काठमाडौंनेपाली कांग्रेसको १४ औं महाधिवेशनमा एउटा संयोग देखियो – एक अर्काका कटु आलोचक पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली,पुष्पकमल दाहाल ‘प्रचण्ड’
र माधव कुमार नेपाल एकै साथ देखिए। वर्ष दिन अघि सम्म एकै पार्टीमा रहेका र अहिले दलको नेतृत्व गरिरहेका नेताहरु एउटै मञ्चमा उभिए। तर, एक र अर्कालाई नजरअन्दाज गरे।
सबै राजनीतिक दलका नेताहरु उपस्थित उद्घाटन सत्रमा झण्डै वर्ष दिनपछि यी तीन नेताले एकै मञ्च सेयर गरे। कार्यक्रम सुरु हुनु अगावै प्रचण्ड र नेपाल मञ्चमा पुगिसकेका थिए। उद्घाटन कार्यक्रममा सबैभन्दा पछाडि आइपुगे नेकपा एमालेका अध्यक्ष ओली।त्यसैले धेरैलाई चासो थियो – आमने सामने हुँदा यी नेताहरुले कस्तो व्यवहार देखाउँछन्? एक अर्का विरुद्ध के भन्लान्? मंसिर १० गते चितवनमा भएको एमालेको महाधिवेशनमा नेपाललाई ओलीले निम्त्याउन चाहेनन्। एमालेलाई विभाजन गरी नेकपा (एकीकृत समाजवादी) गठन गरी अध्यक्ष भएका छन् नेपाल। एकीकृत समाजवादीलाई ओली र एमालेले पार्टी नै स्वीकार गरेको छैन। यता चर्को राजनीतिक द्वन्द्वकै बिच विभाजित भएको नेकपाबाट फेरि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई एमाले महाधिवेशनमा नडाकेको होइन। तर, प्रचण्डले एमाले महाधिवेशनमा सहभागिता जनाएनन्, आफ्नो प्रतिनिधिमात्र पठाए – लीलामणि पोखरेल।
महाधिवेशन उद्घाटन कार्यक्रमको मञ्चको अगाडि रहेका प्रचण्ड र नेपाललाई वास्तै नगरी उनी सिधै मञ्चको बिचमा रहेका कांग्रेस सभापति देउवासँग नमस्कार गर्दै हात मिलाउन पुगे। ओलीलाई कांग्रेस सभापति शेरबहादुर देउवाले उठेर नमस्कार गर्दै स्वागत गरे। ओली माधवकुमार नेपाल र प्रचण्डको अगाडिबाटै देउवातिर अघि बढेका थिए। ओलीले दुई नेतालाई वास्त गरेनन् भने नेपाल र प्रचण्ड दुवैले हात बाँधेर बसेको देखियो।
पूर्व नेकपाका तीन नेताको एकै मञ्चमा पहिलो पटकको उपस्थितिमा थोरै पनि सौहार्दता भने देखिएन। कांग्रेसमा शुभकामना दिन उभिएका तीनै नेताहरुले एक र अर्कालाई सम्बोधन समेत गर्न चाहेनन्। सम्बोधन गर्ने क्रममा तिनै जनाले एकमुस्ट सबैलाई सम्बोधन गरे- ‘विभिन्न राजनीतिक दलका नेताहरु।’यति हुँदाहुँदै पनि उनीहरुले एक अर्काको नाम नलिइ केही कटाक्ष भने गर्न भ्याए। सुरुमा मञ्चमा उभिएका एकीकृत समाजवादीका अध्यक्ष नेपालले ओली र एमालेको नाम नलिँदै निरंकुशता र प्रतिगामी तत्व भन्दै शीर नउठाउन चेतावनी दिए। त्यसपछि मञ्चमा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ओलीको नाम नलिइ उनीमाथि
‘अंहकारवाद’को आरोप लगाए।’ठूलो पार्टी भएँ भन्दैमा एक्लै हिँड्ने अहंकार भए ओरालो यात्रा लाग्छ। हामीले नेपालको इतिहासमा देखेकै छौँ,’ उनले भने। त्यसपछि पुगेका ओलीले एकीकृत समाजवादी र माओवादी केन्द्रलाई राजनीतिक दलको हैसियतमा नै नरहेको जस्तो देखाउँदै नेपालको समृद्धि नेपाली कांग्रेस एमालेले मात्र गर्ने बताए। उनले ‘गठबन्धन’ प्रति व्यङ्ग्य गरे।’हामी एक भएर हिँड्नुपर्छ भन्ने मात्र सुनेका छौँ,’ उनले भने, ‘एक भएर जाउँ भनेको के हो? सरकारमा सँगै जाउँ भनेको हो? केही केहीलाई सरकारबाट बाहिरिनुपर्छ भन्ने चिन्ता लाग्यो कि!’
उनले कसैको आलोचना नगर्ने भन्दै आलोचना गर्न आफ्नो पार्टीको मञ्च काफी भएको सुनाए। ओली बोल्दै गर्दा माइक बन्द भयो। ओलीले बाँकी कुरा देउवालाई भन्न आग्रह गर्दै सोफामा गएर बस्दै थिए। अन्तिममा प्रधानमन्त्री देउवाले प्रचण्ड र ओलीलाई नमस्कार गर्न लगाए। प्रचण्ड उठेर देउवासँग बिदा लिँदै थिए। देउवाले ओलीलाई कोट्याउँदै एकअर्कालाई नमस्कार साटासाट गर्न लगाए। दुवैले नमस्कार गरे। अनि प्रचण्ड विदा भए। ओली भने फेरि माइकतिरै लागे।