• २०८० चैत्र २८ गते बुधवार
  • Preeti To Unicode

माधव पक्षको भेला चल्दै गर्दा ओली पक्षका चार सांसद किन पुगे सिंहदरबार ?


एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद तथा नेताहरुको भेला चल्दैगर्दा केपी ओली पक्षका सांसद सिंहदरबारमा पुगेका छन् ।वरिष्ठ नेता नेपालले मंगलबार
बिहान आफूपक्षीय नेता तथा सांसदहरुसँग कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए।नेता नेपाल आफूपक्षीय नेताहरुसँग छलफल गरेर सिंहदरबारबाट बाहिरिए लगत्तै ओली

पक्षका सांसदहरु कृष्ण प्रसाद दाहाल, नवराज सिलवाल, गणेश पहाडी र सूर्य पाठक सिंहदरबार पुगेका थिए ।सांसद पहाडीले आफूहरु मध्यस्थता गर्न आएको प्रतिक्रिया दिए । ‘हामी मध्यस्थता गर्न आएका हौ अरु केही होइन’, पहाडीको प्रतिक्रिया थियो ।उनीहरुले नेपाल पक्षका दिपक प्रकाश भट्ट, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवार पवित्रा निरौला, झपट रावल लगायतसँग छलफल गरिरहेका छन् ।एमालेमा बढेको विवादपछि पार्टी विभाजनतर्फ उन्मुख भएको छ । सरकारले आजै दल विभाजनसम्बन्धी खुकुलो अध्यादेश ल्याइसकेको छ । सोही अध्यादेशका आधारमा नेता माधव कुमार नेपाल समुहले निकट भविष्यमा नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् । एमाले विभाजन हुने निश्चित भएपछि एमालेका केही नेता तथा सांसदहरुले ओली कि माधव पक्षमा लाग्ने भन्ने निर्क्योल गर्न सकेका छैनन् । यस्तो अवस्थामा ओली पक्षका सांसदहरुले माधव पक्षको भेलामै पुगेर ओलीको पक्षमा ल्याउने प्रयास गरेको बुझिएको छ ।

एमालेलाई कमजोर पार्न संसद छलियो– ओली, सभामुखले झुक्याए– नेम्वाङ
नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले झुक्याएको बताएका छन् ।मंगलबार बसेको एमाले स्थायी कमिटीको बैठकमा एमाले नेता नेम्वाङले सभामुख सापकोटासँग भएको एउटा भेटबारे ब्रिफिङ गरे ।‘हामीले सभामुखलाई भेटेर अफगानिस्तानमा रहेका नेपालीको चाँडो उद्धार गर्न सरकारलाई ध्यानाकर्षण गराउन भनेका थियौं’ नेम्वाङले बैठकमा सुनाए, ‘उहाँले भोलि सरकारको प्रतिनिधिलाई संसदमा उपस्थित गराउँछु भन्नुभयो, तर गोजीमा संसद अधिवेशन अन्त्यको सूचना बोकेर बस्नुभएको रहेछ, हामीलाई झुक्याउनुभयो ।’

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बसेको एमाले स्थायी कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट भएको संसद अधिवेशन अन्त्यको विरोध गरेका थिए ।एमालेले संसदमा दह्रो आवाज उठाउन थालेपछि सरकारले संसदलाई छल्नका लागि अधिवेशन अन्त्य गरेको ओलीको विश्लेषण थियो । ‘सडक, संसद र सबैतिरबाट देशी विदेशी शक्तिहरुले एमालेलाई सिध्याउन खोजिरहेका छन्,’ बैठकमा अध्यक्ष ओलीको भनाइ उधृत गर्दै एमालेका एक स्थायी कमिटी सदस्यले रातोपाटीसँग भने, ‘संसदलाई छलेर एमालेलाई कमजोर बनाउन खोजिएको हो, यसको प्रतिवाद गर्नुपर्छ ।’

प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला खत्रीलाई एमालेले गर्‍यो कारवाही (पत्रसहित)
नेकपा एमालेले प्रदेशसभा सदस्यद्वय अजय शाही र विमला खत्री वलीलाई सांसद पद नरहने गरी कारवाही गरेको छ । कारवाहीको विवरणसहितको पत्र मंगलबार प्रदेश सभामुख पूर्णबहादुर घर्तीलाई बुझाइएको हो ।शाही र खत्री हाल प्रदेश सरकारमा सहभागी छन् ।

प्रदेशसभामा एमालेका मुख्य सचेतक भूमिश्वर ढकालका अनुसार शाही २०७४ सालको प्रदेशसभा निर्वाचनमा एमालेकै चुनाव चिह्नबाट विजयी भएको र वलीले पार्टीको विधान, संसदीय दलको विधान र नियमविपरीत गतिविधि गरेको भन्दै दुवैलाई सांसद पद नरहने गरी कारवाही गरिएको विवरणसहित सभामुखलाई पत्र बुझाइएको हो ।अजय शाही २०७४ सालमा सम्पन्न प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासीको क्षेत्र नं १ (ख) बाट सूर्य चिन्ह लिएर निर्वाचित भएका थिए । यस्तै वली एमाले नेता उत्तमकुमार वलीको निधनपछि २०७६ सालमा भएको उपनिर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ (ख) बाट निर्वाचित भएकी थिइन् ।

शाहीले आफू स्वतन्त्र सांसद भएको दाबी गर्दै एमालेको ह्वीप नलाग्ने बताउँदै आएका छन् । वलीले भने आफू उप निर्वाचनबाट तत्कालीन नेकपाका तर्फबाट उम्मेदवार भएकाले एमाले र माओवादी केन्द्रमध्ये कुन दलमा रहने भन्ने निर्णय गर्ने अधिकार आफूसँग सुरक्षित रहेको भन्दै हाल माओवादी केन्द्रमा रहेको बताउँदै आएकी छन् ।

प्रकाशित मिति : २०७८ भाद्र १ गते मङ्गलवार