• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

बैंकको ब्याज १६ प्रतिशतसम्म पुग्न सक्ने अर्थमन्त्री शर्माको खुलासा


विराटनगर। अर्थमन्त्री जनार्दन शर्माले कतैबाट सरकारलाई विफल बनाउने सुनियोजित खेल भइरहेको उल्लेख गर्दै बैंकको ब्याज १६ प्रतिशतसम्म पुग्न सक्ने खुलासा गरेका छन्।अर्थमन्त्री शर्माले मोरङ व्यापार सङ्घमा आबद्ध व्यवसायीहरुसँगको छुट्टै भेटमा बैंकको ब्याज १६ प्रतिशतसम्म पुग्न सक्ने बताएका हुन्। मन्त्री शर्मा आइतबार कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का साथ

विराटनगर आएका थिए। सोही क्रममा व्यवसायीहरुसँग भेट्दा उनले व्याजदर थप महँगिन सक्ने बताउँदै यसका लागि नियोजित रुपमा चाल चलिएको समेत बताएका हुन्।व्यवसायीहरुले ब्याज चर्को भएकाले यसलाई घटाउन पहलका लागि गरेको आग्रहको प्रत्युत्तरमा उनले भने, ‘कतैबाट सरकारलाई विफल बनाउने सुनियोजित चाल भइरहेको छ। मैले कसैको नाम लिइरहनु पर्दैन। तपाईंहरू आफैँ बुझ्नुहुन्छ। त्यस ठाउँबाट बैंकको ब्याज १६ प्रतिशतसम्म पुर्‍याउने योजनाअनुसारले काम भइरहेको छ।’राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै बैंक ब्याजदर बढ्ने गरी नीतिगत कडाइ गरेको थियो। यस्तै, विभिन्न पाँच शीर्षकका ऋणको जोखिम भार पनि बढाइदिएको थियो। त्यसले आगामी असरबाट बैंकहरुको ऋणको लागत समेत बढाउँदै छ। यसले बैंकहरुको नयाँ लगानी विस्तारको क्षमता पनि खुम्च्याइदिनेछ। पूर्वका व्यापारीहरुसँगको भेटमा मन्त्री शर्माले बैंकिङ प्रणाली र तरलता व्यवस्थापनमा केही निर्णयगत र संरचनागत समस्या भएको पनि बताए।

शर्माको भनाइ थियो, ‘बैंकको ब्याज वृद्धि गर्ने मेरो इच्छा थिएन। केही सीईओलाई मैले भेटेको थिएँ। उहाँहरूको पनि इच्छा थिएन। तर मैले आफ्ना ठाउँबाट प्रयास गर्दागर्दै पनि ब्याज वृद्धि भएको छ। यसमा मलाई दुःख छ। सरकारलाई अप्ठ्यारो पार्ने र विफल बनाउने योजनाअनुसार यसो गरिएको हो।’ साथै, नेपालमा व्यावसायिक र बैंकिङ क्षेत्र छुट्टिन नसक्दा कर्जा, ब्याज लगायतमा विभिन्न समस्या भएको धारणा उनले प्रकट गरे।
संघका पूर्वअध्यक्ष महेश जाजूले सामाजिक सुरक्षा कोष, सञ्चय कोष, सेना, प्रहरी, नेपाल टेलिकम, विद्युत् प्राधिकरण लगायतका संस्थागत निक्षेपलाई अधिकतम ६ प्रतिशत ब्याज दिनुपर्ने आग्रह गरे। उद्योगी जाजूले नेपालको कुल बैंकिङनिक्षेपमध्ये ४५ प्रतिशत हिस्सा संस्थागत निक्षेपको रहेको दाबी गरे। संस्थागत क्षेत्रको निक्षेपमा बैंकले १२ प्रतिशतसम्म ब्याज दिएर अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको उनले जिकिर गरे।

संघका सल्लाहकार एवम् निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले संस्थागत निक्षेपमा अधिकतम ६ प्रतिशतको ब्याज हुनुपर्ने भन्ने सङ्घको आधिकारिक धारणा र आग्रह भएको स्पष्ट पारे। मुन्दडाले संस्थागत निक्षेपको ब्याजलाई ६ प्रतिशत बनाउनेबित्तिकै कर्जाको ब्याजदर एकल अंकमा आउने दाबी गरे। उनले भने, ‘यसपछि ठूलो समस्या सकिन्छ।’ राष्ट्र बैंकले हरेक महिना १० प्रतिशत ब्याज बढाउन पाइने सुविधा नेपालका व्यापारिक बैंकलाई दिएको चर्चा मुन्दडाले गरे। यही सुविधाका कारण चैत लाग्नेबित्तिकै ब्याजदरमा १ प्रतिशत थपिने निश्चित भएको उनको दाबी छ।व्यवसायीका लागि यो प्यानिक अवस्था हुनेछ’, उनले सुनाए, ‘ब्याजदरमा वृद्धि भइरहने हो भने हामीले अन्ततः उत्पादनमा कटौती गर्दै उद्योगमै ताल्चा लगाउनु पर्ने अवस्था आउनेछ। त्यसैले अहिले पनि ब्याजदर नियन्त्रण गर्ने समय छ र उपायहरू छन्। यसको मुख्य बाटो भनेकै संस्थागत निक्षेपको ब्याज घटाउनु हो। यसले सर्वसाधारण मारमा पर्दैनन्।’

मुन्दडाले संस्थागत निक्षेपको ब्याज घटाउने अभ्यास भारतमा पनि भइरहेको जिकिर गरे। कर्मचारीको मुद्दतीमा भारतमा ८ दशमलव ५ प्रतिशत ब्याज रहेकोमा यही हप्ता घटाएर ८ दशमलव १ प्रतिशत बनाइएको स्मरण उनले गराए।संघका अर्का पूर्वअध्यक्ष पवनकुमार शारडाले अर्थतन्त्रकोे अक्सिजन भनेकै बैंकिङक्षेत्र र वित्तीय व्यवस्थापन रहेको विचार व्यक्त गरे। उद्योगी शारडाले बैंकको ब्याज आकासिँदै जाँदा उद्योग व्यवसायलाई वित्तीय व्यवस्थापन गर्न धौ–धौ भइरहेको गुनासो गरे।

उनको प्रश्न थियोे, ‘एक वर्षयता हरेक वस्तुको मूल्यमा कम्तीमा ३० प्रतिशतले वृद्धि भइसकेको छ। तर त्यस अनुपातमा बैंकमा भएको हाम्रो लिमिटलाई वृद्धि गर्न बैंक व्यवस्थापन मान्दैन। अर्कातिर भएको लिमिटबाट पनि कर्जा दिन बैंक अप्ठ्यारो मान्छ। यस्तो अवस्थामा कसरी औद्योगिकीकरण हुनसक्छ?’शारडाले बैंकले मूल्यवृद्धिका अनुपातमा व्यवसायीको लिमिट बढाउनुपर्ने र उत्पादन क्षेत्रमा सहज ढंगले कर्जा वितरण गर्नुपर्ने आग्रह गरे।व्यवसायीहरुले स‌ंघका तर्फबाट मन्त्री शर्मा र अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाएका थिए।

प्रकाशित मिति : २०७८ फाल्गुन ३० गते सोमवार