• २०८१ बैशाख ७ गते शुक्रवार
  • Preeti To Unicode

विदेशको मासिक १० लाखको कमाइ त्यागेर स्वदेशमै रिसोर्ट र कालिज पालन


पोखरा । १७ वर्ष अघि आकर्षक रोजगारी र उज्ज्वल भविष्यको सपना देखेर बेल्जियम पुगेका पूर्ण तिमिल्सिनालाई त्यहाँको रङ्गिन दुनियाँले त्यो खुशी र सन्तुष्टि दिन सकेन, जो मातृभूमिले दिन्छ । वैदेशिक रोजगारी का क्रममा आर्थिक सम्पन्नता भए पनि खुशी र सन्तुष्टि मिल्न

नसकेपछि उनी स्वदेश फर्किएर रिसोर्ट र कालिज पालन व्यवसाय गर्न थाले, जसले उनलाई नाम र दाम दुवै दिलाएको छ ।पोखराको हेम्जा निवासी उनी स्वदेशमै उच्च शिक्षा हासिल गरेर सरकारी सेवा र व्यावसायिक यात्रामा रमाउने उद्देश्य पूरा नभएपछि वैदेशिक रोजगारीमा जान बाध्य भएका थिए । जीवनका ऊर्जाशील समयमा युरोपका धेरै देश घुमेका तिमिल्सिनाले बेल्जियमलाई कर्मथलो बनाए । उनले आफू बेल्जियममा पुगेको केही समयमै परिवारलाई समेत लगे । पछिल्लो समय नेपालीहरुको सपनाको गन्तब्य बनेको बेल्जियममा तिमिल्सिनाको कमाइ राम्रो थियो । परिवारनै बेल्जियम पुगेपछि कमाइसमेत थपिन थाल्यो तर उनमा बेचैन पनि बढ्न थाल्यो ।आफ्नै मातृभूमिमा फर्किएर केही गर्ने अठोट गरे उनले । बेल्जियममा लामो समयसम्म बस्दासमेत उनले त्यहाँको नागरिकताका लागि कुनै प्रक्रियानै थालेनन् । मनैदेखि नेपाल फर्किएर केही गर्नुपर्छ भन्ने हुटहुटी जागेपछि बेल्जियमको नागरिकता लिने प्रोसेस नै नगरेको उनी बताउँछन् ।

‘बेल्जियम पुगेर काम गर्न थालेदेखि नै नेपाल गएर आफ्नै माटोमा केही गर्नुपर्छ भन्ने लागेपछि मैले त्यहाँको स्थायी नागरिकता लिने प्रक्रिया नै गरिनँ,’ उनले भने, ‘सुरुबाटै ज्ञान, सिप र प्रविधि सिकेर आफ्नै गाउँठाउँमा फर्किएर केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसैले अवसर भएर पनि मैले बेल्जियमको बसाइ छोट्याए ।’२०७५ सालमा उनले परिवारलाई बेल्जियममै छाडेर आफू नेपाल फर्कने र आफ्नै माटोमा केही गर्ने सोच बनाए । व्यवसायका लागि उनले धेरैसँग छलफल गरे । धेरैले धेरैथरी सुझाव दिए । तर उनले बेल्जियममा आफूले सोखका लागि पालिरहेको कालिज पालन व्यवसाय नेपालमै सुरु गर्ने निधो गरे । उनले विभिन्न पेशा, व्यवसायमा अनुभव सँगालेका ७ जना युवाहरुको समूह बनाएर पोखराको भकुण्डेमा रिसोर्ट र कालिज पालन गर्ने योजना बनाए ।

तीन वर्ष पहिले आफ्नै माटोमा उत्पादनमुलक कार्य गर्ने चाहना भएका सात जना युवाको संयुक्त लगानीमा ‘फजान्थ हिलइको रिसोर्ट र तुलसी कुन्ज इको एण्ड वाइल्ड भिलेज प्रालि’ सुरु गरेको सञ्चालक तिमिल्सिना बताउँछन् । रिसोर्टका लागि आवश्यक भौतिक संरचना निर्माणकै चरणमा कोभिड १९ को संक्रमणले अवरुद्ध भएपछि रिसोर्ट भर्खरै सुरु गरिएको उनले बताए ।‘कोभिड संक्रमणले निर्माण अवरुद्ध भएको रिसोर्ट ढिलोगरी भर्खरै सञ्चालनमा आएको छ,’ उनले भने, ‘कालिज पालन व्यवसाय भने सुरुमै भौतिक संरचना बनाएर सुरु गरिएको हो ।’तिमिल्सिनाका अनुसार दुवै व्यवसायमा अहिलेसम्म ६ करोड रुपैयाँ लगानी भएको छ । ‘भौतिक संरचना निर्माणमा हामीले ६ करोडभन्दा बढी लगानी गरिसकेका छौं,’ उनले भने, ‘यो लगानी संरचना र पूर्वाधारमा हो, जग्गा यसमा समावेश छैन ।’

तिमिल्सिनाले २५ रोपनी क्षेत्रफलमा निर्माण भएको रिसोर्टको भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । उनले कोभिडको प्रभावलाई मध्यनजर गर्दै रिसोर्टमा आउने ग्राहकलाई एकरातको १ हजार ५ सय देखि ३ हजार रुपैयाँसम्ममा कोठा उपलब्ध गराएको बताए । सहरको कोलाहलबाट मुक्ति खोज्दै रिसोर्टमा आउने मध्यम वर्गीय नेपालीलाई समेत सहज हुनेगरी दरभाउ कायम गरिएको उनको भनाइ छ ।तिमिल्सिनाले रिसोर्टमा आउने पाहुनालाई आफैले उत्पादन गरेका तरकारीदेखि कालिजको मासुसम्मका अर्गानिक परिकार उपलब्ध गराउने बताए । ‘रिसोर्टमा आउने पाहुनालाई हामी आफैले उत्पादन गरेका तरकारी लगायतका अर्गानिक उत्पादन खुवाउँछौं,’ उनले भने, ‘यसका लागि आफ्नै बारीमा तरकारीजन्य परिकार उत्पादन गरेका छौं ।’

विदेशबाट जतिनै पैसा कमाएर ल्याए पनि जमिनको प्रयोग गरेर आफैले उत्पादन गर्न सकिएन भने त्यसको कुनै अर्थ नहुने उनको भनाइ छ । उनी भन्छन्, ‘विदेशबाट कमाएर ल्याएको पैसाले विदेशबाटै आयात गरिएको पेट्रोल मोटरसाइकलमा हालेर मण्डी पुगेर आयातित तरकारी र फलपूmल किनेर खाएर देश समृद्ध बन्दैन, आफ्नै माटोमा उत्पादन गर्नुपर्छ ।’लामो समय विदेशमा बसेको अनुभव सँगालेका उनले विदेशी भूमिमा रोजगार तथा व्यवसाय गर्न सहज नभएको बताए । ‘त्यो मेहनेत र परिश्रम नेपालमै गर्ने हो भने आफ्नै मातृभूमिमा मनग्य आम्दानी गर्न सकिन्छ,’ उनले भने, ‘अब, देशमै व्यावसायिक वातावरण बन्दै गएको छ, यहीँ केही गर्नुपर्छ ।’तिमिल्सिनाले आफ्नो रिसोर्ट र कालिज फार्ममा १८ जनाले प्रत्यक्ष रोजगारी पाएको बताए । व्यवसाय विस्तारको क्रम जारी रहेकाले यो संख्या बढ्दै जाने उनको भनाइ छ ।

कालिज पालन
तिमिल्सिनाले विगत ३ वर्षदेखि २६ रोपनी जग्गा भाडामा लिएर कालिज पालन गर्दै आएको बताए । उनले बेल्जियम बस्दा रहरले पालिएको कालिजलाई नेपाल फर्किएर व्यावसायिकरुपमा अगाडि बढाएको बताए । फ्रान्सबाट विभिन्न प्रजातिका ८ हजार ६ सय अण्डा ल्याएर ह्याचिङ प्रक्रियाबाट चल्ला निकालेर कालिज पालन सुरु गरेको उनको भनाइ छ ।‘नेपालमा ठुलाबडाले शोखकारुपमा आफैले सिकार खेलेर कालिज खाने भएकाले व्यावसायिक भविष्य राम्रो देखेर नै यो व्यवसाय सुरु गरेका हौं,’ उनले भने, ‘नेपालमा कालिजलाई वन्यजन्तुका रुपमा राखिएका कारण सुरुमा व्यवसाय थाल्दा विभिन्न दुःख, कष्ट भोग्यौं, एकपछि अर्को मन्त्रालय धाएर कानूनमा संशोधन गराएपछि बल्ल व्यवसाय थाल्यौं ।’

उनले पटकपटक विभिन्न मन्त्रालय र विभागमा धाएर कानूनमा संशोधन गराएपछि कालिज पालन व्यवसायले कानुनी मान्यता पाएको सुनाए ।आफ्नो फार्ममा ३५ सय कालिज र १५ सय कडकनाथ (कालो प्रजातिको कुखुरा) रहेको उनले बताए । अहिले आफ्नै फार्ममा ह्याचिङ गरेर चल्लासमेत विक्री गर्दै आएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०७७ चैत्र १ गते आइतवार