• २०८१ पुष ११ गते बिहिवार
  • Preeti To Unicode

टुँडिखेलमा सबैको सामु झुन्डिएर मर्ने इच्छा छ : रेशम चौधरी


अन्ततः मैले न्याय पाइनँ । कसरी पाउँछु न्याय ? थारूले न्याय पाएको इतिहास नै कहाँ छ र ? अधिकांश थारूहरूलाई हार प्रमाणीकरणको लालमोहर लगाउने नै न्यायालय हो । करिब ४ लाख पटक भन्दा बढी जमिनी मुद्दाको हार बेहोरेका छन् न्यायालयबाट थारूहरूले । सत्य यही हो, सदियौँदेखि जोतभोग गर्दै आइरहेको जमिनको न्यायिक फैसला नभएकै कारण थारूहरू कमैया बन्न पुगे । मुद्दामामिलाका कारण थारूहरूको जमिन मात्रै गुमेन, चाँदीको सिक्कासमेत स्वाहा भयो । विगतदेखि वर्तमानसम्म न्यायालय र प्रशासनको सिकार भएकै छन् थारूहरू । साँच्चै भन्दा नश्लीय शासकको नोकरवाद लाद्ने गधा बनाइएका छन् थारूहरू ।

मैले जनताबाट न्याय पाएकै हुँ, त्यो पनि घटनास्थल वरिपरिकै मतदाताबाट; एक पटक होइन, तीन–तीन पटक । मैले पाएको न्यायको ठप्पा थारूको मात्रै थिएन, पहाडियाहरूको समेत थियो र छ । कतै हामीले प्राप्त गरेको मतबारे सम्मानित अदालत अन्जान पो छ कि ! होइन भने म त्यही रेशम चौधरी हुँ, जसले २०७४ को निर्वाचनमा विजय प्राप्त गर्दा प्रमाणपत्रका लागि अदालतको ढोका खट्खटाएको थिएँ । तर सम्मानित सर्वोच्च अदालतले मेरो निवेदन दरपीठ गरिदियो । ‘तँ थारू होस्, प्रवासमै बसेर चुनाव जित्ने अधिकार कहाँ छ तँलाई ? ठानेर होला न्यायालयले मेरो निवेदन लिन मनासिब नै ठानेन ।

नश्लवादको चिन्तन बोक्नेहरूले म र मेरो पार्टी नागरिक उन्मुक्तिलाई जातीयवादी राजनीतिक दलको उपमा भिडाउने गर्दछन् । हो, हाम्रो पार्टी जातिवादी नै हो तर नेपाली जातिवादी । असली पहिचानको जातीयवादको मुद्दा बोक्ने पार्टी । धर्म बेच्ने होइन, धर्म बचाउने पार्टी । जातीय सफाया गर्ने होइ, जात संरक्षण गर्ने पार्टी, यही एउटा पार्टी हो, जहाँ सबैलाई सम्मान छ । त्यही पार्टीको नेताले आज न्याय पाएन । मुद्दा हारेर रेशमले रोष प्रकट गरेको भन्ठान्दै हुनुहुन्छ भने त्यो एकदम सत्य हो । हो मैले रोष प्रकट गरेकै हो । मैले रोष प्रकट नगरे कसले गर्ने ? अब मैले न्याय माग्न जाने ठाउँ कहाँ हो ?

टीकापुर घटना राजनीतिक घटना हो । २०७२ भाद्र ७ गते थारूहरूको जुलुस टीकापुर बजारमा ‘थरुहट प्रदेश’ लेख्न गएकै हो । तर टीकापुरमा थरुहट प्रदेश लेख्ने आन्दोलनको आह्वान मेरो निर्देशनमा होइन । जेठानको देहान्त भएकाले भाद्र ४ गतेसम्म त म काठमाडौँमै थिएँ । धनगढीमा हुने सर्वदलीय बैठकमा भाग लिन गइदिनुपर्यो भन्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका नेता भीम रावलको आग्रहमा म धनगढी गएको हुँ । आन्दोलन चलिरहेकाले भाद्र ७ गतेसम्म सुरक्षाकर्मीको सबै बन्दोबस्त मलाई पूर्वगृहमन्त्री भीमबहादुर रावलले नै गरिदिनुभएको हो । भाद्र ६ गते टीकापुर सशस्त्र प्रहरी उग्रतारा गणमा भएको सर्वदलीय बैठकमा सबैलाई मैले भनिदिएकै हुँ– ‘आन्दोलन मेरो नियन्त्रणमा छैन, म यो आन्दोलनको संयोजक पनि होइन ।’

अब मलाई २ अत्यन्तै महत्त्वपूर्ण निर्णय चाहिन्छ– कि न्याय कि मृत्युदण्ड ! साँच्चीकै दोषी भए मृत्युदण्ड स्वीकार गरेर टुँडिखेलमा सबैको सामु झुन्डिएर मर्ने इच्छा छ मेरो । नभए मलाई न्याय दिनैपर्छ । भाद्र ७ गते टीकापुरमा हुने थारू आन्दोलनका बारेमा प्रशासन जानकार थियो । त्यो आन्दोलनलाई रोक्न मैले कति प्रयत्न गरेँ, त्यो तत्कालीन सिडिओ राजकुमार श्रेष्ठलाई थाहा छ । जिल्ला प्रहरी प्रमुख विक्रमबहादुर चन्दलाई थाहा छ, सशस्त्र प्रहरी बलका उपरीक्षक लक्ष्मण सिंहलाई थाहा छ । टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षलाई थाहा छ, स्थानीय सबै राजनीतिक दलका प्रतिनिधिलाई थाहा छ । सर्वदलीय बैठकमै अब रेशमलाई दोष दिनुहुन्न भनेर सबैले स्वीकारेका छन् ।

अनि म दोषी भएँ कसरी ? भाद्र ७ गते बिहान ९ बजेसम्म मैले के प्रयत्न गरिनँ ? थारू आन्दोलनको भीडमा जाऊँ, कमरेड विकासले मारिदिन्छु भन्याछन्, अखण्ड सुदूरपश्चिमको भीडमा गए मेरो कपाल पनि बच्नेवाला थिएन । सुरक्षाकर्मीसँग सल्लाह गर्न खोज्यो, तँ आन्दोलनकर्मी होस् भन्छन् । कतै केही सिप नलागेपछि म रेडियो हेर्न बर्दियातिर लागेको हुँ ।भाद्र ७ गतेको घटनापछि म भारतमा हुँदासमेत सामाजिक सद्भाव खलबलिन नदिन के मात्रै प्रयत्न गरिनँ मैले । म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सम्पर्कमै थिएँ । भारतबाटै केवालाल चौधरीको संयोजकत्वमा एमाले नेता भीमबहादुर रावलसँग वार्ता गर्न पठाइदिएकै हुँ । प्रवासमा मलाई उकास्ने कति थिए कति ? यदि म अर्काको उक्साहटमा मात्रै लागेको भइदिए आज देश जातीय द्वन्द्वमा फसिरहेकै हुन्थ्यो होला ।

एकान्तमा एक्लै गम्छु, टीकापुर घटनाको दोषी करारलाई ब्रह्मा, विष्णु, महेश्वर, जिसस, अल्लाह, बुद्ध कसैले पनि प्रमाणित गर्न सक्दैन होला मलाई । तर सम्मानित सर्वाेच्च अदालतले दोषी करार गरिदियो । साँच्चै भन्दा मैले न्याय पाइनँ । अर्काको भावनामा बगेर मलाई अपराधी ठहर गर्न पाइन्न । श्रीमान्ले मेरो बयान पढिदिनुभएन, मिसिल हेरिदिनुभएन जस्तो लाग्यो । त्यसैले मेरो हकमा न्याय भएन; फैसला मात्रै भयो, पपुलिस्ट फैसला । सुरु अदालत, पुनरावेदन सुन्ने अदालत र अन्तिम अदालत सबै पपुलर मात्रै बन्न खोजे । आज न्यायलाई विश्वले समेत ढोग्छ । ढोग्नै नमिल्ने फैसलाको कपी बोकेर म कुन न्यायालयको ढोका खट्खटाउन जाऊँ ?

टीकापुर घटना नहुनु पथ्र्यो, भयो । आठ प्रहरी र एक बालकले सहादत प्राप्त गरेकै हुन् । तर के ती सहिदहरूको संहार कुनै बन्द कोठा वा गुफामा गरिएको हो ? त्यो घटनाका प्रत्यक्षदर्शी पनि त हज्जारौँ थिए । मिसिलमा उल्लेख गरेजस्तो भाला, बन्चरो कुनै थारू आन्दोलनकर्मीले बोकेका थिएनन् । कसैलाई दोषी करार गर्ने मलाई कुनै हक छैन तर वास्तविक घटना कसले गरायो, त्यो टीकापुरलाई थाहा छ । सहादत प्राप्त गर्नेको परिवारले पनि अन्तिम सत्य थाहा पाउनुपर्छ । मेरो श्रीमान्, दाइ, भाइ, छोराको हत्या के कसरी भयो, कसले कसरी मारे ? किन मारे ? त्यो अन्तिम सत्य थाहा पाउने चेष्टा पनि प्रहरी परिवारले गर्नैपर्छ । उहाँहरूको मनमा एउटा शङ्का उब्जि नै पर्छ– ‘कतै विभीषणको भेषमा आफ्नै भाइहरू हत्याराको झुन्डमा मिसिएका त थिएनन् ?’

प्रवासमा मलाई उकास्ने कति थिए कति ? यदि म अर्काको उक्साहटमा मात्रै लागेको भइदिए आज देश जातीय द्वन्द्वमा फसिरहेकै हुन्थ्यो होला ।
नेपाली दाजुभाइ दिदीबहिनीहरू ! यदि म ती सहादत प्राप्त सहिदको हत्यारा हुँ भने मलाई फाँसी किन नदिने ? भाला घोचीघोची आठ सुरक्षाकर्मी र एक दुधेबालकको हत्यारालाई जन्मकैदको सजायले मात्रै पुग्छ र ? त्यति क्रुर अपराधीलाई यति सहज सजाय साह्रै अपुग हुन्छ । म भन्छु, म हत्यारा हुँ भने मैले मारेको हतियार कहाँ छ ? त्यसैले न्याय मैले पाउनै पर्छ । न्यायको आशा अझै मरेको छैन ।

यो मेरो सानो रोष मात्रै हो, जसलाई नलेखी म बस्नै सकिनँ । कति सत्य चाहेर पनि लेख्न सकिरहेको छैन । इच्छाउँदैमा सबै कुरा लेख्नु पनि हुन्न । तर तीन तीनवटा फैसलाको खोटले साह्रै चोट दिएको छ मलाई, सहनै नसकिने चोट । व्यर्थै चोट सहिरहनुभन्दा एक पटकको मृत्युदण्ड जाति हुन्थ्यो ।

अब मलाई २ अत्यन्तै महत्त्वपूर्ण निर्णय चाहिन्छ– कि न्याय कि मृत्युदण्ड ! साँच्चीकै दोषी भए मृत्युदण्ड स्वीकार गरेर टुँडिखेलमा सबैको सामु झुन्डिएर मर्ने इच्छा छ मेरो । नभए मलाई न्याय दिनैपर्छ । सम्मानित सर्वोच्च अदालतको फैसलाबाटै मेरो छोरा छुट्छ र घर लिएर जाउँला भनेर मलाई लिन आएक मेरी आमा जेलमा मेरो मुख हेर्नसमेत आउन सकेकी छैनन् ।

चोट लागेर रोष प्रकट गरेको जस्तो देखिए पनि सत्य यही हो । न्यायका लागि कुन कुन, कहाँ कहाँसम्मको दैलो चहार्नुपर्छ, त्यो प्रयत्न मैले जरुर गर्छु । अन्त्यमा गीतको एक टुक्काबाट बिट मार्न चाहन्छु–श्रीमान्, न्याय देऊ हामीलाई क्षमा चाहिँदैन दोषीलाई दण्ड देऊ तर निर्दोषलाई थुन्न पाइँदैन ।

डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पठाएको हस्तलिखित विचार जस्ताको तस्तै-

प्रकाशित मिति : २०८० जेष्ठ ४ गते बिहिवार