• २०८१ पुष ८ गते सोमवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० आश्विन २३ गते मङ्गलवार। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० आश्विन २३ गते मङ्गलवार तदनुसार ई. सं. २०२३ अक्टोबर १० तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४३, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५२ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे, चन्द्रास्त : दिउँसो ०२:१६ बजे र चन्द्रोदय : मध्यरात्रीपछि ०२:०५ बजे, काठमाण्डौ,

नेपालमा सूर्योदय : बिहान ०६:०१ बजे र सूर्यास्त : साँझ ०५:३९ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०७ बजे र सूर्यास्त : साँझ ०५:४५ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:२२ बजे र सूर्यास्त : साँझ ०५:५९ बजे, आश्विन कृष्ण (पितृ) पक्ष (ञलागा) एकादशी तिथि, दिउँसो ०३:३१ बजेसम्म, त्यसपछि द्वादशी तिथि, अश्लेषा नक्षत्र, बिहान ०७:२६ बजेसम्म, त्यसपछि मघा नक्षत्र, चन्द्रमा कर्कट राशिमा, बिहान ०७:२६ बजेसम्म, त्यसपछि सिंह राशिमा, साध्य योग, बिहान १०:२५ बजेसम्म, त्यसपछि शुभ योग, सुरुमा बालब करण दिउँसो ०३:३१ बजेसम्म, त्यसपछि कौलव करण भोलि बिहान ०४:३५ बजेसम्म, अन्तिममा तैतिल करण, आनन्दादि योग : आनन्द, चन्द्रवर्ण : सेतो (बिहान ०७:२६ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : उत्तर (बिहान ०७:२६ बजेसम्म), त्यसपछि पूर्व, योगिनीदिशा : आग्नेय (दिउँसो ०३:३१ बजेसम्म), त्यसपछि नैऋत्य, वारशूल : उत्तर, वाणपञ्चकमध्ये नृप (राज) वाण : दिउँसो ०२:२४ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : पश्चिम र पाशको दिशा : पूर्व, आज : श्री इन्दिरा एकादशी व्रत, सोह्र श्राद्धअन्तर्गत एकादशी श्राद्ध, फर्पिङमा हरिशङ्कर यात्रा, मघा श्राद्ध, विश्व मानसिक स्वास्थ्य दिवस, आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–

२४ गते : सोह्र श्राद्धअन्तर्गत द्वादशी श्राद्ध, सन्न्यासी, यति, ब्रह्मचारी र वैष्णवजनको श्राद्ध, गैर आवासीय नेपाली दिवस, मुहूर्त : धान्यच्छेदन (मुठी लिने), २५ गते : श्री गुरु प्रदोष व्रत (मन्त्रसिद्धि तथा शत्रुविजयहेतु), सोह्र श्राद्धअन्तर्गत त्रयोदशी श्राद्ध, कलियुगादि, जुम्ला खलङ्गामा चन्दननाथको लिंगो ठड्याउने दिन, २६ गते : सोह्र श्राद्धअन्तर्गत चतुर्दशी श्राद्ध (शस्त्रादिबाट अकालमा मरेकाहरूको श्राद्ध), प्राणनाथजीको जन्मोत्सव (कृष्णप्रणामी), नलास्वन चह्रे पूजा

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम गर्ने मौका आउला। प्रतीक्षित नतिजा सबल नै रहनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
फाइदा मात्र हेर्दा आलोचित भइनेछ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। तर दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ। हतारको निर्णयले हानि हुन सक्छ, आफ्नो योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। आफन्तमा मतभेद देखिए पनि परिवारजनको सहयोगले काम बन्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनुपर्ला। सामान्य उपलब्धि हातपार्न पनि समय लाग्नेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। आफ्नै सहयोगीले समेत साथ नदिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहाेला। मिहिनेतले आंशिक सफलता भने दिलाउनेछ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। अर्थअभाव खट्किनाले चिताएको काम पूर्ण नहुन सक्छ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ। वैदेशिक रोजगारीमा हुनेहरूलाई फाइदा हुनेछ। तर खर्चिलो काम गर्नुपर्ने हुँदा धेरै रकम जुटाउनुपर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम सम्पादन हुनेछ भने जिम्मेवारी समेत बढ्नेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। समय र कामकाे तालमेल नहुँदा केही पछि परिनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्। उपलब्धिविहीन काममा समय र बुद्धि खर्चनुपर्ला। तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। फाइदा कमै भए पनि तारिफयोग्य काम थालनी गर्न सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफ्ना कमजोरी बाहिरिनाले समस्या पर्ला। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। जीवनशैली व्यस्त रहनेछ र उपलब्धिहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। नयाँ योजनातर्फ लगानीमा जोखिम बढ्नेछ। अवसर प्राप्त भए पनि आफ्नैले काम बिगार्न सक्छन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ। काममा धन र श्रम खर्चनुपर्ला। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। आफ्नो वस्तुमा अरूले दाबी गर्लान्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
समय लागे पनि काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। व्यापारमा आम्दानी बढाउन सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ। स्वास्थ्य समस्या र शत्रुबाधा देखापर्ने हुँदा काम राेकिन सक्छ। तापनि मिहिनेतले उपलब्धि दिलाउनेछ। लेनदेन तथा हिसाबकिताबमा होसियार रहनुहोला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। काममा व्यस्तता बढे पनि अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ।

प्रकाशित मिति : २०८० असोज २३ गते मङ्गलवार