• २०८१ बैशाख २ गते आइतवार
  • Preeti To Unicode

तेस्रो वरीयताका चिनियाँ नेता काठमाडौं आउँदै, यस्तो छ भ्रमण तालिका


उत्तरी छिमेकी चीनका सभामुख ली झान्सु नेपाल भ्रमणमा आउने भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो वरीयतामा रहेका झान्सु सभामुख अग्निप्रसाद सापकोटाको
निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन्।उनी भदौ २७ गते काठमाडौं आइपुग्ने छन्। परराष्ट्र मन्त्रालयका अनुसार सोही दिन उनले सापकोटासँग प्रतिनिधि मण्डलस्तरीय वार्ता गर्नेछन्।

सभामुख सापकोटाले लीको सम्मानमा भदौ २७ मै रात्री भोज दिनेछन्।भदौ २८ मा उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। त्यही दिन उनले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सेनालाई पनि भेट्ने कार्यक्रम छ।भदौ २९ मा लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन्।

लीले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम छ।

गत चैतमा चिनियाँ विदेश मन्त्री वाङ यी नेपाल भ्रमणमा आएका थिए। त्यसपछि चिनियाँ उच्च अधिकारीहरूले नेपाल भ्रमण गरेका थिएनन्।चुनावको मिति नजिकिँदै गर्दा चीनबाट कम्युनिष्ट पार्टीका तेस्रो वरीयता नेपाल आउन लागेका हुन्।

नेपाल आउनुअघि उनी रूस भ्रमणमा जाँदैछन्।कोरोनाभाइरसको महामारी सुरू भएपछि चीनका राष्ट्रपति सी चिनफिङलगायत शीर्ष नेताहरूले विदेश भ्रमण गरेका छैनन्।

प्रकाशित मिति : २०७९ भाद्र १९ गते आइतवार