नवनियुक्तमन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन्।मन्त्रीहरुलाई शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी
हुन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिएसँगै मन्त्री भएकाहरुले सपथ लिएका हुन् । २५ सदस्यीय मन्त्रिपरिषदमा आज मन्त्री र राज्यमन्त्री गरी १९ जना
थपिएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । देउवाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक राखेका हुन् । बैठक केहीबेरमै सुरु हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ भने उनीहरुको राष्ट्रपति भवन शीतल निवासमा साँझ शपथ भएको थियो । शपथलगत्तै बैठकमा सहभागी हुन मन्त्रीहरु सिंहदरबारतिर लागेका छन् । आज राष्ट्रपतिले १६ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएका हो । मन्त्रिपरिषद्का बैठकपछिमात्रै नवनियुक्त मन्त्रीहरुको पदभार हुनेछ ।
पहिलो बैठक–जनअपेक्षा अनुसार काम गर्न देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद्ले पूर्णता पाएलगत्तै शुक्रबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकता अनुसार उत्साह र इमानदारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन् ।
त्यस अवसरमा उनले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्ण सफलताको कामना समेत गरेको नवनियुक्त सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीलाई तोक्ने निर्णय गरेको छ । त्यसैगरी मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धि मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषदका समितिहरुलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।
यसैबीच, सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेको बताए । उनले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताए । प्रवक्ता कार्कीले हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तर्क समेत गरे ।