• २०८० चैत्र २८ गते बुधवार
  • Preeti To Unicode

दोस्रो तहका नेताले किन दिएनन् नेपाललाई साथ ?


काठमाडौं : नेकपा एमाले २४ वर्षपछि फेरि फुटेको छ। २०५४ सालमा एक ठाउँमा उभिएका केपी शर्मा ओली र माधवकुमार नेपाल यसपटक विभाजन भएका छन्।
२०५४ फागुन २१ मा फुटेर गएका नेता वामदेव गौतम भने नयाँ पार्टीमा देखिएका छैनन्।संयोग केछ भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै त्यस बेला सरकारको नेतृत्व गरिरहेका थिए।

तत्कालीन सरकारले भारतसँग गरेको महाकाली सन्धिलाई लिएर एमालेमा तीव्र विवाद भएको थियो। ओली र नेपाल सम्झौताको पक्षमा उभिएका थिए भने गौतमलगायत नेता विपक्षमा। गौतम, सहाना प्रधान, सीपी मैनालीलगायत मिलेर नेकपा माले गठन गरेका थिए। एमाले र मालेबीच ०५८ मा पार्टी एकता भएको थियो। त्यसपछि अनेक उतारचढाव व्यहोर्दै आएको एमालेबाट बुधबार नेपाल पक्ष बाहिरिएको हो। राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरिएलगत्तै बुधबार नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले (समाजवादी) गठन गरेका छन्। उनीहरूले दल दर्ता गर्न बुधबारै निर्वाचन आयोगमा निवेदन दिएका छन्। नयाँ पार्टीका वरिष्ठ नेतामा झलनाथ खनाललाई राखिएको छ। निर्वाचन चिन्ह खुला किताब राखिएको नेता मेटमणि चौधरीले बताए। तर, यो चिन्ह अरूकै परेकाले समस्या भएको जनाइएको छ। पार्टीको झन्डा रातो पृष्ठभूमि रहेको २ह३ आकारको कपडाको माथि बायाँ पार्टी हँसिया हथौडा अंकित हुनेछ। छुटै लोगो गोलाकारभित्र संक्षिप्त पार्टी नाम र किताबमाथि हँसिया हथौडा हुनेछ। नेता राजेन्द्र पाण्डेले दल दर्ताको प्रमाणपत्र प्राप्त भएपछि राष्ट्रिय सम्मेलन गरिने बताए। ‘हामी क्रान्तिकारी कम्युनिष्ट पार्टी बनाउँछौं। एमालेमा अल्मलिएर रहेका साथीहरूलाई पनि चाडोभन्दा चाडो नेकपा एमाले (समाजवादी) मा आउन आग्रह गर्छौं’, नेता पाण्डेले भने।

नयाँ पार्टीको केन्द्रीय समिति ९५ सदस्यीय छ। एमालेमा केन्द्रीय सदस्य रहेका ५८ जना नेपालको पक्षमा देखिएका छन्। केन्द्रीय समितिमा मुकुन्द न्यौपाने, प्रदीप नेपाल, डा. वेदुराम भुसाल, प्रमेशकुमार हमाल, राजेन्द्रप्रसाद पाण्डे, डा. विजयकुमार पौडेल, डा. गंगालाल तुलाधर, प्रकाश ज्वाला, नागेन्द्र चौधरी, जयन्ती राई, तुलबहादुर गुरुङ एमाले केन्द्रीय कमिटीबाट छन्। यस्तै, जगन्नाथ खतिवडा, प्रतापलाल श्रेष्ठ, जीवनराम श्रेष्ठ, धर्मनाथप्रसाद साह, रामप्रित पासवान, रामचन्द्र यादव, यदुवंश झा, रत्नेश्वर गोइत यादव, रवीन्द्र बैठा धोबी, लक्ष्मण पौडेल, मदनकुमारी शाह(गरिमा), देवशंकर पौडेल, विरोध खतिवडा, मेटमणि चौधरी, विश्वनाथ प्याकुरेल, प्रेमलकुमार खनाल, विजय गुरुङ, सावित्रा भुसाल, रामकुमारी झाँक्री, गौरा प्रसार्इं कोइराला, रामकुमार ज्ञवाली, खगेन्द्र चुडाल, सरलाकुमारी यादव, कल्याणीकुमारी खड्का केन्द्रीय सदस्य छन्।

यस्तै समाजवादीमा रहेका शत्रुधन महतो, रामचन्द्र साह, दिनेशकुमार राई, हंशबहादुर शाही, शेरबहादुर केसी, निरादेवी जैरु, प्रेमबहादुर आले, भागवत नेपाली, चूडामणि विक जंगली, घनेन्द्र बस्नेत, राजेन्द्रकुमार राई, बलदेव चौधरी, डा. देउमान सम्बाहाम्फे, भास्कर काफ्ले, कृष्णप्रसाद खनाल, रविन कोइराला, महमद महफुज अन्सारी एमाले केन्द्रीय सदस्य थिए। केशलाल श्रेष्ठ, नरेश खरेल, भानुभक्त जैसी, चन्द्रबहादुर शाही, दिलकुमारी पन्त, बलराम बाँस्कोटा, बसन्तप्रसाद मानन्धर, महेश रेग्मी, श्रीनाथ बराल, शारदाप्रसाद सुवेदी, गोविन्द कोइराला, सुरेश कार्की, पुर्षाेत्तम पौडेल, उर्वादत्त पन्त, दलबहादुर सुनार, गणेश काम्बाङ, प्रभा बज्राचार्य, उषा पोखरेल, रमा आलेमगर, रित रावल, माया भट्ट, पूर्णा जोशी, कृष्णा राई, विद्या चाम्लिङ, शर्मिलादेवी पौडेल क्षेत्री, राजेन्द्रलक्ष्मी गैरे, अनारकली मियाँ, देवी ओली, नन्दा शर्मा चपाई, दुर्गा परियार, कौशिला सिंह, यमुना भुसाल, उदया शर्मा, आशा यादव, गोमा विष्ट, सीता बस्याल, विभा कार्की नयाँ पार्टीको केन्द्रीय कमिटी राखिएको छ।

नेपालले एमाले पुनर्गठन र रूपान्तरण महाअभियानका क्रममा द्रोह गरी नेकपा एमाले (समाजवादी) नामको नयाँ पार्टी गठन गर्दै अघि बढेको बताएका छन्। कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक र राष्ट्रियताको यसमहाअभियानलाई सशक्त र प्रभावकारी रूपमा नयाँ उत्साह र संकल्पका साथ अघि बढाउन आ–आफ्नो ठाउँबाट सहयोग पुर्‍याउन उनले अपिल गरेका छन्। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दल दर्ताको निवेदन आएको जानकारी दिए। आयोग अध्ययन गरेर दर्ताको विषयमा निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५ मा दल दर्तासम्बन्धी व्यवस्था छ। आयोगले निवेदनउपर जाँचबुझ गरी प्रस्तावित दलका प्रमुख पदाधिकारी वा केन्द्रीय समितिका सदस्यसँग छलफल गर्न, थप कुनै विवरण वा आवश्यक कागजात माग गर्न वा निजहरूको हस्ताक्षर तोकिएको ढाँचामा सनाखत गराउन सक्छ। जाँचबुझबाट प्रस्तावित दल संविधान र यस ऐनबमोजिम दर्ता हुन सक्ने देखिए आयोगले निवेदन परेको ४५ दिनभित्र त्यस्तो दल दर्ता गरी दल दर्ता प्रमाणपत्र र दर्ता हुन नसक्ने भए त्यसको कारण खुलाई निवेदकलाई जानकारी दिनुपर्ने व्यवस्था छ।

प्रदीप नेपालको असहमति
नेता प्रदीप नेपालले आफ्नो नाम समाजवादीमा राखेकोमा असहमति जनाएका छन्। ‘कसैले मेरो नाम दुरुपयोग गरेका छन्, त्यसमा मेरो विरोध छ’, नेता नेपालले भने। उनले आफू एमालेको झगडामा कतै नरहेको बताए। व्यक्तिगत स्वतन्त्रता कसैको अधीनमा नराख्ने उनको भनाइ छ। एमाले फुटाउन कतै हस्ताक्षर नगरेको र त्यो पक्षमा पनि नरहेको उनले बताए। उनले यसमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवैको बराबर भूमिका रहेको टिप्पणी गरेका छन्।

दोस्रो तहका नेताले दिएनन् नेपाललाई साथ
एमालेको नवौं महाधिवेशनमा नेपाल पक्षबाट पदाधिकारी निर्वाचित कसैले पनि विभाजनमा साथ दिएका छैनन्। उक्त समूहबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, भीम रावल र
युवराज ज्ञवाली, उपमहासचिवमा घनश्याम भुसाल, सचिवमा गोकर्ण विष्ट, भीम आचार्य र योगेश भट्टराईले जितेका थिए। अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले अन्तिममा आएर नेपालको साथ छाडेका छन्। सुरेन्द्र पाण्डे, रघुजी पन्त पनि नेपालको साथमा देखिएका छैनन्। उपमहासचिव भुसाल त बुधबार अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए।

यस्तै, यज्ञबहादुर सुनुवार, झपट रावल, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, सोमप्रसाद पाण्डेसहित १० प्रतिनिधिसभा सदस्य पनि विभाजनमा देखिएका छैनन्। ठाकुर गैरे, नीरज आचार्य, अरुण नेपाल, सुरेन्द्र मान्नधर, जयबहादुर राईलगायत युवा नेता पनि नयाँ पार्टीमा देखिएका छैनन्। एमाले उपाध्यक्ष वामदेव गौतमले नेपाललाई साथ दिएका छैनन्। स्थायी कमिटीबाट साथ दिनेमा मुकुन्द न्यौपाने मात्रै देखिएका छन्।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार