• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

राजसंस्था बोकेर हिंडेको पुरस्कार पाइयो, राजाको भलो होस् : कमल थापा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षका प्रत्यासी कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन्।
अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भएपछि थापाले उक्त आरोप लगाएका हुन् । उनले आफूलाई ‘राजनीतिकरुपमा समाप्त पार्ने चेष्टा गरिएको आरोपसमेत लगाएका

छन् ।‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भ्रर्तसना गर्दछु,’ थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । कमल थापालाई २ सय मत अन्तरले हराउँदै लिङ्देन राप्रपाको अध्यक्षमा विजयी भएका हुन् ।निर्वाचन समितिका अनुसार लिङ्देन १ हजार ८ सय १७ मत पाएर अध्यक्षमा विजयी हुँदा कमल थापाले १ हजार ६ सय १७ मत पाएका छन् । ४३१ मत बदर भएको थियो ।

थापाले हार स्वीकारे
अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् । थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् ।

राप्रपाको उपाध्यक्षमा पाण्डे र महामन्त्रीमा राणा विजयी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

अध्यक्ष पदमा राजेन्द्र लिङ्देन, खुला उपाध्यक्षमा विक्रम पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा डा. धवलशम्सेर राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् ।अध्यक्ष पदमा आफ्नो पराजय स्वीकार गर्दै कमल थापाले आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाएका छन् ।

कसले कति मत पाए ?
राप्रपाको अध्यक्ष पदमा विजयी लिङ्देनले १ हजार ८ सय १७ मत पाउँदा थापाले १ हजार ६ सय १७ मत पाएका छन् ।खुला उपाध्यक्षमा विक्रम पाण्डे २ हजार ५ सय २१ मतसहित विजयी भएका छन् । बुद्धिमान तामाङले १ हजार ९ सय ४४ र ध्रुवबहादुर प्रधानले १ हजार ८ सय १४ मत पाएका छन् ।महिला उपाध्यक्षमा रोशन कार्की १ हजार ५ सय ८९ मत सहित विजयी भएकी छन् ।

यसैगरी महामन्त्रीमा डा. धवल शम्सेर राणा विजयी भएका छन् । नेपालगञ्ज महानगरपालिकाका मेयरसमेत रहेका राणा राजेन्द्र लिङ्देन समूहबाट चुनाव लडेका थिए । राणा २ हजार २ सय २१ मतसहित महामन्त्रीमा विजयी भएको राप्रपाको निर्वाचन समितिले जनाएको छ । महामन्त्रीका अर्का प्रत्यासी भुवन पाठकलाई १ हजार ७ सय ५ मत प्राप्त भएको थियो ।महिला महामन्त्रीमा कुन्ती शाही २ हजार ८ मतसहित विजयी भएकी छन् । अर्का प्रत्यासी रेखा थापाले १ हजार ६ सय ४० मत पाइन् ।

प्रकाशित मिति : २०७८ मङ्सिर १९ गते आइतवार