• २०८० फाल्गुन २२ गते मङ्गलवार
  • Preeti To Unicode

जसपामा कलह चर्कियो, उपेन्द्रको सक्रियताविरुद्ध महन्थको वक्तव्य


काठमाडौं : वैकल्पिक सरकार गठनको तयारीसँगै संसद्को निर्णायक खेलाडी जनता समाजवादी पार्टीभित्र कलह चर्किएको छ। उपेन्द्र यादव र बाबुराम भट्टराई विपक्षी गठबन्धनमा सामेल भएर नयाँ सरकार बनाउने अभियानमा लागेका छन् भने महन्थ ठाकुर र राजेन्द्र

महतो यसमा सहमत छैनन्। प्रधानमन्‍त्री केपी ओलीले विश्‍वासको मत नपाएपछि वैकल्पिक सरकार बनाउने योजनामा उपेन्द्रको सक्रियता पार्टी निर्णय र लाइन विपरीत भन्दै महन्थले अलग्गै विज्ञप्ती निकालेका छन्।कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर उपेन्द्रले सोमबार बेलुका नै वैकल्पिक सरकार गठनको लागि प्रकिया थाल्‍न राष्ट्रपतिलाई आग्रह गर्दै संयुक्त वक्तव्य निकालेका थिए। सोमबार संसदमा प्रधानमन्‍त्रीले विश्‍वासको मत दिने क्रममा जसपा विभाजित भएको थियो। उपेन्द्र पक्षका १५ जनाले विपक्षमा मत हाले भने ठाकुर पक्षका १५ जना तटस्थ बसे र दुईजना अनुपस्थित रहेका छन्। त्रिशंकु संसद्को अंकगणितमा ३४ सिट भएको जसपा निर्णायक खेलाडीको भूमिकामा छ। उसले जसलाई समर्थन गर्‍यो उसकै सरकार बन्‍ने अवस्था छ। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउने आफ्नो पार्टीको प्राथमिकता नभएको बताएका छन्।

सोमबार राति एक विज्ञप्ति जारी गर्दै उनले ओली सरकारले जसपाका माग पूरा गरिरहेकाले वैकल्पिक सरकार गठनमा सामेल नहुने धारणा राखेका हुन्। ठाकुरले मधेशको मुद्दाको सवालमा नेपाल सरकार सहमतिअनुसार अगाडि बढिरहेको दाबी गरेका छन्। विज्ञप्तिमा भनिएको छ,‘विगत र हप्तादेखि मधेशी, आदिवासी जनजाती,थारु, महिला, दलित, मुस्लिम लगायत, सिमान्तकृतको महत्वपूर्ण सवालहरु मुद्दा फिर्ता, बन्दी रिहाई, नागरिकता संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न लगायतको विषयमा जनता समाजवादी पार्टी नेपाल र केपी शर्मा ओली नेतृत्वको सरकार बीचको वार्ता तथा तदनुसारका कार्य प्रगति सकरात्मक ढंगले अगाडि बढिरहेको तथ्य सर्वविदितै छ।’अहिलेको अबस्थामा सरकार बनाउने गतिविधिमा संलग्न हुनु मधेशको भावना विरोधी काम भएको समेत उनले बताएका छन्।

उनले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेकोसमेत बताएका छन्। वर्तमान राजनीतिक परिस्थितिमा जसपा नेपाल सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल उद्देश्य भएकाले अहिले वैकल्पिक सरकारमा सहभागि हुनुभनेको मधेश आन्दोलनको मर्म र भावना प्रतिकूल भएको जसपाको ठहर छ।ठाकुरले सरकारमा सहभागी हुँदा झन् अस्थिरता हुने र एजेण्डा सम्बोधनको कार्य अनिश्चितता तर्फ धकेलिने स्पष्ट पारेका छन्। अध्यक्ष ठाकुरले विज्ञप्तिमार्फत भनेका छन्, ‘एक जिम्मेवार राजनीतिक पार्टीको नाताले जसपा नेपाल मधेशी, आदिवासी जनजाती, थारु, दलित, महिला मुस्लिम लगायतका सिमान्तकृत, शोषित,

पीडित, उपक्षित समुदायको एजेण्डा सम्बोधन निम्ति निरन्तर प्रयासरत, कार्यरत र संघर्षरत रहनेछ।’प्रधानमन्त्री केपी ओली संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका अध्यक्षहरूले बहुमतीय सरकार गठनका लागि प्रक्रिया अघि बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई आह्वान गरेका थिए। संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गरेका थिए।

प्रकाशित मिति : २०७८ बैशाख २८ गते मङ्गलवार