काठमाडौं नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधिले आफ्नो समूहमा चार जना युवा नेताहरू आउने दावी गरेका छन् ।सीआईएन नामक एउटा रेडियो कार्यक्रम सँगको अन्तर्वार्तामा उप–सभापति निधिले विश्वप्रकाश शर्मा, गगनकुमार थापा, एनपी साउद र चन्द्र भण्डारीसँग कुराकानी गरेको बताएका छन् । उनले यी चार जना नेताहरूसँग सम्पर्कमा
रहेर आफ्नो गुटमा ल्याउन कुराकानी गरिरहेको बताए ।गगन थापाले नेता कृष्णप्रसाद सिटौलाको टिम छाडेर कहिले प्रकाशमान सिंह, कहिले शेखर कोइराला, कहिले रामचन्द्र पौडेलभन्दै दोहोरो चरित्र देखाउँदै आएका छन् । थापालाई उनका ससुरा अर्जुन नरसिंह केसी र काका ससुरा जगदीश्वर नरसिंह केसीले यता र उता बनाउँदै आएका छन् । युवा नेता थापा अहिले आएर टिम बिहीन बन्न पुगेका छन् ।विश्वप्रकाश शर्मा पनि टिम बिहीनको अवस्थामा पुग्दै छन् । सभापति शेरबहादुर देउवाले शर्मालाई प्रवक्ताको जिम्मेवारी दिएर पार्टीमा क्रेन लगाएर माथि तानेका थिए । अहिले आएर शर्माले देउवालाई धोका दिएर निधिको टिमबाट महामन्त्री पदमा उम्मेदवार बन्ने गोप्य साँठगाँठमा लागेका छन् ।निधिलाई सभापतिमा खुलेर प्रचार गरिरहेका प्रवक्ता शर्माले देउवासँग महामन्त्री पद माग गरिरहेका छन् । शर्माको यो हर्कतलाई देउवाले रुचाएका छैनन् । शर्मालाई सह–महामन्त्री पनि धेरै ठूलो हुने चर्चा हुने गरेको छ ।
देउवा समूहमा लागेर लाभ लिएका एनपी साउदका हर्कतहरू निकै नै शंकास्पद रहेका छन् । कञ्चनपुर जिल्लाको कांग्रेसको अधिवेशनमा साउदले देखाएको गतिविधि देउवाविरुद्ध रहेको भनेर रिपोर्टिङ भएको छ । केन्द्रीय सदस्य पद समेत थेग्न नसकेका साउदले महामन्त्रीको दाबी गरिरहेका छन् ।देउवाले महामन्त्री पद नदिएमा निधिको ‘ग्याङ’मा जाने गरेर गोप्य वार्ता र सम्वादहरू गरिरहेको कुरा स्वयं निधिले आफ्नो अन्तर्वार्तामा भनेका छन् । साउदका पछिल्ला गतिविधिहरू देउवालाई सहयोग गर्नेभन्दा पनि असहयोग गर्ने खालका छन् । उनले हैसियतभन्दा ठूलो पद महामन्त्री माग गरेर सबैलाई चकित बनाएका छन् ।
‘इतर वितर’ बनेका चन्द्र भण्डारीले अहिलेसम्म गुटको जरो समात्न नसकेका बेला निधिले स्थान दिने भनेर गुन लगाएका छन् । कांग्रेसमा भण्डारी सबैभन्दा अस्थिर नेताका रुपमा परिचित छन् । उनलाई कुनै पनि गुटले विश्वास गरेका छैनन् । उप–सभापतिमा उम्मेदवार बन्ने तयारी गरेका भण्डारीले कुनै पनि गुट नपाएपछि निधिको गुटबाट उप–सभापति बन्ने योजनामा रहेको निधिको अन्तर्वार्ताले पुष्टि भएको छ ।
सभापतिमा उम्मेदवारी घोषणा गरेर प्रचार प्रसार गरिरहेका निधिले प्रकाशमान सिंह, शशांक कोइराला र शेखर कोइरालासँग पनि नियमित सम्पर्कमा रहेको बताएका छन् । उनले आफूलाई सभापतिमा सहयोग गर्न प्रकाशमान, शशांक र शेखर पनि सकारात्मक रहेको बताएका छन् ।सभापति शेरबहादुर देउवाको गुटमा रहेर सबैभन्दा धेरै लाभ लिएका स्वार्थी नेताका पहिचान बनाएका निधिले विश्वप्रकाश शर्मा, गगन, एनपी साउद र चन्द्र भण्डारीलाई आफ्नो गुटमा ल्याउन गोप्य वार्ताहरू गरिरहेको बताएका हुन् ।