काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
इजलासको आदेश यस्तो छ :
प्रतिवादी रवि लामिछानेको हकमा रवि लामिछानले उक्त रकम गोर्खा मिडया नेटवर्क प्रालिको नाममा संचालनमा रहेको ग्लोबल आइएमई बैंकको खाता नम्बर बाट सन् २०२१ १ २२ मा जम्मा गरेको देखिँदा सहकारीको रकम निज प्रतिवादीको खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको र अन्य प्रतिवादीसँगको अन्तरसम्बन्ध तथा बैंक खाताको ट्रान्जेक्सनको आधारमा प्राप्त प्रमाणबाट निज प्रतिवादी अहिले नै कसुरदार रहेनछन् भन्न सकिने मनासिव आधार नदेखिएता पनि तत्काल माथि उल्लेखित प्रमाणबाट पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने नै हुँदा निज प्रतिवादी रवि लामिछानेबाट फौजदारी अपराध कार्यविधि संहिताको ०६८ र ०७२ समेतको आधारमा धरौटीको ६५ लाख लिई वा सो बराबरको जेथा वा बैंक जमामत लिई वा दिन नसकेमा दफा ८० बमोजिम थुनामा राख्नू ।
सूर्यदर्शन सहकारी ठगी प्रकरण : धरौटी बुझाएर छुटे तीन जना
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतको आदेशपछि धरौटी बुझाएर तीन जना छुटेका छन् ।बिहीबार न्यायाधीश नीतिज राईको इजलासले रवि लामिछानेसहितलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।अदालतको आदेशपछि कृष्ण गुरुङ, मिना गुरुङ र आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् ।
अदालतले कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरेको थियो । यस्तै अदालतले लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरेको छ ।