• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहका १२ जना पक्राउ


नेपालमा बसेर अमेरिकामा जुवा खेलाउने गिरोहलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले समातेको छ । नेपालबाट मोबाइल एप्लिकेशन चलाएर अमेरिकामा जुवा
खेलाएको अभियोगमा १२ जनालाई पक्राउ गरिएको महाशाखाका प्रमुख वसन्तबहादुर कुँवरले अनलाइनखबरलाई बताए ।उनका अनुसार पक्राउ पर्नेमा नेपालका मुख्य नाइके सुजेन्द्र थापा,

प्रदीपमान सिंह बस्नेत, बुद्ध महर्जनसहित मनिष थापा, समिर थापा, कविता थापा, रविन खड्का, रोजा महर्जन, शाहिल महर्जन, हनिशा महर्जन, विनोद ठगुन्ना र रमादेवी श्रेष्ठ छन् ।
‘उनीहरुले कम्तिमा १० डलर वा त्योभन्दा बढी राखेर खेल्नुपर्ने गरी मोबाइल एप्लिकेशन चलाइरहेका रहेछन्’ कुँवरले भने, ‘यो सबै बनाउने एक जना व्यक्ति पनि अमेरिकामै रहेको बुझिएको छ, अहिले समातिएकाले नेपालमार्फत जुवा खेलाउने काम गरिरहेका थिए ।’उनीहरुले जुवा खेलाएवापत कमिसन पाउने गरेको कुँवर बताउँछन् । तीन मुख्य व्यक्तिबाहेक अन्य कामदारका रुपमा प्रयोग भएका थिए भने अन्यले कामदारका रुपमा जुवा खेल्न लिंक शेयर गर्ने गरेको पाइएको कुँवर बताउँछन् ।घटनाबारे थप अनुसन्धान जारी छ ।

चक्रपथको ग्वार्कोमा फ्लाइओभर राख्न १७ करोडमा ठेक्का

ललितपुरको ग्वार्कोमा फ्लाइओभर बनाउने जिम्मा आशिष समानान्तर रेलिगेयर जेभीले पाएको छ । सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले आह्वान गरेको ठेक्कामा सहभागी ९मध्ये ८ वटाले आर्थिक प्रतिस्पर्धा गर्दा आशिष समानान्तर रेलिगेयर जेभीले करिब १७ करोड रुपेयाँमा ठेक्का पाएको हो ।

छनोट भएको कम्पनीमाथि अब अन्यले दावी विरोध पेश गर्न सक्नेछन् । दावी विरोध नभएमा कम्पनीसँग खरिद सम्झौता हुने केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए ।केन्द्रले फ्लाइओभर बनाउन गत असारको अन्तिम सातामा ठेक्का आहृवान गरेको थियो । आशिष समानान्तर रेलिगेयर जेभीले अनुमानित लागतभन्दा करिब ३८ प्रतिशत कम मूल्यमा ठेक्का हात पारेको हो ।कम्पनीले इन्जिनियरिङ प्रोक्युरेमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलमा यो परियोजना तयार गर्नेछ ।अर्थात् ठेकदारले नै ड्रोइङ र डिजाइनिङको काम गर्नेछ । यो फ्लाइओभर बनाउन अर्थ मन्त्रालयले ३३ करोडको स्रोत सुनिश्चित गरेको थियो ।

चक्रपथको चार वटा लेनमा ३५ मिटरको फ्लाइओभर बनाउन लागिएको हो । बालकुमारीतर्फबाट २८० र सातदोबाटोतर्फबाट १७५ मिटरको र्‍याम्प बनाउनुपर्नेछ ।ठेक्का सम्झौता भएको २ वर्षभित्र फ्लाइओभर बनाइसक्ने लक्ष्य छ । चक्रपथका चार लेनमा समानान्तर भएर बन्ने फ्लाइओभरले ग्वार्को चोकमा हुने जाम घटाउने विश्वास विभागको छ । फ्लाइओभर निर्माण भएपछि इमाडोल-पाटन गुड्ने सवारीसवारीसाधन फ्लाइओभरकै मुनि हालकै चक्रपथबाट वारपार गर्नेछन् ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहिवार