• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

एमाले जोडिएको नाम अस्वीकृत : माधव नेपालको पार्टीको नाम फेरियो, एमाले हट्यो


माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि दिएको नाम फेरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम
‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ।राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन्।यसअघि नेपालले प्रस्ताव गरेको नेकपा एमाले(समाजवादी)

नाम मूल पार्टीसँग जुधेको भन्दै निर्वाचन आयोगले अस्वीकार गर्न सक्ने सम्भावना रहेको आयोग स्रोतले बताएको थियो । एमाले जोडिएको नाम अस्वीकृत हुने सम्भावना देखेपछि नयाँ नाम प्रस्ताव गरिएको हो ।त्यस्तै, ९५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएकोमा सोको संख्या बढाएर ११५ पुर्‍याइएको छ । चुनाव चिन्हको बारेमा भने अझै निर्णय भइसकेको छैन । नयाँ पार्टीका लागि ‘खुला किताब’ चुनाव चिन्ह प्रस्ताव गरिएको थियो । तर, त्यो अर्को पार्टीसँग मिलेपछि त्यसमा विवाद सिर्जना भएको थियो ।

महन्थ ठाकुरले पनि आयोगले दिएको निवेदनमा जसपा नाम प्रयोग गर्दै ‘जसपा लोकतान्त्रिक’ नाम दाबी गरेको छ । आयोग स्रोतका अनुसार उसले पनि माधव समूहले जस्तै नाम सच्याउनुपर्ने हुनसक्छ । निर्वाचन आयोगमा दर्ता भइसकेको कुनै पार्टीको नामसँग अगाडि वा पछाडि अरु केही जोडेर अर्को पार्टी बनाउन नमिल्ने भन्दै निर्वाचन आयोगले प्रस्ट पारेपछि महन्थ पक्षले पार्टीको नयाँ नाम जुराउन छलफल थालेको छ ।

निर्वाचन आयोग भन्छ – अब सनाखत शुरु हुन्छ
राजेन्द्र पाण्डेसहितको टोली राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ को उपनियम ५ अनुसार निवदेन दर्ता गरेको जानकारी दिँदै आयोग स्रोतले रातोपाटीसँग भन्यो, ‘वहाँहरुले नियमअनुसार निवेदन दिनुभएको छ । अब चाँडै केन्द्रीय सदस्यहरुको सनाखतको प्रक्रिया अघि बढ्छ ।’

दल दर्ताका लागि निवेदनमा उल्लेखित केन्द्रीय सदस्यहरुको सनाखत लगायतको प्रक्रिया पूरा गरेपछि आयोगले नयाँ दललाई वैधानिकता दिने कानूनी प्रावधान रहेको छ । यसका लागि आयोगले ३५ दिन लिन सक्ने भए पनि चाँडै टुंगो लगाइने आयोगका एक पदाधिकारीले बताए । यसैबीच, बिहीबारको एक कार्यक्रममा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव समुहको सनाखतपछि मात्र मन्त्रिमण्डल विस्तार गरिने बताएका थिए ।

महन्थ ठाकुरको पार्टीको नाम फेरियो, लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय
महन्थ ठाकुर पक्षले पनि पार्टीको नाम परिर्वतन गरेको छ । पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको नेता केशव झाले जानकारी दिए ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर पार्टी फुटाउन सक्ने अध्यादेश ल्याएपछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताए । अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको छ ।

साथै कार्यकारिणी समितिमा ७ जना महिला थपेर ३१ सदस्यीय बनाइएको नेता झाले जनकारी दिए । साथै शरतसिंह भण्डारीलाई पनि वरिष्ठ नेतामा राखिएको छ । यसअघि अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो वरिष्ठ नेता थिए ।

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार