• २०८१ भाद्र ३१ गते सोमवार
  • Preeti To Unicode

नेपालको सेयर कारोबारमा विश्वकै धेरै ब्रोकर कमिसन, साउनबाट घटाउन लगानीकर्ताको माग


अहिले औसतमा ० दशमलव ३३ प्रतिशत ब्रोकर कमिसन तिर्नुपर्छ, त्यस आधारमा ब्रोकरहरूको दैनिक कमाइ दुई करोडमाथि
संसारका धेरै देशमा ब्रोकर कमिसन नै तिर्नुपर्दैन तिर्नुपर्ने ठाउँमा पनि अत्यन्तै न्यून गत पुसमा करिब ३३ प्रतिशतले ब्रोकर कमिसन घटाइएको

भए पनि सेयर बजारमा लागेका ठूला व्यवसायी तथा लगानीकर्ताले साउनबाट पुनः ब्रोकर कमिसन घटाउन जोड दिएका छन् । ‘कारोबारको आकार बढ्दै जाँदा कमिसन पनि घट्नुपर्छ नै, त्यसैले कम्तीमा पनि साउनबाट यो दर घटाउनुपर्छ,’ एक ठूला लगानीकर्ताले भने । पहिले बजारमा कम संख्यामा सूचीकृत कम्पनीहरू रहेको र दैनिक औसत कारोबार पनि करोडभन्दा कम हुने गरेकाले ब्रोकरलाई धेरै कमिसनको व्यवस्था गरिएकाले अब भने घटाउनुपर्नेमा उनको जोड छ । ‘नियामक वा सरकारले नियम ल्याउँदा आफ्नो विवेकले बनाउने हो, ब्रोकरसँग सहमति लिने होइन,’ उनले भने । गत एक वर्षमा सेयर बजारमा दैनिक औसत ४ अर्बभन्दा धेरै रकमको कारोबार भएको छ ।

यसबीचमा २ सय १५ दिन बजारमा कारोबार भएकोमा १५ दिन मात्रै दैनिक १ अर्बभन्दा कम रकमको सेयर कारोबार भएको छ । दैनिक औसत कारोबार रकमका आधारमा औसत ब्रोकर कमिसन ०.३३ प्रतिशतका आधारमा पनि अहिले ब्रोकरहरूले दैनिक २ करोड ३६ लाख कमाइ गरिरहेका छन् । यसमा ५० ब्रोकरलाई समान हिस्सेदारी लगाउँदा दैनिक एउटैको कमाइ करिब ५ लाख रुपैयाँ हुन थालेको छ ।

पछिल्लो समय अनलाइन कारोबारको संख्या बढेसँगै ब्रोकरहरू कारोबारको माध्यम मात्र बनेका छन् । यसले ब्रोकरहरूको खर्चमा समेत कटौती भएकाले ब्रोकर कमिसन घटाउनुपर्ने लगानीकर्ताले माग गरेका हुन् । ‘अनलाइन प्रणालीको विस्तार व्यापक भएसँगै क्रमशः घटाउने भन्ने सहमति भएको थियो,’ सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले भने, ‘अहिले ८५ प्रतिशतले अनलाइनमार्फत सेयर कारोबार गर्छन्, राफसाफको काम पनि विद्युतीय रूपमै भइरहेकाले ब्रोकरको संलग्नता, कागजातको काम निकै कम छ ।’

लगानीकर्ताले एकमुष्ट परिमाणमा सेयर किन्न आदेश दिँदासमेत टुक्रेर आउने गरेको र यसले पटक–पटक कमिसन तिर्नुपर्ने अवस्थासमेत रहेको अर्याल बताउँछन् । सेयर बजारमा रहेका अन्य लगानीकर्ता संघहरूले पनि असन्तुष्टि जनाएका हुन् ।

३५ लाखले डिम्याट खाता खोल्दा करिब २० प्रतिशत लगानीकर्ता बजारमा सक्रिय छन् । नेप्सेका अनुसार हाल सक्रिय लगानीकर्ताको संख्या करिब ६ लाख २७ हजार छ । ४ लाख ९९ हजारले अनलाइन खाता खोलेका छन् भने २ लाख ४३ हजारले मात्रै सक्रिय करोबार गर्छन् । रकमका आधारमा भने ८० प्रतिशतभन्दा बढी कारोबार अनलाइनबाट हुन थालेको छ ।

गत पुसमा चार वर्षपछि धितोपत्र बोर्डले सेयर ब्रोकरहरूले पाउने कमिसनमा ३३ प्रतिशतले कटौती गरेको थियो । औसतमा शून्य दशमलव ५ प्रतिशत कमिसन तिर्दै आएका लगानीकर्ताले शून्य दशमलव ३३ प्रतिशत तिरे पुग्ने भएको हो । लगानीकर्ताले भने कमिसन दर अधिकतम शून्य दशलमव २५ मा बनाउनुपर्ने माग राख्दै आएका थिए ।

कमिसनबाट उठेको कुल रकममा धितोपत्र बोर्डले ०.६ प्रतिशत, नेप्सेले १९ प्रतिशत र सिडिएससीले १ प्रतिशत पाउँछन् । ब्रोकरहरूले भने आफूहरूको लगानीमा वृद्धि भएकाले पनि लगानीअनुसार यो प्रतिफल कम भएको बताएका छन् । ‘अहिले ग्राहकले समयमै राफसाफ नगर्दासमेत ब्रोकरहरूले आफ्नो पुँजी चलाएर काम गरेका छन्, राफसाफ कोष नहुँदा बैंकबाट एउटै ब्रोकरले ८ देखि १५ करोड ऋण लिएर काम गरिरहेका छौँ, यसको पनि लागत धेरै छ,’ ब्रोकर भरत रानाभाटले भने । बढ्दो बजार सिजनल भएको र एउटा सिजन हेरेर कमिसन घटाउने–बढाउने गर्न नहुने रानाभाटले बताए । ६ महिना, वर्ष दिनमै कमिसन घटाउने गर्नुभन्दा अध्ययन गरेरै निर्धारण गर्नुपर्ने ब्रोकरहरूको तर्क छ ।

नेपालमा कमिसन दर उच्च
विश्वका अन्य मुलुक तथा छिमेकी देशहरूको तुलनामा नेपालमा ब्रोकर कमिसन अत्यधिक छ । विश्वका धेरै मुलुकमा शेयर किनबेच गर्दा कमिसन नै तिर्नुपर्दैन । ब्रोकरले प्रदान गर्ने अन्य सेवामा मात्रै शुल्क तिर्नुपर्छ । भारतमा राफसाफ नै हुने गरी गरिने कारोबारमा कमिसन लाग्दैन ।

हङकङका विभिन्न ब्रोकरले भने फोनबाट आदेश दिएर गरिने आधारमा वा मासिक कारोबार रकमका आधारमा कमिसन दर तोकेका छन् । १ करोड ३० लाख हङकङ डलरभन्दा कम रकममा धेरै (०.१३ प्रतिशत) र ५० करोड हङकङ डलरसम्ममा ०.००५ प्रतिशत लिने गर्छन् । त्यस्तै, चीनमा ० दशमलव ०८ देखि ०.२५ प्रतिशतसम्म कमिसन लिने गरिएको छ । सिंगापुरमा भने ० दशमलव ०८ देखि ०.२८ प्रतिशतसम्म लाग्ने गरेको छ ।

प्रकाशित मिति : २०७८ बैशाख २९ गते बुधवार