• २०८१ भाद्र ३१ गते सोमवार
  • Preeti To Unicode

सरकारमा माधव नेपालको टेको : प्रेम र किसान


काठमाडौँ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति हुन्, माधवकुमार नेपाल । आफ्नै पार्टीका अध्यक्ष केपी
शर्मा ओली प्रधानमन्त्री भइरहेका बेला उनीविरुद्ध विपक्षी गठबन्धनमा बसेर पदबाट हटाउने निर्णय गर्न सक्ने नेता नेपालको आफ्नै टेकोचाहिँ प्रेम आले र कृष्ण

कुमार श्रेष्ठ ‘किसान’ बनेका छन् । शुक्रबार भएको मन्त्रिपरिषद् विस्तार नेकपा (एकीकृत समाजवादी)को तर्फबाट चार जना मन्त्री र एक राज्यमन्त्री बनेकोमा दुई जना आले र श्रेष्ठ पनि परे । मन्त्रिपरिषद् विस्तारमा रामकुमारी झाँक्री, विरोध खतिवडा र राज्यमन्त्रीमा भवानी खापुङ समेटिए पनि विवादित पृष्ठभूमिका आले र श्रेष्ठका लागि त्याग गर्नेमा परे मेटमणि चौधरी जस्ता व्यक्ति । आले र श्रेष्ठ दुबै व्यापारिक पृष्ठभूमिका सांसद हुन् । आले वन पैदावरसम्बन्धी कारोबारमा विवादमा आएका व्यक्ति हुन् भने श्रेष्ठमाथि गत वर्ष जसपाका सांसदलाई जनकपुरबाट जबरजस्ती उठाएर ल्याउने घटनामा पनि जोडिए ।नेकपा (एस) गठन हुनेबित्तिकै सरकारमा जाने विषय निश्चित थियो । नेकपा (एस)भित्र सुरुदेखि नै २ जना सांसदको मन्त्रीको सूचीमा आले र श्रेष्ठ नाम छुटेन । उनीहरूको चयनको बिषयलाई नेकपा (एस)ले भूगोलको प्रतिनिधित्वको मापदण्डको रुपमा व्याख्या गरेको छ ।

मन्त्री छनोट आवश्यकता र समावेशिताको मापदण्ड अपनाएर निर्माण गरेका हौं’ नेकपा (एस) प्रवक्ता जगन्नाथ खतिवडाले ईकान्तिपुरसँग भने, ‘भूगोललाई पनि हेरेका हौं ।’ खतिवडाकाअनुसार आलेले सुदूरपश्चिम, श्रेष्ठले गण्डकी क्षेत्र, झाँक्रीले युवा, जनजाति र महिला तथा खापुङले पूर्व क्षेत्रको प्रतिनिधित्व गर्ने बताए ।
आले र श्रेष्ठ मन्त्रिपरिषद्मा जसरी पनि मन्त्रिपरिषद्मा लैजानुपर्ने बाध्यतामा अध्यक्ष माधव नेपाल त्यत्तिकै परेका होइनन् । किनकि नेकपा (एस)को गठनमा उनीहरूको निर्णायक भूमिका छ । त्यसैले मन्त्रिपरिषद्मा नपठाउँदा नेकपा (एस)मा निकै ठूलै भूइँचालो आउने अवस्था बन्यो ।नेकपा र एमालेभित्र विवाद निर्णायक चरणमा रहँदा आले र श्रेष्ठ दुवै एमाले अध्यक्ष ओली निकट थिए । पहिलो र दोस्रो पटक संसद् विघटन हुँदा पनि ओलीलाई उनीहरूले साथ दिँदै आएका थिए । दोस्रोपटक संसद् पुन:स्थापना भएसँगै दुवैले ओलीको साथ छाडेका हुन् ।

एमालेभित्रको अन्तरविरोधमा स्थायी कमिटीका १० जना सदस्यहरूले नेपालको साथ छाड्दा आले र श्रेष्ठसहित ८ जना सांसदहरु ओलीको साथ छाडेर नेपालतर्फ लागेका थिए । ‘अहिले आले र श्रेष्ठलाई मन्त्री बनाउनुको पछिल्लो समय जोडिएका ८ सांसदलाई एक टिक्का राख्नु हो’ एक स्थायी कमिटीका सदस्यले भने ।उनीहरूलाई मन्त्री बनाउनुका पछाडि ‘अर्थ–राजनीतिक’ सम्बन्ध देख्ने पनि छन् । ‘ यिनीहरू आवश्यक परेको समयमा रकम निकाल्न सक्ने नेता हुन्’ एक नेताले भने,‘अहिले भर्खर पार्टी गठन भएको छ ।’ आले काठको ठेक्कापट्टाबाट पैसा कमाएपछि राजनीतिमा आएका हुन् भने श्रेष्ठ तनुहँका ठूला व्यापारीमध्येमा पर्दछन् ।

पहिलोपटक संसद् विघटन गरेलगत्तै तत्कालीन प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् गत पुस १२ गतेमा पुनर्गठन गर्दा आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिएका थिए । छोटो समय मन्त्री बनेका आलेका अभिव्यक्ति र कामहरु विवादमा परे । उनको कार्यकाल लामो हुन सकेन । प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधिसभाको विघटन गरेलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्दा आलेलाई हटाए । छोटो समय मन्त्री बनाएको भन्दै आले ओलीसँग आक्रोशित थिए । त्यसपछि आले नेपालसँग जोडिए ।
कांग्रेसका रामचन्द्र पौडेललाई चुनाव हराएर प्रतिनिधिसभामा तनहुँ १ बाट प्रतिनिधित्व गर्ने श्रेष्ठ राष्ट्रिय राजनीतिमा चर्चा भने २०७७ वैशाखमा तत्कालीन समाजवादी पार्टी नेपालका सांसद अपहरणमा संलग्न भएको आरोप लागेपछि आएका हुन् ।

समाजवादी पार्टीलाई विभाजन गर्नका सांसद श्रेष्ठ, एमालेका युवा नेता महेश बस्नेत र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महोत्तरी डा. सुरेन्द्र यादवलाई दबाब दिएर काठमाडौं ल्याएको आरोप लाग्दै आएको छ ।वामदेव गौतमको साथ लागेर ओली क्याम्पमा पुगेका श्रेष्ठको ओलीसँग निकटता बढेपछि गौतमको साथ छाडेका थिए । श्रेष्ठले ओलीले मन्त्री बनाउँछन् भन्ने ठूलो आश गरेका थिए र त्यस प्रकारको आश्वासन पनि पाएका थिए । मन्त्री बन्न निकै प्रयास गर्दा नभएपछि नयाँ सत्ता गठबन्धन बनेमा फाइदा हुने देखेर श्रेष्ठ नेपालसँग जोडिन आइपुगे ।

‘कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेको र अर्को पटक चुनावमा के हो के हो भन्ने भएका श्रेष्ठले मन्त्री नपाएको कारण श्रेष्ठ ओलीको साथ छाडेका हुन्’, नेकपा (एस)का एक नेताले भने ।
कान्तिपुर दैनिक मा खबर छ।

प्रकाशित मिति : २०७८ असोज २२ गते शुक्रवार