• २०८१ बैशाख ७ गते शुक्रवार
  • Preeti To Unicode

गाडी भाडामा यसरि ठगिन्छन् यात्रु : ६० किलोमिटर दूरीको भाडा प्रति यात्रु १० हजार !


सोलुखुम्बु —६० किलोमिटर दूरीको गाडी भाडा कति हन सक्ला ? ५ सय वा अधिकतम १ हजार । यो सहज र स्वभाविक उत्तर हो । तर हिमाली जिल्ला सोलुखुम्बुमा
भने गाडी भाडामै विदेशी पर्यटक ठगिएका छन्।सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट खरिखोला क्षेत्र जाने सवारीको भाडामा मनोमानी हुँदा विदेशी पर्यटक यात्रामै ठगिइने गरेका छन्। ५ सिट

क्षमताको बलेरोले सल्लेरी–खरिखोला रिजर्भको ५० हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ । यसरी हिसाव गर्दा ६० किलोमिटर दूरीको उक्त यात्रामा प्रति पर्यटक १० हजार रुपैयाँसम्म भाडा पर्ने गरेको छ । मौसम प्रतिकूलताका कारण रामेछापबाट सिधै लुक्ला जान नसकेर वैकल्पिक हवाई मार्ग प्रयोग गरी फाप्लु आएका पर्यटकको संख्या बाक्लिएको मौकामा सल्लेरी–खरिखोला जाने गाडीहरुले भाडा मनोमानी रुपमा बढाएका हुन् ।विदेशीको संख्या बढेको र यात्रुहरुको बाध्यतालाई फाइदाको रुपमा उठाउँदै सवारीधनीले मनोमानी भाडा लिने गरेका छन् । खरिखोला क्षेत्र जाने सवारीको संख्या कम र यात्रुको चाप बढी हुँदा गाडीले पर्यटकलाई तोकिएभन्दा बढी भाडा लिने गरेको पर्यटन व्यवसायी छिमीछिरी शेर्पाले गुनासो गरे ।

‘यसअघि सल्लेरी–खरिखोला १६ हजार रुपैयाँमा रिजर्भ जाने गरेको बोलेरो जिपहरूले अहिले ५० हजार रुपैयाँसम्म लिने गरेका छन्’ शेर्पाले भने, ‘भ्रमणमा आएका विदेशी पर्यटकबाट आफूखुसी भाडा लिइँदा अन्तर्राष्ट्रिय समुदायमा नेपालको बारेमा गलत सन्देश जान्छ ।’सो क्षेत्रको सडक कच्ची छ । सल्लेरीबाट बोलेरो जिपहरु मात्रै छुट्ने गरेकोमा यात्रुको चाप थेग्न नसक्दा मंगलबारबाट सुमो जिपहरुले पनि पर्यटक बोक्न थालेका छन् । ‘२ दिनदेखि सुमोमा पनि विदेशी पर्यटक बोकिरहेका छौँ’ सवारी चालक प्रकाश घतानीले भने । विदेशी यात्रुको चाप बढ्दा नेपाली यात्रुहरुले खरिखोलासम्मको गाडीमा टिकट नपाउने अवस्था छ ।

गुनासो आउनासाथ जिल्ला प्रहरी कार्यालयले अनुगमनमा टोली नै खटाएको छ । ‘हामीले अनुगमन गर्दा ३५ देखि ५० हजारसम्म भाडा लिने गरेको पाइयो’ प्रहरी निरीक्षक ज्ञानबहादुर माझीले भने । उनका अनुसार सवारी साधनको संख्या कम भएकाले पनि यो समस्या उत्पन्न भएको हो । अन्तरपालिका भाडादर निर्धारण प्रदेश सरकारले गर्ने गर्छ । ‘हामीले गुनासो आएपछि भाडा निर्धारणको लागि पहल गरेका थियौं, तर जिल्लाको कार्यक्षेत्र नभई प्रदेश सरकारको कार्य क्षेत्र भएकाले भाडा तोक्न सकिएन’ प्रमुख जिल्ला अधिकारी अनिल खनालले भने ।

केही दिनयता मौसममा आएको खराबीका कारण मन्थली–लुक्ला हवाई उडान प्रभावित भइरहेको छ । जसकारण सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकले काठमाडाैंबाट सल्लेरी हुँदै खरिखोलासम्म जिपको प्रयोग गर्ने गरेका छन् । खरिखोला भन्दा माथिल्लो क्षेत्रमा सवारी नजाने भएकाले त्यहाँबाट पैदलयात्रामार्फत सगरमाथा क्षेत्र जाने गरेका छन् । खरिखोलाबाट लुक्ला पुग्न पर्यटकलाई एक दिन लाग्ने गरेको छ ।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधवार