• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८० मङ्सिर २० गते बुधवार। श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८० मङ्सिर २० गते बुधवार तदनुसार ई. सं. २०२३ डिसेम्बर ०६ तारिख, पिङ्गल नामक संवत्सर, सूर्य दक्षिणायन, हेमन्त ऋतु, कलिगत ५१२४, शाके १९४५, नेपाल सं. ११४४, किरातवर्ष ५०८३, मञ्जुश्री वर्ष २८५९, हिजरी सं. १४४५, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३२ बजे र सूर्यास्त : साँझ ०५:०२ बजे, चन्द्रास्त : दिउँसो १२:२८ बजे र चन्द्रोदय : मध्यरात्रीपछि १२:१९ बजे, काठमाण्डौ,

नेपालमा सूर्योदय : बिहान ०६:४२ बजे र सूर्यास्त : साँझ ०५:०८ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:४९ बजे र सूर्यास्त : साँझ ०५:१२ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०७:०५ बजे र सूर्यास्त : साँझ ०५:२५ बजे, मार्गशीर्ष कृष्णपक्ष (कछलागा) नवमी तिथि, मध्यरात्रीपछि ०१:१२ बजेसम्म, त्यसपछि दशमी तिथि, उत्तराफाल्गुनी नक्षत्र, भोलि बिहान ०५:३५ बजेसम्म, त्यसपछि हस्ता नक्षत्र, चन्द्रमा सिंह राशिमा, बिहान ०९:४३ बजेसम्म, त्यसपछि कन्या राशिमा, प्रीति योग, मध्यरात्रीपूर्व ११:३० बजेसम्म, त्यसपछि आयुष्मान् योग, सुरुमा तैतिल करण दिउँसो १२:१२ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०१:१२ बजेसम्म, अन्तिममा वणिज करण, आनन्दादि योग : प्रवर्द्ध, चन्द्रवर्ण : रातो (बिहान ०९:४३ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (बिहान ०९:४३ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : पूर्व, वारशूल : उत्तर, वाणपञ्चकमध्ये अग्नि वाण : बिहान ०६:२४ बजेदेखि भोलि बिहान ०५:५८ बजेसम्म, नक्षत्र शूल : उत्तर, कालराहु चक्रमा कालको दिशा : नैऋत्य र पाशको दिशा : ईशान, आज कुनै विशिष्ट चाडपर्व छैन र कुनै मुहुर्त पनि जुरेको देखिदैन ।

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– २१ गते : गुह्येश्वरी यात्रा, अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), अन्नप्राशन (पास्नी), पसल थाप्ने (दोकान खोल्ने)२२ गते : उत्पत्तिका एकादशी व्रत (नयाँ व्रतालुले एकादशीको व्रत सुरु गर्ने दिन), राष्ट्रिय निर्माण दिवस, मुहूर्त : शिववास (रुद्रीपूजा÷रुद्राभिषेक), २३ गते : द्विपुष्कर योग राती ०९:३७ बजेपछि, मुहूर्त : शुभ विवाह, अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा÷रुद्राभिषेक)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामको अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तापनि चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ। ईर्ष्या गर्नेहरू पछि पर्नेछन्। व्यापारमा लाभ हुनेछ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ। आफन्तजनले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका आफन्त र साथीभाइ नजिकिनेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले हिसाबकिताबमा होसियार रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आत्मविश्वासको कमीले पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दु:ख पाइनेछ। फजुल खर्च बढ्न सक्छ। वादविवादबाट टाढा रहनुहोला। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
दिन रमाइलो रहनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने कामको सफलताले नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। आँटले काम लिन नसक्दा पछि परिनेछ। अहिलेको फाइदा हेर्दा पछिको फाइदा घट्नेछ। कामको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउनेछन्। सानातिना काममै अल्झनुपर्दा उद्देश्य प्राप्त गर्न मुस्किल पर्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
फाइदा कम भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला। दिगो कामको जग बसाउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। पेसातर्फ केही समस्या आउन सक्छन्। गोप्य सूचना बाहिरिनाले काम राेक्नुपर्ने स्थिति आउन सक्छ। अर्थअभाव सामना गर्नुपर्ने देखिन्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न बाधा पर्नेछ। आजको यात्रा र आतिथ्य खर्चिलो बन्नेछ। समय लागे पनि मिहिनेतले काम बन्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सान्निध्यले दिन रमाइलो रहनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ।

प्रकाशित मिति : २०८० मङ्सिर २० गते बुधवार