• २०८१ पुष ७ गते आइतवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८१ कार्तिक २७ गते मङ्गलवार, श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


आजको पञ्चाङ्ग : वि.सं. २०८१ कार्तिक २७ गते मङ्गलवार तदनुसार ई. सं. २०२४ नोभेम्बर १२ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र सूर्यास्त : साँझ ०५:०५ बजे, चन्द्रोदय : दिउँसो ०२:०६ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०२:२७ बजे, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:२४ बजे र सूर्यास्त : साँझ ०५:११ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:३० बजे र सूर्यास्त : साँझ ०५:१६ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:३० बजे, कार्तिक शुक्लपक्ष (कछलाथ्व) एकादशी तिथि, दिउँसो १२:३० बजेसम्म, त्यसपछि द्वादशी तिथि, उत्तराभाद्रा नक्षत्र, भोलि बिहान ०३:३५ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त),

हर्षण योग, बेलुका ०५:४४ बजेसम्म, त्यसपछि वज्र योग , सुरुमा विष्टि÷भद्रा करण दिउँसो १२:३० बजेसम्म, त्यसपछि बब करण मध्यरात्रीपूर्व ११:१९ बजेसम्म, अन्तिममा बालब करण, (भद्राको वास : पृथ्वीतल÷भूमिलोक)आनन्दादि योग : सिद्धि, चन्द्रवर्ण : पहेंलो, चन्द्रदिशा : उत्तर, योगिनीदिशा : आग्नेय (दिउँसो १२:३० बजेसम्म), त्यसपछि नैऋत्य, वारशूल : उत्तर, धनिष्ठा पञ्चक÷सरुन परेको दिन, वाणपञ्चकमध्ये रोग वाण : बेलुका ०८:३२ बजेसम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व,आज : श्री हरिबोधिनी एकादशी, तुलसी विवाह, भीष्मपञ्चक प्रारम्भ, बराहक्षेत्रमा धार्मिक मेला र स्नानादि प्रारम्भ, खोटाङ्ग, बराहपोखरीमा मेला, मकवानपुर, भैंसेमा त्रिखण्डेश्वर महादेव मेला, विष्णुत्रिरात्र व्रतसमाप्ति, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २८ गते : श्री बुध प्रदोष व्रत (सुखसम्मृद्धि र प्रेमजीवनका निमित्त), चातुर्मास्य व्रतको समापन, दाल दान गर्ने दिन, नारायण द्वादशी, चाँगुनारायण अखण्डदीप दर्शन, रुरु रीडीक्षेत्रमा हृषिकेश रथयात्रा, मन्वादि, गायत्री प्रादुर्भाव दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा÷रुद्राभिषेक) २९ गते : वैकुण्ठ चतुर्दशी व्रत, श्री महाविष्णु पूजा, डोटी केदार मेला, पाल्पा दर्लम डाँडा महाकाली भगवती यात्रा, डोटी दिपायल जाँत, केदार पूजा, भागेश्वर मेला, धादिङ्ग, किरानचोक कालिका भगवती यात्रा, वैदिक कर्मकाण्ड संरक्षण दिवस, विश्व मधुमेह दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा÷रुद्राभिषेक), अन्नप्राशन (पास्नी) (द्रष्टव्य : मृत्यु वाण विचार गरी कार्य गर्ने) ३० गते : कार्तिक मसान्त, श्री पूर्णिमा व्रत, त्रिपुरोत्सव, मन्वादि, कार्तिक स्नानको समाप्ति, चतुर्मास व्रत समाप्ति, सामा चकेवा पर्वको समापन, थानकोट वाणस्थली, त्रिवेणी स्नान, जगद्गुरु श्री निम्बार्काचार्य जयन्ती, वाहेगुरु श्री नानकदेव जयन्ती, बराह क्षेत्रमा ५ दिवसीय धार्मिक मेला समापन, सिलगढी डोटीमा शैलेश्वरी जाँत, कृतिका दीपोत्सव, सकिमनापुह्नि

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। खर्च लागे पनि नयाँ तथा दिगो काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ। यात्राको प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। प्रयत्न गर्दा फसेको रकम उठाउन सकिनेछ। लाभांश सञ्चय नभए पनि मिहिनेत गर्दा पछिको खर्च घटाउन सकिनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मनग्य धन आर्जन हुनेछ र विभिन्न स्रोत–साधन जुट्नेछन्। आँटले काम बन्नेछ भने आम्दानीले उत्साह जगाउनेछ। श्रमको उचित मूल्यांकन हुनाले राम्रै प्रतिफल प्राप्त हुनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। सट्टापट्टा, लेनदेन आदिमा फाइदा हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। व्यापारमा थन्किएका वस्तु बिक्री हुनेछन् र अड्किएको रकम उठ्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। भूमि, वाहन र कर्मयोगबाट लाभ मिल्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। नाम र दाम कमाउने अवसर प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। कामको मेसो नमिल्दा लक्ष्यमा पुग्न समय लाग्नेछ। तर फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। परोपकारी काममा प्रवृत्त भइएला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पहिलेका समस्या दोहोरिनाले अलमल हुनेछ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। समस्या दर्साउँदा सहयाेगीकाे साथ जुट्नेछ। कामको चाप बढ्नेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिन खर्चिलो देखिए पनि प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ। अतिथिको रूपमा सत्कार समेत पाइने ग्रहयोग छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। आफन्तजनबाट सहयोग मिल्नेछ। उपहार आदिमा खर्च बढ्न सक्छ। सोख पूरा गर्न खर्चिलो कामतर्फ अग्रसर भइनेछ। तापनि भौतिक साधन जोड्ने समय छ। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। विवाद तथा मुद्दामा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। संघर्षले कर्मयोग अघि बढ्नेछ। अध्ययनमा धेरै समय जुट्न नसकिए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। परिस्थितिवश अरूका काममा अलमल हुन सक्छ, सजग रहनुहाेला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला। अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिष्ठित व्यक्ति र साथीभाइले साथ दिनेछन्। पशुधन र जमिनबाट लाभ हुनेछ। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसर प्राप्त भए पनि आत्मविश्वासको कमीले पछि परिनेछ। भेटघाटमा अलमलिनाले आँटेका काममा बाधा हुनेछ। तापनि मिहिनेत गर्दा पछिका लागि फाइदा लिन सकिनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। मिहिनेतले नाम र दाम दिलाउनेछ। आफन्तका लागि समय दिनुपर्ने हुन सक्छ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०८१ कार्तिक २७ गते मङ्गलवार