• २०८१ पुष ११ गते बिहिवार
  • Preeti To Unicode

काँग्रेसको महाधिवेशनमा पैसाको बाढी : उम्मेदवारको खर्च लाखदेखि करोडसम्म !


शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्र सुरु हुँदै थियो।उद्घाटनका बेला अतिथि तथा पार्टीका नेताको भाषण सुन्ने प्रचलन
भए पनि काँग्रेस महाधिवेशनमा उम्मेदवारी दिने तरखर गरेका केही नेताहरू चुनाव प्रचार–प्रसारमा कस्सिइसकेका थिए ।अधिकांश उम्मेदवारका प्रत्याशी नेताहरूले आफ्नो प्रचार सामग्री

वितरण गरिरहेका थिए भने केहीले त विभिन्न झाँकीसहित आफ्नो प्रचार थाले । महाधिवेशनमा जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका ओमबहादुर घर्तीले मगरको संस्कृति कोडा नाँचको झाँकी निकाल्दै पोष्टर बोर्डका साथ भोटका लागि आफ्नो प्रचार गरिरहेका थिए ।उता ठेकेदार तथा प्रतिनिधि सभामा सांसद समेत काँग्रेस नेता जिपछिरिङ लामाको पक्षमा एउटा समूह नारा लगाउँदै हिँडिरहेको थियो । उनीहरुले काँग्रेसका ३ वटा गुटका नेताको चाहना केन्द्रीय सदस्यमा जिपछिरिङ लामा रहेको नारा लगाइरहेका थिए ।केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका काँग्रेसका युवा नेता तथा पूर्व अर्थराज्यमन्त्री उदयशम्शेर राणा पनि दलबलसहित महाधिवेशन प्रतिनिधिसँग हात जोडेर भोट माग्न थालिसकेका थिए । उनले भृकुटीमण्डपमा आफ्नो सम्पर्क कार्यालय समेत खोलेका छन् ।भृकुटीमण्डपको बगैँचा छिर्ने गेटमा आफ्ना उम्मेदवारीको पोष्टर छातीमा झुन्ड्याएर ४ जना सहयोगी सहित भोट मागिरहेका थिए क्षितिज भण्डारी । धनगढीबाट काँग्रेस महासमिति सदस्यमा निर्वाचित उनी सहित सहयोगी नमस्कार गर्दै चुनावी प्रचार सामग्री बाँढिरहेका थिए । महाधिवेशन प्रतिनिधिका लागि आफूले १० हजार थान ढाका टोपी बाँडेको पनि उनले सुनाए । केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका उनले चुनावमा आफ्नो डेढ लाख सम्म खर्च लाग्ने बताए ।​

उम्मेदवारको चुनाव खर्च : लाखदेखि करोडसम्म
काँग्रेस महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरूले ठूलो रकम खर्च गरिरहेका छन् । उनीहरूको प्रचार शैली, कार्यकर्ताहरूको परिचालन लगायतमा खर्च हुने उम्मेदवारी दिने तयारीमा रहेका एक नेताले बताए । उनका अनुसार महाधिवेशनका उम्मेदवारले आफ्नो हैसियत अनुसार लाखदेखि करोडसम्म खर्च गर्ने बताए ।उम्मेदवारहरूले आफ्नो क्षेत्रका महाधिवेशन प्रतिनिधिका लागि प्लेन टिकट, खाना, बसोबासको व्यवस्था, ट्याक्सी खर्च, प्रचार प्रसारमा लगायतमा निकै खर्च हुने उनले बताए ।उनले भने–‘निष्ठाको राजनीति गर्नेले अब चुनावमा उठ्ने जमाना रहेन् । चुनाव जित्न सम्पर्क कार्यालय खोल्नुपर्‍यो, कार्यकर्ता पाल्नुपर्‍यो, खाजा खुवाउनुपर्‍यो । कतिले त चुनाव जित्न पैसा समेत बाढ्ने गर्छन् ।’

हाल गण्डकी प्रदेशको विना विभागीय मन्त्री रहेका तनहुँका काँग्रेस नेता दोबाटे विश्वकर्माले दलित समावेशी कोटाको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिँदैछन् । उनले प्रचार प्रसारका लागि ३ हजार प्रति सानो कार्ड छापेका छन् भने छातीमा कार्यकर्ताले झुन्ड्याएर हिँड्ने ५० वटा कार्ड छपाएका छन् ।प्रचार प्रसारमा हिँड्ने कार्यकर्ताका लागि सुन्धाराको दर्शन होटलमा ६ वटा कोठा बुक गराएका छन् । उनको उम्मेदवारीको प्रचार गर्दै हिँडेका विश्वकर्माका एक कार्यकर्ताले महाधिवेशनमा कम्तिमा २ लाख खर्च हुने बताए ।काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० का सांसद समेत रहेका काँग्रेस नेता राजन केसीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछन् । उनले पनि आफ्नो उम्मेदवारीको आक्रामक रूपमा प्रचार थालेका छन् ।

शुक्रबार भृकुटीमण्डपमा उनका कार्यकर्ताहरू प्रचण्डलाई चुनाव हराएको व्यक्तित्वलाई केन्द्रीय सदस्यमा जिताउन भन्दै महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका थिए ।उनको प्रचारका लागि डेढ सय कार्यकर्ता महाधिवेशनमा खटिएका छन् भने १ सय जनाले उनको फोटो भएको ज्याकेट लगाएका छन् ।काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ र १० मा महाधिवेशन प्रतिनिधिलाई स्वागत गर्दै केसीको फोटोसहित २१ वटा गेट निर्माण गरिएको छ । उनले बनाएको एउटै स्वागत गेटको ३५ हजार हाराहारी परेको छ । केसीको चुनाव प्रचार प्रसारमा १० लाख रुपैयाँ हाराहारी खर्च हुनसक्ने अनुमान गरिएको छ ।काँग्रेस नेता पूर्ण बानियाँले नेता कार्यकर्ताहरूको सहयोगमा केसीलाई चुनाव जिताउन विभिन्न खालका सहयोग भइरहेको बताए ।

उता पूर्वगृहराज्यमन्त्रीसमेत रहेका काँग्रेस नेता देवेन्द्रराज कँडेलले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदैछन् । उनले आफ्नो उम्मेदवारी प्रचारका लागि आफूले लेखेको पुस्तक ‘बोनसको जीवन’ वितरण गरिरहेका छन् । माओवादी युद्धका बेला आफूले भोगेका कुराहरु कितावमा रहेको उनले बताए ।उनको चुनाव प्रचारका लागि महाधिवेशन प्रतिनिधिहरु नै खटिएकाले कम खर्च लाग्ने बताए । उनले भने, ‘बाहिरबाट छुट्टै मान्छेहरू ल्याएर चुनाव प्रचार गर्ने हो भने धेरै खर्च लाग्छ । मेरो चुनाव त महाधिवेशन प्रतिनिधिहरूले नै गर्नुभएकोले धरै खर्च लागेको छैन । आफैले लेखेको कितावपनि बाँडिरहेको छु ।’

उनले निर्वाचन आचारसंहिता विपरीत महाधिवेशन भइरहेको स्थानमा उम्मेदवारका ब्यानर टाँसिएको पनि गुनासो गरे ।नेता कँडेलले भनेजस्तै यतिबेला काठमाडौँको भृकुटीमण्डपको भुँई र भित्ताहरू नेताहरूको प्रचार सामग्रीले छपक्कै छोपिएको छ । अन्य विभिन्न संघ संस्थाको कार्यालयलाई महाधिवेशनका उम्मेदवारहरूले आफ्नो अस्थायी सम्पर्क कार्यालय बनाएका छन् ।

यस्तो छ उम्मेदवारी दर्ता शुल्क
काँग्रेसको महाधिवेशनमा केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यका लागि फरक फरक उम्मेदवारी शुल्क तोकिएको छ । सभापति पदका उम्मेदवारका लागि ३० हजार रुपैयाँ, उपसभापति तथा महामन्त्रीका लागि २५ हजार रुपियाँ, सहमहामन्त्री पदका लागि २० हजार रुपियाँ शूल्क तोकिएको छ । यस्तै केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि १० हजार रुपियाँ उम्मेदवारी शुल्क तोकिएको छ ।


स्रोत ; रातोपाटी

प्रकाशित मिति : २०७८ मङ्सिर २५ गते शनिवार