• २०८० फाल्गुन ११ गते शुक्रवार
  • Preeti To Unicode

ओली-नेपाल समझदारीः पार्टी एकीकरण पूर्वको अवस्थामा फर्कने, फागुन २८ को निर्णयबारे अध्ययन कार्यदल बन्ने


काठमाडौंः लामो रस्साकस्सीपछि नेकपा (एमाले) को विवाद तत्कालका लागि विषयान्तर भएको छ।अध्यक्ष केपी ओली र वरिष्ठ
नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकारात्मक भएपछि विवाद विषयान्तर भएको हो। दुई नेताबीच एमालेका पार्टीका संगठन,कमिटी

लगायतलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने समझदारी भएको छ। नेपाल पक्षको मागमध्ये एक यो पनि थियो। अदालतका फैसलापछि सम्पूर्ण विषय पार्टी एकतापूर्वको अवस्थामा फर्कनुपर्ने अडान नेपाल पक्षले गर्दै आएको थियो। यस्तै, ओली र नेपालबीच फागुन २८ को महाधिवेशन आयोजक कमिटीको निर्णय कसरी अघि बढाउने भन्नेबारे अध्ययन कार्यदल बनाउने समझदारी बनेको छ। वार्ता सकारात्मक भएसँगै हाललाई सामूहिक राजीनामा स्थगित भएको वार्तापछि वरिष्ठ नेता नेपालले बताए। भेटवार्तामा नेपालले अघि सारेका छ बुँदे प्रस्तावमा पनि छलफल भएको थियो।

विवाद हल गर्न कार्यदल बनाउने सहमति
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टीभित्रको विवाद हल गर्न कार्यदल बनाउने सहमति भएको छ । बिहीबार दिउँसो दुई बजेदेखि चार घण्टा भएको छलफलमा ओली र नेपाल विवाद समाधानका लागि कार्यदल बनाउन सहमत भएका हुन् ।छलफलमा नेता नेपालले आफूले राखेको ६ बुँदे प्रस्तावबाट पछि नहट्ने अडान लिएका थिए । तर ओली त्यो शर्तमा सकारात्मक भएको नेता नेपालले दावी गरेका छन् । ‘मैले २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वमा फर्कनुपर्ने तथा २८ फागुनयता भएको निर्णय फिर्ता गर्नुपर्ने कुरा राखेँ’ नेता नेपालले भने, ‘यसमा सकारात्मक जवाफ आएको छ ।’

नेपाल समूहले राखेको शर्त र अध्यक्ष ओलीले लिँदै आएको अडानबीच सहमति जुटाउने जिम्मा भने कार्यदललाई दिइने भएको छ । ‘कार्यदलले नै त्यो सबै काम गर्छ । अब कार्यदल बन्छ’, नेपालले भने ।काठमाडौंको चपलीस्थित व्यवसायी रामेश्वर थापाको घरमा ओली र नेपालबीच भएको वार्ता पछि नेपाल समूहको सामूहिक राजीनामा तत्काललाई टरेको छ । ‘अब कार्यदलले सहमतिको प्रस्ताव ल्याउँछ, त्यसै आधारमा थप निर्णय हुन्छ’, उनले भने । ओलीले २८ फागुनमा नेपाल समूहका नेताहरुलाई भूमिकाविहीन बनाउने गरी जिम्मेवारी हेरफेर गरेका थिए । त्यस्तै भने नेता नेपालसहित चार नेतालाई कारबाही गरेका थिए ।

बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारबाही फिर्ता लिने निर्णय लिएको थियो । बालुवाटारमा बसेको बैठकले पार्टी विवादका विषयमा थप निर्णयको अधिकारसमेत अध्यक्ष ओलीलाई दिएको थियो ।त्यस्तै बिहीबार बिहान बसेको नेपाल समूहको बैठकले पनि वार्तामा जाने निर्णय गरेको थियो । तर २ जेठ २०७५ को अवस्थामा पार्टी लैजाने अडानबाट पछि नहट्ने निष्कर्ष पनि निकालेको थियो ।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार