• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

मोतिपुर घटना: गोलि हान्ने गठबन्धन सरकार तिनैका विद्यार्थी संगठनको आरोप ओली नेतृत्वको सरकार माथि


काठमाडौं । सत्तारुढ तीन दलका विद्यार्थी संगठनहरुले रुपन्देहीको मोतीपुरमा प्रहरीको गोलीबाट चार जनाको मृत्यु भएको घटनाका दोषीलाई कारबाही गर्न माग गरेका
छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकटका विद्यार्थी संगठनहरुले आज संयुक्त विज्ञप्ति जारी गरेर घटनाको छानविन गरी

दोषीलाई कारबाहीको माग गरेका हुन् । उनीहरुले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन र घाइतेहरुको निःशुल्क उपचार गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली र जसपा निकटको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले जारी गरेको विज्ञप्तिमा घटनाको मुख्य कारण भने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार भएको आरोप लगाइएको छ ।

‘अनाहकमा जनताको ज्यान गएको यो घटनाको मुख्य कारण तत्कालीन प्रतिगामी सरकार र त्यसका अर्थमन्त्री भएको हाम्रो निश्कर्ष छ,’ विज्ञप्तिमा लेखिएको छ ।गत फागुन २१ गते तत्कालीन सरकारका अर्थमन्त्री एवम् एमाले उपमहासचिव विष्णु पौडेलले स्थानीयको विरोधका बाबजुद मोतीपुरमा औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए ।

औद्योगिक क्षेत्र स्थापना गर्ने नाममा १ सय ३३ विघा जग्गा अधिग्रहण नगर्दै राज्य शक्तिको दुरुपयोग गरी मोतिपुर क्षेत्रमा बसोबास गरिरहेका सर्वसाधारण जनतालाई सत्ता र शक्तिको आडमा लखेटने दुस्साहसको परिणाम मोतिपुर क्षेत्र रणमैदान भएको विद्यार्थी संगठनहरुको आरोप छ ।

२४ असोजमा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूहसँगको झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७८ असोज २६ गते मङ्गलवार