• २०८० चैत्र १५ गते बिहिवार
  • Preeti To Unicode

सुनिल शर्मा, भानुभक्त ढकाल बिरुद्ध रेखा थापाको प्रवेशले मोरङ ३ को प्रतिस्पर्धा रोचक


विराटनगर । मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका डा. सुनिल शर्मा र नेकपा एमालेको भानुभक्त ढकाल स्वभाविक उम्मेदवार हुन् ।२०७४ मा
प्रतिस्पर्धा गरेका उनीहरुले यसपटक चुनाव घोषणा नहुँदै निर्वाचन क्षेत्र केन्द्रित गतिविधि बढाएका थिए । यो क्षेत्रमा कांग्रेस र एमाले हाराहारीका शक्ति हुन् भने उम्मेदवारद्वय शर्मा र ढकालले

मतदाता रिझाउन स्थानीय स्तरमा सुनाउने एजेण्डामा पनि ठूलो अन्तर छैन ।यो प्रतिस्पर्धामा राप्रपा नेता एवं अभिनेत्री रेखा थापाको प्रवेशले रौनकता थपिएको छ । मोरङ–३ मै पर्ने सुन्दरहरैंचा नगरपालिकाको सलकपुर घर भएकी थापा भदौ दोस्रो सातादेखि नै निर्वाचन क्षेत्रमा खटिएकी हुन् । यो क्षेत्रमा राप्रपाको संगठन त छ, तर जनाधार बलियो छैन । त्यसमाथि एमाले र राप्रपा नेतृत्वबीच तालमेलका लागि छलफल भएकाले रेखाले यही क्षेत्रमा उम्मेदवारी दिनेमा धेरैले आशंका गरेका थिए ।किनकी एमालेका उम्मेदवार ढकाल थिए । उनलाई रोकेर एमालेले रेखालाई समर्थन गर्ने सम्भावना कम थियो । बरु रेखालाई मोरङकै अर्को क्षेत्रमा लैजान सक्ने नेताहरु बताउँथे । तर रेखा निरन्तर यसै क्षेत्रमा मतदाता भेटघाटमा व्यस्त रहिन् । मोरङमा एमालेसँग तालमेल पनि भएन र रेखाले मोरङ–३ बाटै प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिइन् ।चुनावी माहौलमा देखिएको दृश्यका कारण राप्रपाका नेताहरु मोरङ–३ लाई जित्ने सम्भावना भएको क्षेत्र भन्न थालेका छन् ।

हुन पनि चुनावी अभियानमा रेखाले माहौल बनाएकी छन् । पार्टीका युवालाई लिएर टोलटोलमा जाने उनी महिला, किशोरीलाई भेट्छिन्, उनीहरुका गुनासो धैर्यपूर्वक सुन्छिन् । स्थापित अभिनेत्री उम्मेदवार बनेर आउँदा उनलाई सुन्ने, भेटेर तस्वीर खिच्ने र आफ्नो भावना खुलेर राख्नेहरु पनि प्रशस्तै भेटिन्छन् ।यस्ता भेटहरुमा रेखाले आफूलाई नेताका रुपमा होइन, छोरी, दिदीबहिनीका रुपमा प्रस्तुत गर्छिन् । यो पटक आफूलाई जिताए भोलिभोलि अरु छोरीहरुले पनि चुनाव लड्ने साहस बटुल्ने बताउँछिन् । अरु उम्मेदवार जस्तो जितेर गएपछि हराउने होइन, मतदातामाझ आइरहने वाचा गर्छिन् ।राप्रपा उम्मेदवार रेखा थापा चुनावी अभियानमा जनताले साथ दिइरहेको बताउँछिन् । ‘मतदाताले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ’, उनले अनलाइनखबरसँग भनिन्, ‘माहोल राम्रो छ, हामी हाम्रा एजेन्डाहरु तयार गर्दैछौं ।’ थापाले भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्य र महिला सशक्तिकरणको मुद्दालाई चुनावी घोषणा पत्रमा समेट्ने तयारी गरेकी छन् ।

मुख्य प्रतिस्पर्धी मानिएका कांग्रेस र एमालेले पनि रेखालाई ‘नोटिस’मा राख्न थालेका छन् । उनले चुनाव जित्ने वा नजित्ने अनुमान गर्न हतार हुन्छ, तर उनले पाउने मत चाहिँ हारजितमा निर्णायक हुन सक्ने एमालेका एक नेताले बताए ।२०७४ को निर्वाचन परिणाम र स्थानीय निर्वाचन २०७९ को मतले पनि त्यही देखाउँछ । वाम गठबन्धनको साझा उम्मेदवार बनेका एमाले नेता भानुभक्त ढकाल ४२ हजार ४१३ मतका साथ विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सुनिल शर्माले ४० हजार ५०६ मत पाएका थिए । अरु ११ उम्मेदवारले १५०० मत कटाएनन् ।
स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मतका आधारमा एमालेको ३७ हजार ४१० मत देखिन्छ भने कांग्रेसको ३६ हजार ९१६ । माओवादी केन्द्रको ७ हजार ३७४, राप्रपाको २ हजार १२१, एकीकृत समाजवादीको एक हजार ८५५ र जनता समाजवादी पार्टी (जसपा) को ४६३ मत छ ।

नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्मा ।
कांग्रेस उम्मेदवार शर्मा विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेज सञ्चालक पनि हुन् । चुनावका क्रममा समेत शर्माले भोट माग्ने माध्यय ‘स्वास्थ्य शिविर’ लाई बनाएका थिए । त्यसकै बलमा उनले मत पाएका थिए । कम्युनिष्ट बाहुल्य क्षेत्र मानिने मोरङ–३ मा २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी र एमालेले पाएको मत कांग्रेसको भन्दा झण्डै दोब्बर थियो, तर ढकाल १९०७ मतान्तरले विजयी भएका थिए ।

अहिले पनि निर्वाचन मिति घोषणा भएयता शर्माले नोबेल मेडिकल कलेजको नामबाट पुनः स्वास्थ्य शिविर चलाइरहेका छन् । शर्माले नोबेल मेडिकल कलेजमा क्षेत्र नम्बर ३ का बासिन्दा भएको प्रमाण पेश गरे छुट दिन्छन् भने विरामी ल्याउन र लैजान सहुलियतमा एम्बुलेन्स सञ्चालन गरेका छन् । त्यसमाथि अघिल्लो पटक ढकाललाई साथ दिएको माओवादी केन्द्र र उनीसम्वद्ध एमालेबाट अलग भएको एकीकृत समाजवादीको साथ शर्मालाई छ ।तर मेडिकल माफियाको आरोप खेप्दै आएका उनीमाथि शक्तिको बलमा टिकट लिएको आरोप पनि लाग्ने गर्छ । त्यसैले गठबन्धनमा आवद्ध दलहरुको मात्र होइन, आफ्नै पार्टीको मत पनि जोगाउन उनलाई सजिलो छैन ।

नेपाली कांग्रेसले २०७४ को चुनावमा एमालेका भानुभक्त ढकालले गरेका सबै वाचा अधुरो भएकाले यसपटक कांग्रेस उम्मेदवार फराकिलो मतान्तरले जित्ने बताउँछन् । कांग्रेसका मोरङ जिल्ला सचिव मोदराज घिमिरे भन्छन्, ‘हामी ५ देखि ७ हजार मतान्तरले चुनाव जित्छौं’, उनले भने, ‘त्यहाँ हिजो जितेका उम्मेदवारले काम गर्न सकेनन्, हारेपनि हाम्रो उम्मेदवारले निरन्तर जनताको काम गरिरहे ।’

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाट राजनीतिमा आएका ढकाल तेह्रथुमका हुन्, तर सुरक्षित स्थान खोज्दै २०७४ मा मोरङ ३ मा आएका थिए । ‘टुरिष्ट’ उम्मेदवारको ट्याग लागेपछि उनले क्षेत्र नम्बर ३ मा पर्ने खोर्साने चोकमा घर बनाएका छन् । उनले यस क्षेत्रमा आफ्नो पहलमा सुरु भएका कामलाई पूरा गर्ने चुनावी एजेण्डा बनाएका छन् ।तर सुकुम्बासी समस्या समाधानका लागि गरेको बाचाले उनलाई यो पटक अप्ठ्यारो पर्न सक्छ । अघिल्लो पटक चुनाव प्रचारमा उनले भनेका थिए, ‘यसपालिको निर्वाचनमा सुकुम्बासी समस्या र भूमि माथिको दोहोरो स्वामित्वको जुन स्थिति छ, अर्काे चोटी निर्वाचनमा आउँदा कम्युनिष्ट पार्टीको उम्मेदवारले बोल्नुनपर्ने गरी यो समस्याको समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’

तर समस्या ज्यूँकात्यूँ छन् । स्वास्थ्यमन्त्री कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको र औषधि खरिद विवादमा मुछिएका कारण उनीमाथि प्रश्न उठ्ने छ ।एमालेले मोरङ ३ (क) मा किशोर राई र (ख) मा ज्ञानेन्द्र सुवेदीलाई उम्मेदवार बनाएको छ । यस्तै सत्ता गठबन्धनबाट भने (क) मा कांग्रेसका शेखरचन्द्र थापा र (ख) मा एकीकृत समाजवादीका लक्ष्मी श्रेष्ठ उम्मेदवार छन् ।

नेकपा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेल क्षेत्र नम्बर ३ मा राम्रो प्रतिस्पर्धा हुने बताउँछन् । विगतमा पनि जितेको क्षेत्र भएका कारण चुनाव जित्ने उनको दाबी छ । ‘अहिले विपक्षीले नेगेटिभ प्रचार गरिरहेका छन्’, उनले भने, ‘त्यहाँ प्रतिस्र्धा छ, तर नेकपा एमालेले चुनाव जित्छ ।

प्रकाशित मिति : २०७९ असोज २५ गते मङ्गलवार