• २०८१ असोज २९ गते मङ्गलवार
  • Preeti To Unicode

एमालेले १५ लाख पाटी सदस्य बनाउने, थाल्यो यस्तो तयारी …


भर्खर दसौँ महाधिवेशन सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको नेकपा एमाले ले लगत्तै नयाँ पार्टी सदस्य बनाउन (थप्न) देशभर अभियान चलाउने भएको छ । त्यसका
लागि मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटीले विस्तृत कार्ययोजना बनाउने तयारी भएको एमाले नेता तथा पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।

नेता तामाङका अनुसार मङ्सिर २५ र २६ गते बस्ने दोस्रो केन्द्रीय कमिटी बैठकले हालको १९ सदस्यीय पदाधिकारीमा २६ जना थप्दै ४५ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ । त्यस्तै स्थायी कमिटीमा केन्द्रीय सदस्यहरूमध्येबाट ५४ जना थपेर ९९ सय सदस्यीय पोलिटव्युरो समेत निर्माण गर्नेछ ।बैठकले पार्टी कमिटीलाई पूर्णता दिएर नेताहरूलाई देश दौडाहामा खटाउने एमाले तयारी छ । त्यसको अतिरिक्त पार्टी विधानअनुसार केन्द्रीय कमिटीले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन गर्ने प्रावधान भए पनि दोस्रो बैठकमा उक्त एजेण्डाले प्रवेश पाउने सम्भावना कम छ ।‘मङ्सिर २५ र २६ गते बस्ने बैठकमा स्थायी कमिटी र पोलिटब्युरोको एजेण्डा प्रवेश पाउँछ । तर, केन्द्रीय सदस्य मनोनयनको एजेण्डाले भने केही समयपछि मात्रै प्रवेश पाउँछ भन्ने मेरो बुझाई छ’, नेता तामाङले रातोपाटीसँग भने, ‘स्थायी र पोलिटब्युरोको गठनपछि पार्टी प्रवेश र नयाँ पार्टी सदस्य बनाउने अभियान चलाउने प्रस्ताव अघि बढ्छ ।’उनले एमालेको ध्यान अब निर्वाचन केन्द्रित गतिविधिमा केन्द्रित हुने भन्दै पार्टीको लक्ष्य र योजना आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउनेतर्फ केन्द्रित भएको बताए ।

दसौँ महाधिवेशनमा अध्यक्ष निर्वाचित भए लगत्तै अध्यक्ष केपी शर्मा ओलीले नव निर्वाचित एमाले केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई निर्देशन दिँदै पार्टीले तीन महिने ‘पार्टी प्रवेश अभियान’ चलाउने र त्यसतर्फ लाग्न भनेका थिए ।कार्यालय सचिव तामाङले पनि एमालेले अबको ३ महिनामा हाल रहेका पार्टी सदस्यको तुलनामा दोब्बर सङ्ख्या वृद्धि गर्ने गरी कार्यक्रम बनाउने तयारी भइरहेको बताए । ‘दसौँ राष्ट्रिय महाधिवेशनले पार्टी एकताबद्ध छ भन्ने सन्देश दिँदै नयाँ नेतृत्व चयन गरेको छ, अब एमालेले आक्रामक ढंगले नयाँ पार्टी सदस्य बनाउने र नवीकरण बाँकी रहेकाहरूको नवीकरण गर्ने काम गर्छ’, नेता तामाङले रातोपाटीसँग भने, ‘हाम्रो लक्ष्य भनेको अव हुने स्थानीय निर्वाचन अघि कम्तीमा १५ लाख पार्टी सदस्य बनाउने हो ।’ त्यस्तै तामाङले २६ गते केन्द्रीय कमिटी बैठक लगत्तै जिल्ला र प्रदेश अधिवेशनको तयारी समेत गर्ने बताए ।

तामाङका अनुसार आगामी पुस अन्तिम वा माघको दोस्रो साताभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने अनौपचारिक छलफल भइरहेको छ । ‘पुसको अन्तिम सातादेखि माघको दोस्रो साताभित्र जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने भन्ने छ । तर, ठोस निर्णय हुन बाँकी छ’, तामाङले रातोपाटीसँग भने, ‘अधिवेशन र नयाँ सदस्यता अभियान सँगसँगै चल्छ ।’ उनले स्थानीय चुनावअघि १५ लाख पार्टी सदस्य बनाइसक्ने समेत बताए ।

स्थायी समितिमा पर्ने सम्भावित नामहरू
एमालेको स्थायी कमिटीमा पर्ने सम्भावित नामहरूमा घनश्याम भुसाल, किरण गुरुङ, रघुजी पन्त, मणि थापा, भानुभक्त ढकाल, खगराज अधिकारी र विन्दा पाण्डे छन् । त्यसैगरी थममाया थापा, यामलाल कँडेल, प्रभु साह, विशाल भट्टराई देवराज घिमिरे, गुरु बराल, शेरधन राई, कृष्ण गोपाल श्रेष्ठ, शेरबहादुर तामाङ, राजन भट्टराई र बैजनाथ चौधरी पनि स्थायी कमिटीमा पर्न सक्ने सम्भावित नाम हुन् ।

त्यस्तै कर्ण थापा, अरुण नेपाल, शिवमाया तुम्बाहाङ्फे, काशीनाथ अधिकारी, परशुराम मेघी गुरुङ, अग्नि खरेल, गोकुल बास्कोटा, महेश बस्नेत, गोकुल घर्ती र गोरख बोगटीलगायत मध्येबाट स्थायी कमिटीमा लैजाने ओलीको तयारी रहेको बुझिएको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २० गते सोमवार