• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

आजको राशिफल : वि.सं. २०८१ आश्विन २० गते आइतवार, श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


वि.सं. २०८१ आश्विन २० गते आइतवार तदनुसार ई. सं. २०२४ अक्टोबर ०६ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४४, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५१ बजे र सूर्यास्त : साँझ ०५:३५ बजे, चन्द्रोदय : बिहान ०८:२२ बजे र चन्द्रास्त : बेलुका ०७:५१ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०५:४३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:०५ बजे र सूर्यास्त : साँझ ०५:४८ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०६:२० बजे र सूर्यास्त : साँझ ०६:०३ बजे, आश्विन शुक्ल (दुर्गा) पक्ष (कौलाथ्व) चतुर्थी/चौथी तिथि, (अहोरात्र व्याप्त) , विशाखा नक्षत्र, बेलुका १०:२१ बजेसम्म, त्यसपछि अनुराधा नक्षत्र, चन्द्रमा तुला राशिमा, दिउँसो ०३:५४ बजेसम्म, त्यसपछि बृश्चिक राशिमा, विष्कुम्भ योग, बिहान ०६:०१ बजेसम्म, त्यसपछि प्रीति योग भोलि बिहान ०५:५७ बजेसम्म, अन्तिममा आयुष्मान् योग (योग टुटेको दिन) , सुरुमा वणिज करण साँझ ०५:३९ बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण भोलि बिहान ०६:१८ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : स्वर्गलोक), आनन्दादि योग : उत्पात, चन्द्रवणर् : सेतो (दिउँसो ०३:५४ बजेसम्म), त्यसपछि रातो, चन्द्रदिशा : पश्चिम (दिउँसो ०३:५४ बजेसम्म), त्यसपछि उत्तर, योगिनीदिशा : नैऋत्य, वारशूल : पश्चिम, वाणपञ्चकमध्ये मृत्यु वाण : बेलुका ०७:५० बजेसम्म त्यसपछि अग्नि वाण, कालराहु चक्रमा कालको दिशा : उत्तर र पाशको दिशा : दक्षिण, आज : वैनायकी श्री गणेश चतुर्थी व्रत, नवरात्रअन्तर्गत श्री कूष्माण्डा भगवतीको आराधना,

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- २१ गते : नवरात्रअन्तर्गत श्री स्कन्दमाता भगवतीको आराधना, उपाङ्ग ललिता व्रत, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), अन्नप्राशन (पास्नी), पसल थाप्ने (दोकान खोल्ने), २२ गते : नवरात्रअन्तर्गत श्री कात्यायनी भगवतीको आराधना, पचली भैरव यात्रा, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), २३ गते : बिल्व निमन्त्रण, सरस्वतीको आह्वान, विश्व हुलाक दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक)

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
केही समस्या देखिए पनि यात्रा गर्ने साइत जुर्न सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायमा सामान्य आम्दानी भइरहनेछ। तर कामविशेषले धन खर्च गर्नुपर्ने परिस्थिति आउला। कामले वादविवाद समेत निम्त्याउन सक्छ। साँझतिर स्वास्थ्य कमजाेर रहनेछ र कामकाे चाप बढ्नेछ। सञ्चित रकम खर्चनुपर्ने हुन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आँट गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। शत्रुहरू पनि किनारा लाग्नेछन्। साँझको समय रमाइलो रहनेछ। प्रियभेट हुनुका साथै अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
लगनशीलताले अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। तर कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। कमजाेर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अरूको फाइदाका लागि उपयोग भइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्न सक्छ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
नयाँ काम प्रारम्भ गर्ने समय छ। चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ। मिहिनेत गर्दा पेसा–व्यवसायमा मनग्य धनलाभ हुनेछ। साँझतिर घरेलु समस्या देखापर्न सक्छ। तापनि साथीभाइकाे सहयाेगले समस्या सुल्झनेछ, प्रयत्न गर्नुहाेला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। नसाेची चुनाैती अँगाल्ने बानीले काम राेकिन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्, सजग रहनुहोला। साँझतिर नयाँ कार्यतर्फ अग्रसर भइनेछ। व्यापार बढ्नाले लाभ हुनेछ। कामको लगावले मनग्य धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफन्त र साथीभाइकाे सम्पर्कबाट टाढा बस्न मन लाग्नेछ। आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने देखिन्छ। पहिलेका कमजोरी सुधार्न निकै प्रयत्न गर्नुपरैला। खानपानको असावधानीले स्वास्थ्य बिग्रन सक्छ। साँझतिर स्थितिमा सुधार आउनाले साेचेकाे काम सम्पादन हुनेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। आवश्यक पर्दा शुभचिन्तक र सहयोग गर्नेहरू भेटिनेछन्। विदेश तक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ। साँझतिर पहिलेका कमजोरी सुधार गर्दै फाइदा उठाउन सकिनेछ। टाढाका आफन्तसँग सम्पर्क हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। केही राम्रै अवसर प्राप्त हुनेछन्। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ। सानाेतिनाे यात्रा सम्भावना छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले नयाँ अवसर प्राप्त हुनेछ। उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ। जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ। साँझतिर उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुटाउनेछ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

प्रकाशित मिति : २०८१ असोज २० गते आइतवार