• २०८० चैत्र २८ गते बुधवार
  • Preeti To Unicode

देखिएलान् ओली, प्रचण्ड र नेपाल एउटै मञ्‍चमा ?


काठमाडौंनेपाली कांग्रेसको १४‌ औं महाधिवेशन आजबाट सुरु हुँदैछ। महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु हुन लागेको हो। शुक्रबार दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन्।महाधिवेशनमा कांग्रेसले संसदमा प्रतिनिधित्व गरिरहेका सम्पूर्ण राजनीतिक दलका प्रमुखलाई निम्ता दिइसकेको छ।

विदेशी राजनीतिक दलका प्रतिनिधिहरु पनि कार्यक्रममा सहभागी हुन काठमाडौं आइपुगिसकेका छन्।महाधिवेशनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु सहभागी हुनेछन्।तर, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भने अस्वस्थ छन् । स्वास्थ्यमा समस्या देखिएपछि ओली बिहीबारका कार्यक्रममा पनि सहभागी भएनन्। आज हुने कांग्रेस महाधिवेशनमा भने उनी जाने-नजाने टुंगो छैन। यदि उनी गए भने ओली, प्रचण्ड र नेपाल लामो समयपछि एउटै मञ्चमा देखिनेछन्।यसअघि चितवनमा भएको नेकपा एमालेको १० औं महाधिवेशनमा नेपाल र प्रचण्ड सहभागी भएनन्। प्रचण्डलाई निम्तो दिए पनि उनी आफू नगएर उपाध्यक्ष लिलामणि पोख्रेललाई पठाएका थिए । नेपाललाई भने ओलीले निम्तो नै दिएनन्।

पार्टी विभाजनपछि एकअर्कालाई आरोप प्रत्यारोप लगाउँदै आएका यी तीन शीर्ष नेताहरु एउटै मञ्चमा देखिएका छैनन् । यदि संयोगवस कांग्रेस महाधिवेशनले तीनै नेतालाई एउटै मञ्चमा भेट्ने अवसर जुरायो भने उनीहरुको भाउभाउ कस्तो रहला ? त्यो भने हेर्न बाँकी छ।उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको छ। सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ। उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ। सबैतिर मञ्चको आवाज सुनिने गरी ठूला साउण्ड सिष्टम राखिएको छ।महाधिवेशनस्थल पार्टीका झण्डा र चुनाव चिह्न रुख अङ्कित झण्डाले सिँगारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागत द्वार राखिएको छ। त्यसैगरी महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ।

यस महाधिवेशनमा चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहनेछन्। अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइसकेको र उनीहरुका लागि आवश्यक महाधिवेशनसम्बन्धी विवरणसहितको झोला वितरण गर्ने काम बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपाबाट सुरु गरिसकिएको पार्टी कार्यालयले जनाएको छ।महाधिवेशन प्रतिनिधिहरुका लागि खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपको बगैँचामा हुने र बासका लागि सुन्धाराका विभिन्न होटलमा व्यवस्था गरिएको छ। त्यसैगरी बन्दसत्र हुने भृकुटीमण्डपको हलमा पनि ठूलो मञ्च तयार हुनुका साथै हलभित्र पनि सात वटा डिस्प्ले राखिएको छ। महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारीको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाएको छ।

त्यसैगरी पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे हुनेछ। उम्मेदवार मनोनयन दर्ता मङ्सिर २५ गते बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ मङ्सिर २५ गते साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णय मङ्सिर २५ गते साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ।उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्सिर २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय मङ्सिर २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन मङ्सिर २६ गते दिउँसो १२:१५ बजे र मतदान मङ्सिर २७ गते बिहान ८ बजेदेखि हुने समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

सभापति पदको मतगणना मतदान समाप्त भएपछि हुनेछ। सभापति पदको दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएमा राष्ट्रियसभा गृह, भृकुटीमण्डपमा लगत्तै गरिनेछ र सो निर्वाचनसम्बन्धी थप कार्यक्रम मतदान स्थलमा नै प्रकाशन गरिने समितिले जनाएको छ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार