अहिलेचितवन जिल्ला राजनीतिक चर्चाको केन्द्रबिन्दुमा छ । यसका तीन कारण छन् ः एक–नेकपा एमालेको दसौँ महाधिवेशन चितवनमा हुन लागेको छ।दुई माओवादी
अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र यहीँ पर्छ र उनलाई हराउन केपी ओलीले कसरत थालेका छन्।यसका लागि प्रचण्डविरुद्ध चितवनमा बादललाई उतार्ने ओलीको तयारी छ।र,तीन–आगामी
चुनावमा प्रचण्डलाई सघाउने कि आफैं चुनाव लड्ने भन्नेबारे काँग्रेसका जिल्ला नेताहरूले पनि हिसाब–किताब थालेका छन् । प्रचण्डले चितवनबाटै चुनाव लड्ने घोषणा गरिसकेका छन् ।मुख्यतः यिनै तीनवटा कारणले गर्दा चितवन जिल्ला राजनीतिक दलहरूको शक्ति प्रदर्शनको ‘कुरूक्षेत्र’ बन्न लागेको हो । खासगरी एमालेले राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने तयारी गरेपछि र प्रचण्डविरुद्ध एमाले नेताहरूले फायर खोलेपछि यो जिल्ला राजनीतिक चर्चाको शिखरमा पुगेको हो ।चितवनकै बासिन्दासमेत रहेका रामबहादुर थापा बादलले प्रचण्डलाई काउन्टर गर्नका लागि एमालेको महाधिवेशन बुटवलबाट चितवनमा सारिएको बताउने गरेका छन् । बादल महाधिवेशन आयोजक समितिको नेतृत्वमा छन् । काँग्रेस, एमाले र माओवादी तीनै दलको बलियो उपस्थिति रहेको चितवन यति बेला राजनीतिक दलको शक्ति देखाउने रणनीतिक जिल्लाको रूपमा स्थापित भइरहेको छ । आगामी जेठ ५ बाट स्थानीय तहका जनप्रतिनिधिहरूको म्याद सकिने हुँदा सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गर्नुपर्नेछ भने अबको झन्डै एक वर्षमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन गर्नुपर्ने छ । यिनै सन्दर्भमा हामीले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा चितवनमा राजनीतिक दलहरूको शक्ति सन्तुलनको अवस्था कस्तो थियो भनेर केलाउने प्रयास गरेका छौँ ।हुन त ०७४ भन्दा यता जिल्लाको राजनीतिक सन्तुलनमा निकै नै परिवर्तन आइसकेको हुन सक्छ । तथापि ०७४ को अङ्कगणितलाई आधार मानेर सामान्य विश्लेषण गर्ने प्रयास गरिएको छ ।
चितवनका प्रमुख राजनीतिक शक्ति
चितवनमा तीनवटा निर्वाचन क्षेत्र छन् । २०७४ सालको प्रतिनिधि सभाको चुनावमा २ वटा क्षेत्रमा एमाले र एउटा निर्वाचन क्षेत्रमा माओवादी केन्द्र विजयी भएका थिए । त्यस बेला नेपाली काँग्रेसविरुद्ध एमाले र माओवादीले गठबन्धन बनाएर निर्वाचन लडेका थिए ।चितवनको निर्वाचन क्षेत्र नम्बर एक र दुईबाट एमाले नेताहरू सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेलले जितेका थिए भने क्षेत्र नम्बर ३ बाट माओवादी अध्यक्ष प्रचण्डले जितेका थिए । त्यसअघि, स्थानीय तहको चुनावमा चाहिँ भरतपुर महानगरपालिकामा नेपाली काँग्रेस र माओवादीले एमालेविरुद्ध चुनावी तालमेल गरेका थिए । यसो गर्दा मेयरमा माओवादी र उपमेयरमा नेपाली काँग्रेसले जितेका थिए । एमालेका देवी ज्ञवाली मेयरमा पराजित भएका थिए ।०७४ को चुनावमा प्रत्यक्षतर्फ कसले कति मत ल्याएको थियो भनेर चर्चा गर्नुअघि एमाले, काँग्रेस, माओवादी लगायत ५ दलले चितवनका तीनवटै क्षेत्रमा पाएको समानुपातिक मत कति थियो भन्ने हेरौँ –
चितवन : समानुपातिकतर्फ ५ दलको मत (२०७४ साल)
अहिलेको सत्ता गठबन्धनमा काँग्रेस, माओवादी, जनता समाजवादी (जसपा), राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) समेत ५ दल संलग्न छन् । उनीहरूले आगामी चुनाव मिलेरै लड्ने बताइरहेका छन् । तर, ०७४ सालको अङ्कगणित हेर्दा चितवनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीको मत कति होला भनेर अनुमान लगाउन गाह्रो छ । चितवनमा हिजो माधव नेपाल पक्षमा रहेका सुरेन्द्र पाण्डे र कृष्णभक्त पोखरेल अहिले एमालेमै छन् । तथापि ०७४ मा पहिलो दल बनेको एमाले विभाजनको असर चितवनमा केही न केही पर्न सक्ने अनुमान लगाउन सकिन्छ ।
०७४ को प्रतिनिधि सभा चुनावमा समानुपातिकतर्फको मत हेर्दा एमाले पहिलो दल बनेको थियो । एमालेले चितवनका ३ वटा निर्वाचन क्षेत्रमा गरेर कूल ९३ हजार ५ सय ३४ मत पाएको थियो ।दोस्रो स्थानमा रहेको काँग्रेसले कुल ८१ हजार १ सय ४ मत पाएको थियो भने तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४२ हजार ८ सय ५१ मत पाएको थियो । यस्तै चौथो स्थानमा रहेको विवेकशील साझाले ९ हजार ७ सय ७ मत पाएको थियो । चितवनमा एमालेभन्दा काँग्रेस १२ हजार ४ सय ३० मतले पछाडि परेको थियो । ०७४ को चुनावमा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले जिल्लाभरिबाट पाएको समानुपातिक भोट १४ सय मात्र थियो । उपेन्द्र यादव नेतृत्वको दलको मत त्यति पनि थिएन । दुवै मिलेर बनेको जसपाको चितवन जिल्लामा एकाध हजार बाहेक खासै जनमत छैन ।
हाल सत्ता गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले चितवनभरिबाट ०७४ को चुनावमा ५ सय मत मात्र पाएको थियो । बरु त्यस बेला सीपी मैनालीको नेकपा मालेले १ हजार, राप्रपा राष्ट्रवादीले १८ सय र थरुहट पार्टीले २ हजार समानुपातिक भोट पाएका थिए । समानुपातिकतर्फ राप्रपाले ०७४ को चुनावमा जिल्लाभरिबाट ८ हजार १७४ मत पाएको देखिन्छ । सबैभन्दा बढी प्रचण्डको क्षेत्रमा राप्रपाको समानुपातिक भोट ६ हजार १५९ खसेको थियो । प्रचण्डसँग चुनाव लडेका राप्रपा नेता विक्रम पाण्डेले नेपाली काँग्रेसको समेत साथ पाएर ३८ हजार ९३५ भोट बटुलेका थिए । जबकि यस क्षेत्रमा राप्रपाको समानुपातिक भोट ६ हजार १५९ मात्रै थियो । (यहाँ राप्रपाको समानुपातिक भोट ( राप्रपा प्रजातान्त्रिक र राप्रपाको संयुक्त जोडेर चर्चा गरिएको हो)
अब चितवनमा प्रमुख दलहरूले प्रत्यक्षतर्फ पाएको मतको विश्लेषण गरौँ ।
चितवनमा ०७४ को चुनावमा पार्टीले पाएको समानुपातिक भोट र व्यक्तिले पाएको भोटबीच ठूलो ग्याप देखिन्छ । किनभने, काँग्रेस र राप्रपाले आपसी तालमेल गरेका थिए भने एमाले र माओवादीले वाम गठबन्धन बनाएर चुनाव लडेका थिए । जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मत परिणाम यस्तो थियो–
चितवनः प्रत्यक्षतर्फ प्रमुख दलले पाएको मत (०७४ साल)
सुरेन्द्र पाण्डेले जितेको क्षेत्र नम्बर १
एमाले नेता सुरेन्द्र पाण्डे विजयी भएको चितवन क्षेत्र नम्बर १ मा समानुपातिक भोटतर्फ एमाले पहिलो स्थानमा थियो । एमालेले यो क्षेत्रमा कूल ३९ हजार ९ सय ३ मत पाएको थियो । एमाले र माओवादी केन्द्रको बाम गठबन्धनबाट चितवन क्षेत्र नम्बर १ मा एमालेका सुरेन्द्र पाण्डे ५१ हजार ८० मत ल्याएर विजयी भएका थिए ।
पाण्डेका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजेन्द्र प्रसाद बुर्लाकोटी ३५ हजार ३ सय ६० मत ल्याएका थिए भने तेस्रो स्थानमा विवेकशील साझाका नीरज रेग्मीले ७ सय १८ मत पाएका थिए ।
कृष्णभक्त पोखरेलले जितेको क्षेत्र नम्बर २
चितवन क्षेत्र नम्बर २ मा एमाले नेता कृष्णभक्त पोखरेल विजयी भएका थिए । पोखरेलले ४४ हजार ६ सय ७० मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका शेषनाथ अधिकारीले २७ हजार ३ सय १४ मत पाएका थिए । यस्तै तेस्रो स्थानमा रहेका विवेकशील साझाका भूपेन्द्रराज बस्नेतले १२ सय ४५ मत पाएका थिए ।
प्रचण्डले जितेको क्षेत्र नम्बर ३
क्षेत्र नम्बर ३ मा बाम गठबन्धनमा तर्फबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४८ हजार २ सय ७६ मत ल्याएका थिए भने काँग्रेस र राप्रपासहितको लोकतान्त्रिक गठबन्धनका तर्फबाट राप्रपाका विक्रम पाण्डेले ३८ हजार ९ सय ३५ मत पाएका थिए । तेस्रो स्थानमा नेकपा मालेका डम्बर श्रेष्ठले १५ सय ८७ मत पाएका थिए ।
प्रचण्ड विजयी भएको यस क्षेत्रको समानुपातिक मत हेर्दा काँग्रेस पहिलो स्थानमा थियो भने एमाले दोस्रो स्थानमा थियो । माओवादीले समानुपातिकतर्फ २२ हजार ९ सय ८८ मत पाएर तेस्रो स्थान हासिल गरेको थियो । त्यस्तै चौथो स्थानमा रहेको विवेकशील साझाले प्रचण्डको क्षेत्रमा २ हजार ८ सय ४६ समानुपातिक मत पाएको थियो । यहाँ एमालेभन्दा काँग्रेस १९ सय ८२ मतले अगाडि थियो भने माओवादी केन्द्रभन्दा एमाले ११ सय ६७ मतले अगाडि थियो । काँग्रेस र माओवादीको मतान्तर ३ हजार १ सय ४९ थियो । काठमाडौँमा जस्तै चितवनमा पनि एमाले, काँग्रेस र माओवादीपछि तेस्रो शक्तिका रूपमा रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टी अस्तित्वमा आएको थियो । प्रचण्डको निर्वाचन क्षेत्रमा भने विवेकशील चौथो र सीपी मैनाली नेतृत्वको नेकपा माले चौथो स्थानमा आएको थियो ।यद्यपि जिल्लाको चौथो दल निकै कमजोर रहेकाले हारजीतलाई प्रभावित पार्ने स्थिति देखिएको थिएन । आगामी चुनावमा प्रतिस्पर्धीबीच ग्याप कम भयो भने विवेकशील साझा, राप्रपा र थरुहट जस्ता पार्टीले पनि अर्थ राख्न सक्छन् ।
चुनावी तालमेलको जटिलता
एमाले, काँग्रेस र माओवादी केन्द्रले विशेष नजर राखेको चितवनमा आगामी स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कस्तो नतिजा आउँछ त्यो हेर्न लायक हुने अपेक्षा गर्न सकिन्छ । सबैको नजर परेको क्षेत्र नम्बर ३ बाट आगामी चुनावमा पनि राप्रपाका विक्रम पाण्डेले प्रचण्डसँग प्रतिस्पर्धा गर्ने सम्भावना रहेको जिल्लाका नेताहरू बताउँछन् । त्यसका लागि पाण्डेले एमालेको साथ खोज्नुपर्ने हुन्छ । तर, एमालेले यो क्षेत्रमा रामबहादुर थापा बादललाई उठाउने रणनीति बनाएको अवस्थामा पाण्डेले एमालेको साथ पाउन गाह्रो छ । यो जिल्लामा काँग्रेस–माओवादीको सत्तापक्षीय गठबन्धनसँग मुकाबिला गर्नका लागि एमालेले राप्रपासित गठबन्धन गर्ने सम्भावना छ । चितवनमा मात्र होइन, देशैभरि राप्रपा र एमालेबीच तालमेल हुने चर्चा छ । तर, चितवनको हकमा भने एमालेले राप्रपालाई कुन क्षेत्र छाड्ने भन्ने समस्या पर्ने देखिन्छ ।
किनभने, क्षेत्र नम्बर १ मा सुरेन्द्र पाण्डे र क्षेत्र नम्बर २ मा कृष्णभक्त पोखरेलले दाबी छाड्ने सम्भावना छैन । बाँकी, राप्रपाका अपेक्षाकृत धेरै मतदाता रहेको ३ नम्बर क्षेत्रमा एमालेले रामबहादुर थापा बादललाई प्रचण्डविरुद्ध उतार्ने हो भने राप्रपालाई चाहिँ एमालेले कुन क्षेत्र दिने ? यसमा जटिलता आउन सक्छ ।चुनावी तालमेलको जटिलता एमाले र राप्रपाका बीचमा मात्रै होइन, माओवादी र काँग्रेसका बीचमा पनि पर्न सक्ने देखिन्छ । एमाले फुटेको अवस्थामा चितवनका तीनवटै क्षेत्रमा एक्लै जित्न सकिने काँग्रेस नेताहरूको बुझाइ छ । त्यो स्थितिमा क्षेत्र नम्बर ३ मा प्रचण्डलाई सघाउने केन्द्रबाट निर्णय भयो भने पनि तलबाट बागी उठ्ने खतरा सत्तापक्षमा पनि छ ।
प्रचण्डको निर्वाचन क्षेत्रमा काँग्रेसको बागी उठेको स्थितिमा एमालेले प्रचण्डलाई हराउनका लागि विद्रोहीलाई साथ दिने खतरा पनि उत्तिकै देखिन्छ । किनभने, केपी ओलीले आगामी चुनावमा प्रचण्ड र माधव नेपाललाई जसरी पनि हराउने नीति लिन सक्छन् ।तर, नेपाली काँग्रेसले चितवनका दुईवटा क्षेत्र आफूले लिएर एउटा माओवादीलाई छाडिदियो र यसलाई जिल्ला तहबाट पनि सहजतापूर्वक लिइयो भने चितवनका तीनवटै क्षेत्रहरु एमालेले गुमाउनुपर्ने ‘खतरा’ पनि उत्तिकै देखिन्छ ।
स्रोत: रातोपाटी।