• २०८१ भाद्र २३ गते आइतवार
  • Preeti To Unicode

बालुवाटारमा ओली समूहको बैठक, नेपाल-खनाल समूहमाथि कारवाहीको तयारी


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली समूह को नेकपा एमाले को केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्दै छ।शनिवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा साढे १० बजेका लागि संसदीय दलको बैठक बस्न लागेको हो भने १२ बजे बालुवाटार मै केन्द्रीय कमिटीको

बैठक बस्ने तय भएको छ। दुबै बैठक बालुवाटारमै बस्ने एमालेका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। बिहीवार बसेको संसदीय दलको बैठकले शनिवारका लागि बैठक बोलाएको थियो। एमालेको संसदीय दलको विधान संसोधनका लागि कार्यदल गठन गरिएकोमा आज कार्यदलले विधानको मस्यौदा बैठकमा प्रस्तुत गर्ने एजेण्डा रहेको भट्टराईले जानकारी दिए।’कार्यदलले विधान संशोधनको ड्राफ्ट प्रस्तुत गर्ने छ। सर्वोसम्मत भएपछि पास हुन्छ। हामी त्यसलाई केन्द्रीय कमिटीबाट पनि अनुमोदन गर्छौ, ‘ उनले भने। केन्द्रीय कमिटीको बैठक भने १२ बजेका लागि बोलाइएको छ।

माधव समूहको शर्त – बालुवाटार बाहिर बैठक
एमालेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहको शुक्रवारको स्थायी कमिटी बैठकले बालुवाटारमा बस्ने बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो। बालुवाटार बाहिर बैठक बोलाइए सोच्न सकिने उक्त समूहको धारणा छ। बिहीवारको संसदीय दलको बैठमा सहभागि हुने नहुनेमा नेपाल-खनाल समूहमा अलमल देखिएको थियो। अलमल भएपछि केही सांदहरु बाटोबाटै फर्किएका थिए भने केही बालुवाटारको बैठकमा सहभागी भएर फर्किएका थिए। बिहीवारको बैठकमा आफू राष्ट्रिय भेलामा व्यस्त भएकाले सहभागी हुन नसक्ने नेपाल समूहले बताएको थियो। तर, संसदीय दलका प्रमुख सचेतक भट्टराईले बालुवाटार बाहिर बैठकको माग गरेर बाहाना गरेको उनले बताए। ‘ठाउँ त के भयो र। उहाँहरुको बाहाना मात्रै हो। बैठकमा के गरिन्छ भन्ने महत्वपूर्ण कुरा हो,’ उनले भने।

कारवाहीको चर्चा!
बालुवाटारको बिहीवारको दलको बैठकले संसदीय बैठक बहिस्कार गरेका नेपाल-खनालसहितको २४ सदस्यीय बोर्ड गठन गरेको थियो। बोर्डमा आफ्ना समूहका नेता राखिनुको कुनै अर्थ नभएको उक्त समूहका नेता तथा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। ओली समूहमा नेपाल समूहलाई कारवाही गरेर अगाडी बढ्नुपर्ने आवाज उठिरहेको छ। बिहीवारको बैठकले कारवाहीको निर्णय नगरेको भए पनि त्यसका लागि आवश्यक पर्ने विधानको आधार तय गर्ने निर्णय गरेकाले अब कारवाही प्रक्रिया अघि बढाउन उक्त समूहको तयारी छ। ‘सधैं बैठक उनीहरुलाई पर्खेर मात्रै अगाडी बढ्दैन। एउटा निर्णय गर्छ। कमिटीहरुमा मान्छे थपिँदै जान्छन्। उहाँहरु छुट्दै जानुहुन्छ,’ भट्टराईले भने।

‘कारवाही भोग्न तयार छौं’
चैत ४ र ५ गते ललितपुरको सानेपामा राष्ट्रिय कार्यकर्ता भेला गरेर देशभर ओलीविरुद्ध लाग्न निर्देशन दिएको नेपाल खनाल समूहले कारवाहीका लागि चुनौती दिएको छ। सो समूहका नेता योगश भट्टराईले आफू कारवाहीका लागि तयार भएको बताए। ‘उहाँले के गर्न सक्नुहुन्छ भनेर थाहा पाएरै हामीले भेला गरेका हौ। कारवाहीका धम्कीहरु आइरहेका छन्। उहाले कारवाही गर्न सक्नुहुन्छ,’ भेला पछिको अन्तक्रियामा भट्टराईले भनेका थिए। प्रधानमन्त्री ओलीविरुद्ध १७ बुँदे राजनीतिक प्रस्ताव पारित गरेर नेपाल-खनाल समूहले समानान्तर कमिटी बनाएर अघि बढ्ने तयारी गरेको छ।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार