निर्माण कार्य तीव्र गतिमा छ ।
मुख्य गरी मध्यपहाडी लोकमार्गमा निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ । उता, कालीगण्डकी लोकमार्गमा पनि निर्माणको काम भइरहेको छ । यी सवै आयोजनाहरुमा काम नरोकिने भएको प्रजिअ खत्रीले बताइन् ।
यसैगरी जिल्लामा विभिन्न सडकहरुमा पूर्वाधार विकास कार्यालयले पनि सडक निर्माणको काम भने स्थानीय तह र अन्य कार्यालयहरु मार्फत पनि पूर्वाधार विकासको काम भइरहेको छ । सबै आयोजनाहरुमा पूर्वाधार निर्माणको कामलाई गति दिने गरी समन्वय गरिने प्रशासन कार्यालयले उल्लेख गरेको छ ।