• २०८१ पुष ७ गते आइतवार
  • Preeti To Unicode

एक भारतीय नागरिक जसले मणिपाल अस्पतालका डाक्टर लाई यसरि ठगे ३० लाख …


पोखरास्थित मणिपाल शिक्षण अस्पताल किन्ने बहाना बनाएर भारतिय मुलका मलेसियन नागरिक शिवम् भिरुमथुले नेपाली चिकित्सकलाई ठगेका छन्।काठमाडौंस्थित एक
अस्पतालमा कार्यरत डाक्टरलाई भिरुमथुले ३० लाख ठगेका हुन्। पशुपतिनाथका पुजारी मार्फत डाक्टर र भिरुमथुबीच चिनजान भएको थियो । ठीक त्यहीबेला मणिपाल समूहले अस्पताल

बेच्न लागेको चर्चा थियो । १० वर्षअघिदेखि नेपाल र मलेसिया ओहोर–दोहोर गर्ने भिरुमथु अहिले ढुक्कसँग नेपालमै बस्न थालेका छन् ।मणिपालमा डाक्टरले ४० प्रतिशत र ६० प्रतिशत आफूले लगानी गर्ने भनेर भिरुमथुले कुरा अघि बढाए । पोखरा र जनकपुरमा मणिपालको नाममा जग्गा छ । आफूले जग्गाको काम गरिरहेको भनेर चिकित्सकसँग परिचय गरेका भिरुमथुले थाइल्याण्डको कम्पनी मिलिनियम क्यापिटल मेनेजमेन्ट मार्फत मणिपाल खरिद गर्ने कुरा सुनाए ।अस्पताल खरिद गर्नका लागी भनेर डाक्टरलाई नेपालको आधिकारीक प्रतिनिधिमा नियुक्त गरेका पत्रसमेत दिए । तर, सो पत्र नक्कली पुष्टि भएको प्रहरीले जनाएको छ । अनि, भिरुमथुले डाक्टरलाई भने–‘मणिपाल समूहलाई तत्काल ८० लाख दिनुपर्ने भयो, तपाई ३० लाख निकाल्नुस् ।’डाक्टरले ३० लाख नगद दिए । विश्वास जित्न भिरुमथुले डाक्टरलाई सुदर्शन रिसालको ५० लाखको चेक दिए । ३० लाख लिएपछि भिरुमथुले ती डाक्टरको फोन उठाउन छाडे । अनि, चिकित्सकले पशुपतीका पुजारीलाई गएर भने, ‘गुरु, भिरुमथुबारे मलाई शंका लागेको छ, पैसा लगेर ५० लाखको चेक दिएको छ तर, फोन उठाउन छाडेको छ ।’ पुजारीले चेक हेरेपछि भने, ‘सुदर्शन रिसाल त यहाँ पानी हाल्ने मान्छे हो !’

त्यसपछि डाक्टर र पुजारी दुवै छक्क परे । महानगरीय अपराध महाशाखाले कार्तिक २३ मा भिरुमथुलाई पक्राउ गरेको छ । पशुपतिमा पानी चढाउने सुदर्शनबाट पनि भिरुमथुले ४ लाख ठगेको अनुसन्धानबाट थाहा भएको महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए ।रिसाललाई एनएमबी बैंकको शेयर दिन्छु भनेर उनले चेकबुक लिएको र सो चेकमा रकम भरेर डाक्टरलाई दिएको अनुसन्धानबाट थाहा भएको छ । रिसाललाई सपना देखाएर उनले चेकबुक लिएर राखेका रहेछन् ।मैनाली थरका एकजना निर्माण व्यवसायीलाई पनि रिसालको ३५ लाखको चेक काटेर दिएको अनुसन्धानबाट थाहा भएको छ । मैनालीसँग ‘सपनाको व्यापार’ देखाएर उनले २ करोड लिएका छन् । तर, मैनालीलाई आफु ठगीएको महसुस हुन दिएका थिएनन् । एनएमबी बैंकमा योङ्ग लियान कम्पनीको ५० लाख कित्ता सेयर छ । भिरुमथुले सो कम्पनी आफ्नो भएको दाबी गरेका थिए ।मणिपाल अस्पताल २०७८ भदौमा किनबेच भैसकेको छ । सो अस्पतालमा किन्ने चक्करमा लागेका चिकित्सक अहिले भिरुमथुसँग ठगी मुद्दा लडिरहेका छन् ।काठमाडौंमा नाम चलेको अस्पतालमा कार्यरत ति डाक्टरको नाम गोप्य राखिएको छ।

ठग्ने अस्त्र– भीआईपीसँगको म्यासेज
काठमाडौंमा पछिल्लो सयम देखापरेका ठगहरुमध्ये भिरुमथु ‘नटवरलाल’ हुन् । ‘आईसीआरसीको नेपालको निर्देशक हुँ’ भनेर प्रधानमन्त्री र गृह–सचिवलाई म्यासेज गर्थे । कोभिड–१९ संक्रमण शुरु भएसँगै सरकारले गरेको लकडाउनका बेलामा भिरुमथुले प्रमुख जिल्ला अधिकारीहरुलाई आईसिआरसीको ‘विपद् व्यवस्थापन निर्देशक’को परिचय दिएर फाइदा लिए । सो आवरणमा उनि प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरूलाई म्यासेज गर्थे । भिआइपी मध्ये केहीले परिचय हेरेर म्यासेज फिर्ता पनि गरेका थिए । सो म्यासेज उनि अरुलाई देखाउँथे र आफु ‘पहुँचवाल’ भएको भ्रम छर्थे । भिआईपीले फिर्ता गरेको म्यासेज उनका लागि ठगेर खाने ‘भाँडो’ बनेको थियो ।

थाइल्याण्डको कम्पनी मिलिनियम क्यापिटल म्यानेजमेन्टमा आफ्नो नाममा करोडौं ब्यालेन्स भएको सर्टिफिकेट देखाउँथे । मलेसियन कम्पनी योङ्ग लियान ग्रुप अफ कम्पनीजको सिईओ र डाइरेक्टरको भिजिटिङ कार्ड दिने भिरुमथुले आफुलाई मलेशियाको पिपुल जस्टिस पार्टीको ‘अध्यक्ष हुँ’ भन्ने गरेका थिए ।भारतिय बैंक एक्सिस र आईसिआसीआईले उनको नामका काटेको चेक देखाएर पनि उनले ‘पैसावाल’हरुलाई आफ्नो प्रभावमा पार्ने गरेका थिए । बैंकले दिएको चेक र ‘ब्यालेन्स सर्टिफिकेट’ बारे अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ । ठुला ठेकेदार र पशुपतिका भट्टलाई सम्पर्क गरेर उनले ती चेक देखाउँथे । पशुपतिनाथका पुजारीसँग पनि उनले ‘सपनाको प्रोजेक्ट’ देखाएर ८ लाख ठगेको अनुसन्धानबाट थाहा भएको छ ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा उनले श्रीमती र ससुराको नाममा कम्पनी दर्ता गरेका छन् । नेशनल उड इन्डष्ट्रिज, सिएस काष्ठ उद्योग, गोक्यो होटल र सेतीदेवी बिजनेश एण्ड सप्लायर्स नामका कम्पनी कागजमा मात्रै देखिएका छन् । ती कागजी कम्पनीलाई पनि उनले ठगेर खाने ‘भाँडो’का रुपमा प्रयोग गरेका भिरुमथुबारे अनुसन्धान गरिरहेका इन्सपेक्टर बिदुर शिवाकोटीले रातोपाटीलाई बताए । नेपालमा ठगेको पैसा उनले भारतको तमिलनाडुमा बस्ने परिवारलाई पठाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

शानदार जीवनशैली, ११ वटा उजुरी
बालुवाटारस्थित कलाकार निशा अधिकारीको घर भाडामा लिएर बसेका भिरुमथुको जीवनशैली शानदार थियो । मागेर भए पनि विलासी गाडी चढ्थे, पाँचतारे होटलमा खानपिन गर्थे ।मलेसियामा नेपालीसँग चिनजान भएपछि उनी नेपाल आउजाउ गर्न थालेका थिए । १० वर्षअघि उनी नेपालबाट मलेसियामा महिला कामदार पठाउँथे । मलेसियामा जाँदा ती महिला कामदारलाई आर्थिक र शारीरिक शोषण गर्ने गरेको पीडितहरूको आरोप छ । कमला अधिकारीसँग पहिलो विवाह गरेका भिरुमथुले नेपालमा आस्मा केसीसँग दोस्रो विवाह गरेका छन् ।

भिरुमथुले त्रिविका पूर्व प्राध्यापकलाई पनि ठगेको थाहा भएको छ । उनीविरुद्ध ११ वटा उजुरी दर्ता भएको अपराध महाशाखाका एसएसपी चन्द्रकुबेर खापुङले रातोपाटीलाई बताए । २०७२ मा वैदेशिक रोजगार मुद्दामा उनी २ वर्ष डिल्लीबजार कारागारमा बसेर छुटेका थिए । अदालतले उनलाई ३ लाख ५० हजार जरिवाना गरेको थियो ।

प्रकाशित मिति : २०७८ मङ्सिर ३ गते शुक्रवार