• २०८० चैत्र १६ गते शुक्रवार
  • Preeti To Unicode

नगरसभामा बोलिरहेका पोखराका मेयर जब रुन थाले


पोखरा : पोखरा सभागृहमा पोखरा महानगरपालिकाको दशौं नगरसभा चलिरहेको थियो। अचानक नगरसभाको माहोल परिवर्तन भयो। नगरसभामा मेयर मानबहादुर जीसी भावुक बने र एक्कासि आँसु झारे।शुक्रबार भएको नगरसभाको उद्घाटन सत्रको दृश्य हो यो।सुरुवातमा भावुक बनेका मेयरले कोरोना महामारीविरुद्ध खटिने सबैलाई धन्यवाद दिए। महामारीबाट बच्नु नै सबैभन्दा ठूलो कुरा रहेको सुनाउँदै उनले विषम परिस्थितिमा सबभन्दा पहिला जनप्रतिनिधि नै महामारीविरुद्ध खटिएको भन्दै धन्यवाद दिए।

‘विश्वव्यापी रुपमा फैलिएको कोभिडले मान्छेलाई तनाव दिएको छ। यस विषम परिस्थितिमा पनि तपाईंहरुले अहम् भूमिका खेल्नुभएको छ। पोखरा महानगरपालिकाको तर्फबाट धन्यवाद,’ उनले भने। महामारीमा जनप्रतिनिधिको नेतृत्व राम्रोसँग देखिएको भन्दै उनले प्रशंसा गरे। जसका कारण जनस्तरमा जनप्रतिनिधिमाथि विश्वास बढेको उनले बताए।‘यहाँहरुसँग मेरो अन्तरात्माको अनुरोध सुनाउन चाहन्छु, निर्वाचित भएका बेला सानो राम्रो काम गर्न पाए पनि जनताले स्याबासी दिने रहेछन्। त्यही भएर घोत्लिनुस् महानगरको साथ रहन्छ,’ उनले भने।

आफ्नो कार्यकालमा पाएको मौकालाई सदुपयोग गर्न पनि उनले जोड दिए। विकासमा नगरसँगै प्रदेशको पनि साझेदारी महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।यसपछि एकाएक भावुक बनेका उनले थपे, ’यहाँभन्दा धेरै कुरा नभनौं होला । म आज यसैमा खुसी छु। म पनि कोभिडपीडित भएको हुनाले भेट गर्न पाउँदिन कि भन्ने लागेको थियो तर पाइयो।’ त्यसपछि आफूलाई रोक्न नसकी उनी रोएका थिए।

केहीबेरपछि सम्हालिँदै उनले भने, ‘सभालाई सबैले मिलेर राम्रो र सफल पारौं। आजका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्रीज्यूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु। समय निकालेर आइदिनुभयो। सम्बोधन गरिदिनुभयो धन्यवाद। पत्रकार मित्रहरूलाई पनि त्यही ढंगले समाचार सम्प्रेषण गरिदिनुहुन अनुरोध गर्छु।’

नगरसभामा ५ विधेयक पारित
शुक्रबार भएको १० औं नगरसभाले ५ विधेयक पारित गरेको छ। पारित भएका ५ विधेयकमध्ये ४ विधेयक संशोधित हुन्। बालबालिका अधिकार व्यवस्थित गर्न बनेको ऐनको दोस्रो संशोधन, खेलकुद विकास समिति खर्च निर्देशिका प्रथम संशोधन, पोखरा प्रज्ञा प्रतिष्ठान ऐनको प्रथम संशोधन, आर्थिक वर्ष कार्यक्रम संशोधन गरिएको विधेयक पारित गरेको हो। यस्तै कर्मचारी सेवा विधेयक २०७८ पनि पारित भएको छ।

प्रकाशित मिति : २०७८ माघ २९ गते शनिवार