• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

छोराको नाममा श्री ग्याँसको १५ प्रतिशत सेयर स्थानान्तरण गर्दै श्रम मन्त्री


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले श्री ग्याँस वानको सेयर जेठो छोरा अङ्कुश श्रेष्ठको नाममा स्थानान्तरण गरिदिने भएका छन् ।
आफ्नो नाममा रहेको उद्योगको १५ प्रतिशत सेयर श्रेष्ठले छोराको नाममा स्थानान्तरण गर्ने भएका हुन् ।श्रेष्ठले मन्त्रालय हेर्न पर्ने भएकाले नभ्याएको भन्दै छोराको नाममा सेयर ट्रान्सफर गर्ने

तयारी गरेको बताइएको छ । छोरा अङ्कुशको नाममा सेयर स्थानान्तरण गर्ने फाइल यतिबेला उद्योग विभागमा पुगेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले उद्योगको सेयर स्थानान्तरण गर्ने फाइल विभाग पठाइदिएको हो ।उद्योगमा ८५ प्रतिशत सेयर जापानी लगानीकर्ताको छ । उद्योगको बहुमत सेयर विदेशी लगानीकर्ताको नाममा रहेकाले कम्पनी रजिस्ट्रारको कार्यालयले सेयर स्थानान्तरण सम्बन्धी फाइल विभाग पठाइदिएको स्रोतले जानकारी दियो । सेयर स्थानान्तरणको फाइल पुगेपछि विभागले आवश्यक प्रक्रिया अगाडी बढाएको छ ।छोराको नाममा सेयर स्थानान्तरण गर्न जापानी लगानीकर्ताको स्वीकृति आइसकेको छ । सोही स्वीकृति बोकेर मन्त्री श्रेष्ठका निजी सचिव सेयर स्थानान्तरणको फाइल बोकेर विभाग पुगेका हुन् । सेयर स्थानान्तरण गर्नका लागि उद्योगको सेयर मूल्य ‘सेयर पर भ्यालू’ निकाल्नुपर्ने र सोहीअनुसार प्रक्रिया अगाडी बढ्ने विभागले जानकारी दिएको छ । प्रतिकित्ता सेयर मूल्य १०० रुपैयाँभन्दा बढी भएमा स्थानान्तरण गर्दा कर लाग्ने र सोभन्दा तल भए नलाग्ने विभागको भनाई छ ।

के छ सेयर स्थानान्तरणको प्रक्रिया ?
उद्योगको मुख्य लगानीकर्तासहित सम्पूर्ण लगानीकर्ताको स्वीकृति पेस गरेपछि विभागले सेयर स्थानान्तरणको सैद्धान्तिक सहमति दिन्छ । विभागको सैद्धान्तिक सहमति पाएपछि मन्त्री श्रेष्ठको नाममा रहेको सेयर छोराको नाममा नामसारी हुन्छ । यसलाई सेयर लगत भनिन्छ । कम्पनी रजिस्ट्रारले गर्ने ‘सेयर लगत’को एक कपि विभागमा पेस गर्नुपर्छ ।

श्रम मन्त्री किन बेच्दै छन् सेयर ?
मन्त्री श्रेष्ठको उद्योगबाट उत्पादन हुने श्री ग्याँसलाई गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन उत्पादन गरेको भन्दै मङ्सिर पहिलो साता कारबाही गरेको थियो । मन्त्रीकै उद्योगले गुणस्तरहीन उत्पादन गरेको भन्दै आलोचना खेप्नु परेको थियो ।

लगत्तै उनले आफ्नो नाममा रहेको उद्योगको सेयर छोराको नाममा स्थानान्तरण गर्न लागेको बताइएको छ । मन्त्री श्रेष्ठले आफ्नो कार्यकाल भएकै समयमा सेयर स्थानान्तरण सम्पन्न गर्न चाहेका छन् ।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार