• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

अमेरिकी कंग्रेसद्वारा १९ खर्ब डलरको राहत प्याकेज स्वीकृत


अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलरको कोभिड– १९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कंग्रेस)ले अनुमोदन गरेको छ । राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्वपूर्ण

विजय मानेका छन् । बाइडेन ह्वाइटहाउसमा प्रवेश गरेको करिब सात हप्तापछि कंग्रेसबाट उक्त विधेयक पारित भएको छ, तर कंग्रेसमा भएको मतदानमा २२०–२११ मत खसेको थियो । अर्थात् कंग्रेसमा बहुमतमा रहेका डेमोक्रेट सदस्यहरूले विधेयकको पक्षमा मतदान गरेका भए पनि रिपब्लिकन पार्टीले विपक्षमा मतदान गरेको थियो । यो विधेयकलाई अमेरिकी माथिल्लो सदनले चार दिनअघि बहुमतका आधारमा पारित गरिसकेको छ । अमेरिकी श्रमिकको प्रतिघन्टा पारिश्रमिक १५ डलर पुर्‍याउने प्रस्तावलाई विधेयकबाट हटाइए पनि सिनेटमा रिपब्लिकन पार्टीका सदस्यहरूले विधेयकको विपक्षमा मतदान गरेका थिए । कंग्रेसले विधेयक पारित गरेसँगै राष्ट्रपति बाइडेनले ट्विट गर्दै कंग्रेसलाई धन्यवाद दिएका थिए । उनले विधेयकमा यही शुक्रबार हस्ताक्षर गरेसँगै राहत प्याकेज कार्यान्वयनमा आउनेछ ।

प्रस्तावित विधेयकमा निकै महत्वपूर्ण मानिएको विषय हो अधिकांश अमेरिकी नागरिकलाई एक हजार चार सय डलर उपलब्ध गराउने । यसबाहेक हरेक साता तीन सय डलर आपतकालीन बेरोजगार भत्ता आगामी सेप्टेम्बरसम्म उपलब्ध हुनेछ । तर, यो विधेयकले त्यति मात्र कुरा समेटेको छैन । यो विधेयकले डेमोक्रेटले चुनावमा व्यक्त गरेका प्रतिज्ञा र बाइडेनको सर्वाधिक प्राथमिकतामा मुलुकको अर्थतन्त्रको पुनरुद्धार दुवै समेटेको छ । अमेरिकामा कोरोना भाइरस महामारीले सिर्जना गरेको मानवीय क्षति र आर्थिक क्षति निकै कहालीलाग्दो अवस्थामा पुगिसकेको बाइडेनको ठहर छ । यसलाई सम्बोधन गर्न प्रभावकारी कदम जरुरी भइसकेको बाइडेनले बताउँदै आएका छन् । संयुक्त राज्य अमेरिकामा कोभिड– १९ को संक्रमणबाट पाँच लाख २५ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

अमेरिकी कंग्रेसकी सभामुख नान्सी पेलोसीले पनि कोरोना भाइरस महामारीका कारण देशका सामुन्ने उत्पन्न समस्या सम्बोधन गर्न सरकार र संसद् एकै ठाउँमा आएकोमा आभार व्यक्त गरिन् । बाइडेन प्रशासनले अघि सारेको १९ खर्ब डलरको राहत योजनाले कोभिड– १९ सँग सम्बन्धित कार्यक्रममा खर्च गर्ने, संकटमा परेका परिवारलाई राहत दिने, रोजगारी जोगाउने र नयाँ रोजगार सिर्जना गर्ने विश्वास लिइएको छ । देशको ऋणभार २२ ट्रिलियन डलर पुगे पनि डेमोक्रेट र रिपब्लिकन पार्टीले यसप्रति खासै वास्ता गरेका छैनन् । करिब ६ सय २८ पृष्ठ लामो यो विधेयकले खासगरी न्यून र मध्यम आय भएका परिवारलाई राहत उपलब्ध गराउन संघीय सरकारको प्रयत्न समेटेको छ । बालबच्चा, बालस्याहार र पारिवारिक बिदा बस्दा करछुट दिने समयावधि अहिले बढाइएको छ, र कतिपय डेमोक्रेट सदस्यहरू यो व्यवस्थालाई स्थायी रूपमै उपलब्ध गराउन प्रयासरत छन् ।

प्रत्यक्ष भुक्तानी र बेरोजगार भत्ताका अलावा यस विधेयकले कोभिड– १९ को खोप र उपचार, स्कुल, राज्य र स्थानीय सरकार तथा विमानसेवादेखि कन्सर्ट हलसम्मका संकटग्रस्त उद्योग, व्यवसायका लागि अर्बौं डलरको व्यवस्था गरिएको छ । साथै किसानलाई राहत, निवृत्तीभरण प्रणाली र विद्यार्थी ऋण तथा स्वास्थ्य बिमा खरिद गर्नेहरूका लागि अनुदान तथा थोरै आर्जन गर्नेहरूका लागि मेडिकेड खरिद गर्न राज्यहरूलाई रकम उपलब्ध गराउने प्रावधान नयाँ विधेयकमा छ ।

तर, यी निकै राम्रा प्रावधानहरू प्रस्तावित राहत प्याकेजमा समेटिए पनि रिपब्लिकनहरू त्यति खुसी छैनन् । उनीहरूको भनाइमा अतिरिक्त खर्चले राष्ट्रमाथि अतिरिक्त बोझ सिर्जना गर्नेछ । यद्यपि राष्ट्रव्यापी जनमत सर्वेक्षणहरूले बाइडेनको राहत प्याकेजलाई डेमोक्रेट र स्वतन्त्र व्यक्तिसहित कैयौँ रिपब्लिकनले समर्थन गरेको देखाएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ४ गते बुधवार