• २०८१ जेष्ठ ९ गते बुधवार
  • Preeti To Unicode

बुटवलमा लग्यो कर्फ्यु


बुटवल । रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा उत्पन्न स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै स्थानीय
प्रशासनले कर्फ्यु लगाएको छ ।आइतबार ४ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्मका लागि पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज

वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका-१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यु जारी गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा उल्लेख छ । औद्योगिक क्षेत्रको जग्गामा अस्थायी रुपमा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाउँदा केही घाइते भएका छन् ।
रुपन्देहीको निर्माणाधीन मोतीपुर औधोगिक क्षेत्रमा जग्गा कब्जा गरी बस्नेहरु र सुरक्षाकर्मीबीच झडप हुँदा गोली चलेको छ । गोली चल्दा सुरक्षाकर्मीसहित ६ जना घाइते भएका छन् ।निर्माणाधीन औद्योगिक क्षेत्रमा घरटहरा बनाई बस्नेहरुलाई हटाउने क्रममा सुरक्षाकर्मीसँग झडप हुँदा गोली चलेको बताइएको छ । आइतबार बिहानैदेखि जिल्ला प्रशासनले औधोगिक क्षेत्रमा ठूलो संख्यामा प्रहरी खटाएको थियो ।

रुपन्देही जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सत्यनारायण थापाले दिउँसो साढे १ बजेतिर कब्जा गरेको जग्गाबाट व्यक्तिहरु हटाउने क्रममा गोली चलेको बताए ।स्थानीय बासिन्दाहरुले दुवैतर्फबाट गोली चलेको दावी गरेका छन् । डिएसपी थापाले भने सुरक्षाकर्मीसहित अरु पनि घाइते भएकाले घटनाबारे थप अनुसन्धान गरेको बताएका छन् ।

रुपन्देही प्रशासनले त्यस क्षेत्रमा भएको जग्गा कब्जा हटाउन आइतबार बिहानैदेखि ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । रुपन्देहीको बुटवल र आसपासका स्थानीय तह जोडेर २०७२ सालमा सरकारले औधोगिक क्षेत्र घोषणा गरेको थियो ।साथै २०७३ मा ८१३ बिगा क्षेत्रफल जग्गामा मोतीपुर औधोगिक क्षेत्रको नाममा पुर्जासमेत बनेको छ । पछिल्लो समय बुटवल क्षेत्रमा पर्ने करिब २०० बिघा क्षेत्रफल कब्जा गर्दै ४०० घरटहरा निर्माण गरिएका छन्।

कब्जा गरिएको जग्गा हटाउन भदौ २९ देखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।एक दिनअघि मात्रै नेकपा एमालेका नेता विष्णु पौडेलले गृहजिल्ला रुपन्देही पुगेर निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमण हुँदा सरकार रमिते भएको आरोप लगाएका थिए । उनले भनेका थिए, ‘मोतीपुर औद्योगिक क्षेत्रको काम जुन लक्ष्य र उद्देश्यबाट अगाडि बढाइएको हो त्यसअनुसार नभए त्यसमा उद्योगीहरुले नै पहलकदमी लिनुपर्छ ।

प्रकाशित मिति : २०७८ असोज २४ गते आइतवार