• २०८१ जेष्ठ ९ गते बुधवार
  • Preeti To Unicode

कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान आजै गर्ने तयारी, सिंहलाई फकाउँदै देउवा


काठमाडौं। नेपाली कांग्रेसको सभापति चयनका लागि पुन: मतदान हुने भएको छ । दोस्रो चरणमा हुने मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेकोछ।मत गणना
सकिएलगत्तै निर्वाचन समितिका एक जना सदस्यले भने, ‘ दोस्रो चरणको मतदान आजै गर्ने गरी छलफल सुरु गरिएको छ।’आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार

शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बुहमत पुर्‍याउन नसक्दा दोस्रो चरणमा मतदान गर्नु परेको हो । कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ ।आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । तर सबैभन्दा धेरै मत ल्याएका देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन ।दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइराबीच प्रतिस्पर्धा हुने छ । कोइरालाले १७४९ मत ल्याएका छन् ।तेस्रो भएका प्रकाशमान सिंह श्रेष्ठ, चौथो भएका विमलेन्द्र निधि र पाँचौ स्थानका कल्याण गुरुङ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।

सिंहलाई भेट्न पुगे गृहमन्त्री खाँण
नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको प्रतिस्पर्धा हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको नजर प्रकाशमान सिंहतिर परेको छ ।राष्ट्रिय सभागृहमा चलिरहेको मतगणना नसकिँदै गृहमन्त्री बालकृष्ण खाँण सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका छन् । भेटमा उनले सहयोग खोजेको बताइएको छ ।

सिंह पनि सभापतिका उम्मेदवार थिए । तेस्रो स्थानमा रहेका उनले ३७१ मात्र भोट पाए । चौथो स्थानमा रहेका विमलेन्द्र निधिले पनि २४९ मत पाएका छन् ।दोस्रो चरणमा मतदान हुँदा २२५८ मत ल्याएका देउवा र १७४९ मत पाएका शेखर कोइरालाबीच प्रतिस्पर्धा हुनेछ । यो अवस्थामा देउवालाई सिंह वा निधिमध्ये एकको समर्थन भए पुग्छ । जबकी शेखरलाई दुबैको समर्थन चाहिन्छ ।

देउवा समूह छाडेर सभापतिमा उम्मेदवारी दिएका निधिले देउवालाई समर्थन गर्ने सम्भावना कम छ । त्यसैले उनले सिंहको साथ खोजेका छन् । यद्यपि यसबारे गम्भीर छलफल गरेर मात्र निर्णय लिइने सिंहको समूहका एक नेताले सुनाए ।

प्रकाशित मिति : २०७८ मङ्सिर २८ गते मङ्गलवार