• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

बागमती प्रदेशमा गाडी खरिद, मर्मत र इन्धनमै सकियो १ अर्ब १७ करोड


बागमतीप्रदेश सरकार स्थापना भए यता सवारी साधन खरिद, मर्मत र इन्धनमा गरी १ अर्ब १७ करोड ७७ लाख ५ हजार ४८ रुपैयाँ खर्च भएको छ ।देशमा संघीयता अनुसार प्रदेश संरचना स्थापित भएदेखि प्रदेश सरकारले विभिन्न मन्त्रालय र निकायका लागि सो रकम खर्च गरेर सवारी साधन खरिद, मर्मत र इन्धनबापत खर्च गरेको हो ।प्रदेश सरकारले

आर्थिक वर्ष २०७५/०७६ मा २६ करोड ४७ लाख ८३ हजार ४६४ रुपैयाँ बराबरको सवारी खरिद गरेको थियो भने आर्थिक वर्ष ०७६/७७ मा ३१ करोड १४ लाख ४१ हजार रुपैयाँ र आर्थिक वर्ष २०७७/०७८ मा १६ करोड २९ लाख ७ हजार रुपैयाँ सवारी साधन शीर्षकमा खर्च गरेको छ ।प्रदेश सरकारले गत आर्थिक वर्षमा मात्र सवारी साधन खरिदका लागि ३० करोड १० लाख ४९ हजार ४६९ रुपैयाँ खर्च गरेको छ । त्यस्तै प्रदेश सरकारको सवारी साधन मर्मत खर्च पनि बर्सेनि बढिरहेको तथ्याङ्क छ । आर्थिक वर्ष २०७५/०७६ मा ३ करोड ९९ लाख ५२ हजार रुपैयाँ सवारी साधन मर्मतमा खर्च गरेको प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ मा ५ करोड ४० लाख ५८ हजार रुपैयाँ र आर्थिक वर्ष २०७७/०७८ मा ६ करोड ८८ लाख ७ हजार रुपैयाँ खर्च गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा ८ करोड १ लाख १४ हजार ७४९ रुपैयाँ सवारी मर्मतमा खर्च भएको छ ।

प्रदेश सरकारका पदाधिकारीले ०७५/०७६ मा १ करोड ६८ लाख ६१ हजार ६२६ रुपैयाँ बराबरको इन्धन खर्च गरेका छन् भने कार्यालय प्रयोजनमा २ करोड ६ लाख ५६ हजार ८९६ रुपैयाँ, ०७६/०७७ मा पदाधिकारी तर्फ ३६ लाख ९० हजार ६३४ रुपैयाँ र कार्यालय प्रयोजनमा ५ करोड ३६ लाख १९ हजार १७७ रुपैयाँ इन्धन खर्च भएको छ ।त्यस्तै पदाधिकारीका लागि आर्थिक वर्ष ०७७/०७८ मा ४५ लाख ९८ हजार ८६४ रुपैयाँ इन्धन शीर्षकमा खर्च भएको छ भने कार्यालय प्रयोजनमा ६ करोड ५४ लाख १३ हजार ४३१ रुपैयाँ खर्च भएको छ ।आर्थिक वर्ष २०७८/०७९ मा भने पदाधिकारीतर्फ इन्धन खर्च ९० लाख ३० हजार ८६४ रुपैयाँ र कार्यालय प्रयोजनमा ८ करोड २४ लाख ७२ हजार २३८ रुपैयाँ खर्च भएको छ ।

त्यसैगरी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ मा ३ लाख २५ हजार ६६१ रुपैयाँ सवारी साधन भाडा खर्च बापत भुक्तानी गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा भने सवारी साधन भाडा बापत १ लाख ६६ हजार २५० रुपैयाँ, आर्थिक वर्ष २०७७/०७८ मा ३३ हजार ९०० र गत आर्थिक वर्षमा पनि सोही अनुपातमा सवारी साधन भाडा बापत रकम भुक्तानी भएको छ ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ मा सवारी साधन खरिद तथा मर्मत र इन्धनमा कुल ४७ करोड २६ लाख ६७ हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारले साबिकको ७ मन्त्रालयलाई विभाजन गरी विधागत रूपमा १४ वटा मन्त्रालय निर्माण गरेसँगै सवारी साधन खरिद तथा मर्मत र इन्धनमा सो रकम खर्च गरेको हो ।गत आर्थिक वर्ष प्रदेश सरकारले मन्त्रालय र मातहतका निकायका सचिव र कार्यालय प्रमुखहरूका लागि विभिन्न प्रकारका गाडी खरिद गरेको छ भने कर्मचारीहरूका लागि मोटरसाइकल र स्कुटर खरिद गरेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश सरकारले गत आर्थिक वर्ष ७ वटा मन्त्रालयलाई विभाजन गरी १४ वटा बनाउँदा सवारी साधन खरिदमै धेरै रकम खर्च भएको देखिन्छ ।
प्रदेश सरकारले मन्त्री, राज्यमन्त्री तथा मन्त्रालयका सचिव र महाशाखा प्रमुखहरूका लागि गत आर्थिक वर्षमा ३० करोड १० लाख ४९ हजार ४६९ रुपैयाँ बराबरको सवारी साधन खरिद गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौँडाका सूचना अधिकारी होमनाथ रिजालले जानकारी दिए ।उनका अनुसार प्रदेश सरकारका विभिन्न निकाय र कार्यालयले सवारी मर्मत बापत गत आर्थिक वर्षमा ८० करोड १ लाख १४ हजार ७४९ रुपैयाँ खर्चेको छ । प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री र पदाधिकारीहरूले प्रयोग गर्ने सवारी साधनमा ९० लाख ३० हजार ८६४ रुपैयाँको इन्धन खर्च गरेको उनले बताए ।

त्यस्तै प्रदेश सरकारका निकायहरूको प्रयोजनका लागि गत आर्थिक वर्षमा ८ करोड २४ लाख ७२ हजार २३८ रुपैयाँ खर्च गरेको सूचना अधिकारी रिजालले बताए ।चालु आर्थिक वर्ष २७ करोड ६४ लाखको गाडी किन्नेप्रदेश सरकारले चालु आर्थिक वर्षमा २७ करोड ६४ लाख २० हजार रुपैयाँको गाडी किन्ने योजना बनाएको छ । प्रदेश सरकारले मर्मतसम्भारका लागि भने ७३ करोड ८५ लाख ५७ हजार रुपैयाँ छुट्याएको छ ।प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनालले मन्त्रालय र मातहतका कार्यालयका दैनिक कामकाजलाई सघाउ पुग्ने भएकाले आवश्यकताको आधारमा सरकारले सवारी साधनहरू खरिद गर्ने बताए ।

उनले पछिल्लो समय मन्त्रालय र प्रादेशिक संरचना बढेसँगै सवारी साधनको आवश्यकता बढी भएको उनले बताए । उनले संरचना बढ्दा सवारी साधन खरिद र सोको मर्मत तथा इन्धन खर्च बढ्नु स्वाभाविक भएको बताए ।उनले सवारी साधनमा बर्सेनि बढ्दो खर्च नियन्त्रण गर्न सरकारले अध्ययन सुरु गरिसकेको जानकारी दिए । ‘धेरै मन्त्रालयले चालु वर्षमा नयाँ सवारी नकिन्ने भनेका छन्, बजेट पनि त्यहीअनुसार बनाएका छौँ,’ उनले भने ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार